+
+

नाउपामा मिलन : रेशमको नेतृत्व, रञ्जिताको हस्ताक्षर

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ८ गते २१:१३

८ असोज, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अन्तरिक विवाद मिलेको छ । यससँगै महाधिवेशनबाट निर्वाचित र पुरानो केन्द्रीय समितिको संयुक्त बैठक असोज १८ र १९ गते बोलाइएको छ ।

संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र महाधिवेशनबाट निर्वाचित अध्यक्ष रेशमलाल चौधरीबीच विवाद चर्किएपछि लामो समयदेखि बैठक नै बस्न सकेको थिएन । रेशम र रञ्जिता श्रीमान् श्रीमती हुन् ।

नेताहरुका अनुसार सोमबार ७ असोजमा दुवै जनाबीच सहमति भयो । लगत्तै संयुक्त बैठक बोलाइएको सूचनामा ‘…आपसी मतभेदलाई मत्थर पारी हामी एक भएका हौं र एक रहने छौं’, भन्ने सन्देश सहित रेशम र रञ्जिता दुवैले हस्ताक्षर गरेका छन् ।

महासचिव गंगाराम चौधरी भन्छन्, ‘मिल्नुबाहेक विकल्प थिएन । उहाँहरु मिल्दा कार्यकर्ता खुसी भएका छन् । अब संगठनको काममा लाग्छौं ।’

दुवैको नेतृत्व, रञ्जिताको हस्ताक्षर

टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका बेला रेशमले आफ्नी श्रीमतीको नाममा पार्टी दर्ता गराएका थिए । नाउपाले २०७९ को स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनावमा थारू बहुल क्षेत्रमा राम्रै मत ल्यायो ।

सुदूरपश्चिम प्रदेशमा ७ सांसद र लुम्बिनीमा ३ सांसद छन् । केन्द्रमा पनि अध्यक्ष रञ्जितासहित चार प्रतिनिधिसभा सदस्य छन् । चुनावलगत्तै बनेको प्रचण्ड नेतृत्वको सरकारमा रञ्जिता मन्त्री समेत भइन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले बाँकी कैद मिनाहा गरेपछि रेशम जेलबाट छुटे । २०८० पुसमा जब पार्टीको पहिलो महाधिवेशन भयो, तब रेशम र रञ्जिताको मनमुटाव सुरु भयो । रञ्जितालाई हटाएर रेशम अध्यक्ष सर्वसम्मत चुनिए । त्यसमा रञ्जिताको असन्तुष्टि थियो । फागुनमा पुग्दा त्यसले विवादको रुप लियो ।

तत्कालीन प्रधानमन्त्री प्रचण्डले कांग्रेस छाडेर एमालेसँग गठबन्धन गर्दा रञ्जिता र रेशम फरक फरक कित्तामा उभिए ।

रञ्जिता प्रचण्ड सरकारको पक्षमा र रेशम कांग्रेसतिर लागे । श्रीमान् श्रीमतीको झगडा यति चर्कियो कि सुदूरपश्चिममा सांसदलाई पदमुक्त गर्ने, संसदीय दलको नेता हटाउने र राख्नेजस्ता घटना भए । सुदूरपश्चिममा सरकार गठनमा निर्णायक बनेको नाउपाले मुख्यमन्त्री समेत पाएको थियो, तर रेशम र रञ्जिताको झगडाले त्यो पनि गुम्यो ।

विवादले पार्टीको बैठक समेत बस्न सकेन । पार्टी कार्यालयमा भएको एउटा छलफलमा त नउपाका केन्द्रीय सदस्य रमेश विकले (जो रञ्जिता निकट मानिन्थे) त रेशममाथि आफूलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाए ।

श्रीमान् श्रीमतीको झगडाले पार्टीलाई नराम्रो असर गरिसकेको थियो । बैठक बस्न सकेको थिएन । संगठन विस्तार ठप्पजस्तै भयो । कतिपय नेता कार्यकर्ताले पार्टी समेत छाडे । अरु पनि धरमरमा देखिन्थे ।

तर सोमबार रेशम र रञ्जिताबीच सहमति जुटेको छ । नेता दामोदर पण्डितका अनुसार दुवै मिलेर पार्टीलाई अगाडि बढाउने सहमति जुटेको हो । ‘रेशमजीले जेलमा हुँदा पार्टी जन्माउनुभयो, रञ्जिताजीले काखमा लिएर हुर्काउनुभयो’, पण्डित भन्छन्, ‘अब पनि त्यसरी नै एक भएर पार्टीलाई अगाडि लैजाने सहमति भएको छ ।’

नेताहरुका अनुसार निर्वाचन आयोगले रेशमलाई अध्यक्ष चुन्ने महाधिवेशनको निर्णयलाई वैधता नदिएकाले कानुनी रुपमा नाउपाको अध्यक्षमा रञ्जिता नै रहनेछिन् । अध्यक्षका रुपमा उनले नै हस्ताक्षर गर्नेछन् ।

तर पार्टी गतिविधिमा भने रेशम अध्यक्ष रहनेछन्, रञ्जिता पनि साथमा हुनेछिन् । ‘निर्वाचन आयोगले पो अस्वीकार गर्‍यो, हामीले त महाधिवेशनको म्याण्डेटलाई अस्वीकार गरेका छैनौं’ नाउपाका नेता पण्डितले अनलाइनखबरसँग भने, ‘त्यसैले वैधानिक रुपमा रञ्जिताजीको हस्ताक्षर चल्छ । पार्टीलाई आवश्यक दिशानिर्देश, परिचालन र संगठन परिचालनको भूमिकामा भने उहाँहरु दुवै जना मिलेर गर्नुहुन्छ ।’

आन्तरिक विवादले पार्टीमा थोरै सुस्तता आएको भए पनि नयाँ सहमतिसँगै ऊर्जा फर्किएको नेताहरुको दाबी छ । महासचिव चौधरी भन्छन्, ‘केन्द्रीय समितिको यो बैठकमा संगठन विस्तार, उपचुुनाव लगायत विषयमा छलफल गर्छौं ।’

हेर्नुहोस् पदाधिकारी र केन्द्रीय सदस्यलाई नाउपाले लेखेको पत्र  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?