+
+

सञ्चालकले बचत फिर्ता गरे सहकारी ठगीमा मुद्दा नचल्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ८ गते १९:५९
महान्यायाधिवक्ता रमेश बडाल ।

८ असोज, काठमाडौं । सहकारी ठगीमा संलग्नहरुले मुद्दा दायर हुनुअघि तिर्नुपर्ने साँवा ब्याज भुक्तानी गरेमा मुद्दा नचल्ने भएको छ ।

महान्यायाधिवक्ता कार्यालयले यसअघि चेक अनादर र केही बैंकिङ कसुरमा अभ्यास भइरहेको मिलापत्रको अवधारणालाई सहकारी ऐन अन्तर्गतको कसुरमा पनि कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

महान्यायाधिवक्ता रमेश बडालले नेपाल सरकार वादी हुने फौजदारी मुद्दामा मिलापत्र गर्ने आदेश गर्दा अपनाउनुपर्ने मापदण्ड, २०८० अनुसार सहकारीको हकमा पनि मिलापत्रको व्यवस्था कार्यान्वयन गर्न निर्देशन भएको बताए ।

‘सहकारीसम्बन्धी छानविन विशेष समितिको प्रतिवेदनमा पनि पीडितलाई सक्दो छिटो न्याय दिलाउनु महत्वपूर्ण हुने भनी त्यसतर्फ नीतिगत रुपमा सम्बोधन गर्न सिफारिस भएको रहेछ’ बडालले भने, ‘पीडितले छिटो न्याय पाउने अवस्थामा मुद्दामामिला लम्ब्याउनु भन्दा मिलापत्र गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो ।’

यो व्यवस्था जुनसुकै सहकारी ठगीको घटनामा पनि लागु हुनेछ । जिल्ला प्रहरी कार्यालय कास्कीले सूर्यदर्शन सहकारी ठगीको आरोपमा अनुसन्धान गरिरहेको छ । महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय अनुसार सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा प्रवाह भएको रकम आरोपितले पीडितहरुलाई बुझाएमा मुद्दा नचल्ने निर्णय हुनसक्छ ।

तर सहकारी ठगीको आरोप लागेकाहरुले पीडितले रकम पाउने सुनिश्चितता भने गर्नुपर्नेछ । सामूहिक दायित्व भएको विषयमा भने प्रत्यक्षको हिस्सा कति पर्छ भन्ने स्पष्ट नभएकाले रकम भुक्तान गर्न समस्या हुने देखिन्छ ।

महान्यायाधिवक्ता बडालले भने, ‘कुनै आरोपितको हकमा विगो किटिएको छैन भने के कति आधारमा रकम भुक्तान गर्ने भन्ने विषय अन्यौलमै छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?