+
+

जुवा खेल्दा पक्राउ परेका तिब्बतीसँग भेटियो नेपाली नागरिकता, ४ लाख खर्चेर लिएको खुलासा

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ८ गते १७:३८

८ असोज, काठमाडौं । तिब्बतीलाई नेपाली नागरिकता दिलाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

धादिङको नेत्रावती डबजोङ गाउँपालिका–१ का ३१ वर्षीय मदनबहादुर तामाङ, खनियाबास गाउँपालिका–५ का ५६ वर्षीय रामेश्वर रिजाल, तिब्बत घर भई काठमाडौं महानगरपालिका–६ महांकाल बस्ने ५३ वर्षीय छिरिङ ढुन्डुप र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–४ का ४६ वर्षीय छिरिङ वाङ्दिन शेर्पालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

बौद्धको तीनचुलीस्थित एक घरमा ४ असोजमा छापा मारेर जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले ७ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये चार तिब्बती, दुई नेपाली र एक भारतीय नागरिक थिए ।

उनीहरुमध्ये सोनाम नाम गरेका तिब्बती नागरिकको साथबाट जिल्ला प्रशासन कार्यालय धादिङबाट जारी भएको नागरिकता फेला परेको प्रहरीको भनाइ छ ।

उनले चार लाख रुपैयाँ तिरेर नागरिकता लिएको बताएका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।

‘उनको भनाइपछि हामीले अनुसन्धान गर्दा ती कुरा पुष्टि भए । तिब्बितीलाई नागरिकता दिलाउने कार्यमा संलग्नहरुलाई पक्राउ गरेर हामीले थप अनुसन्धान अघि बढाएका छौं’, एसएसपी भट्टराईले अनलाइनखबरसँग भने ।

बरामद नागरिकता सक्कल रहेको पाइएपछि नागरिकता बनाउन भूमिका खेलेको आरोपमा अरु चार जनालाई पक्राउ गरेर सोनामसहित पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको उनले बताए ।

पक्राउ परेकामध्ये रिजाल लेखापढी व्यवसायी हुन् । उनले काठमाडौंबाट कागजात मिलाएर धादिङ पठाएको र धादिङमा मदनबहादुरले तिब्बती नागरिकको उपस्थितिबिनै नेपाली नागरिकता निकालेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

नेपाली नागरिकता लिन तिब्बती नागरिक सोनामले चार लाख रुपैयाँ छिरिङ ढुन्डुपलाई बौद्धमा भेटेर बुझाएको प्रहरीले फेला पारेको छ ।सोनामले नेपाली नागरिकताका साथै, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन भनेर चार लाख रुपैयाँ बुझाएका थिए ।

चार लाखमध्ये ५० हजार रुपैयाँ आफूले राखेर ढुन्डुपले तीन लाख ५० हजार छिरिङ वाङ्दिनलाई दिएको अनुसन्धानबाट खुलेको छ । छिरिङ वाङ्दिनले पनि ५० हजार रुपैयाँ राखेर तीन लाख रुपैयाँ लेखापढी गर्दै आएका रामेश्वर रिजाललाई दिएको पाइएको एसएसपी भट्टराईले बताए ।

छिरिङ वाङ्दिनले आफूले राखेको ५० हजार रुपैयाँमध्ये ५ हजार रुपैयाँ आफूलाई राखेर सोनामको राष्ट्रिय परिचयपत्र बनाउन भन्दै पुनः रिजाललाई दिइएको खुलेको छ ।

यसरी जम्माजम्मी तीन लाख ४५ हजार रुपैयाँ बुझेपछि लेखापढी व्यवसायी रिजालले एक लाख ४५ हजार रुपैयाँ आफूसँग राखेर २ लाख रुपैयाँ मदनबहादुरलाई दिएको पाइएको प्रहरीको भनाइ छ ।

उनै मदनबहादुरले जिल्ला प्रशासन कार्यालय धादिङबाट ६ असार २०८१ मा सोनाम तामाङ नाममा तिब्बती सोनामको नागरिकता निकालेको प्रहरीले बताएको छ ।

मदनबहादुरले भने आफूले प्राप्त गरेको दुई लाखमध्ये एक लाख ५० हजार रुपैयाँ राखी ५० हजार रुपैयाँ प्रशासनका कर्मचारीलाई दिएको बयान प्रहरी समक्ष दिएका छन् । अनुसन्धानकै क्रममा रहेको भन्दै ५० हजार रुपैयाँ बुझ्ने कर्मचारीको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

धादिङको नेतावती डबजोङ गाउँपालिकाका हर्कमान तामाङलाई सोनामको बाबु बनाएर नागरिकता लिइएको हो ।

नागरिकता लिने मान्छेलाई समेत उपस्थित नगराई नक्कली बुवा खडा गरेर नागरिकता लिएपछि यसमा कर्मचारीको मिलेमतो देखिएको प्रहरी अधिकारीहरु बताउँछन् ।

यसबारेमा अनुसन्धान गर्न भन्दै अपराध अनुसन्धान कार्यालयले सम्पूर्ण कागजातसहित पक्राउ परेकाहरुलाई धादिङ पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?