+

साफ यू-१७ च्याम्पियनसिप : सेमिफाइनल पुग्न भुटानलाई हराउनैपर्ने

२०८१ असोज  ८ गते १९:१५ २०८१ असोज ८ गते १९:१५
साफ यू-१७ च्याम्पियनसिप : सेमिफाइनल पुग्न भुटानलाई हराउनैपर्ने

८ असोज, काठमाडौं । भुटानमा भइरहेको साफ यू-१७ च्याम्पियनसिपमा एक जित र एक हारको नतिजा निकालेको नेपालले बुधबार घरेलु टोली भुटान विरुद्ध समूह चरणको अन्तिम खेल खेल्नेछ ।

समूह बी मा रहेको नेपाल पहिलो खेलमै पाकिस्तानसँग १-० ले पराजित भएको थियो । तर दोस्रो खेलमा श्रीलंकालाई ४-० ले हराएपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ ।

लगातार दुई खेल हारेर अंकविहीन रहेको श्रीलंका भने समूहको अन्तिम खेलअघि नै सेमिफाइनल होडबाट बाहिरिसकेको छ ।

सोमबार भएको खेलमा पाकिस्तान र भुटानले ३-३ को रोमाञ्चक बराबरी खेलेपछि सेमिफाइनल होड रोमाञ्चक बनेको छ । नेपाल, पाकिस्तान र भुटानमध्ये दुई टिम सेमिफाइनल पुग्नेछन् ।

भुटान र पाकिस्तान अपराजित छन् र दुवैले एक जित र एक बराबरीबाट समान ४ अंक जोडेका छन् । तर गोलअन्तरमा भुटान शीर्ष स्थानमा छ । नेपालको दुई खेलबाट ३ अंक छ र तेस्रो स्थानमा छ ।

समूहको अन्तिम खेल नेपाल र भुटान तथा पाकिस्तान र श्रीलंकाबीच हुनेछ । पाकिस्तान र भुटानलाई अन्तिम खेलमा बराबरी खेलेपनि सेमिफाइनल पुग्न पर्याप्त हुनेछ ।

तर नेपालका लागि भने सेमिफाइनल पुग्न भुटानमाथि जित नै अनिवार्य छ । पछिल्लो समय उमेर समूहको फुटबलमा राम्रो गरिरहेको भुटानविरुद्ध जित निकाल्न नेपालको लागि त्यति सहज भने छैन ।

भुटानले ९ भदौमा काठमाडौंमा भएको साफ यू-२० च्याम्पियनसिपमा नेपाललाई कडा टक्कर दिएको थियो सेमिफाइनल खेलमा नेपालले पेनाल्टी सुटआउटमा भुटानलाई हराएको थियो ।

यस पटक घरेलु भूमिमा भुटानले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । पहिलो खेलमा श्रीलंकालाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको भुटानले पाकिस्तानविरुद्ध ३-३ को रोमाञ्चक बराबरी खेलेको थियो ।

दुई गोलले पछि परेको अवस्थामा भुटानले इन्जुरी टाइममा दुई गोल गर्दै पाकिस्तानसँग नाटकीय रुपमा बराबरी खेलेको थियो । त्यो बराबरीले गर्दा नेपालको लागि अन्तिम खेल जित्नैपर्ने अवस्था बनेको छ ।

नेपाल र भुटानको विगत

साफ यू-१५/यू-१६/यू-१७ च्याम्पियनसिपको अहिलेसम्म ८ संस्करण आयोजना भएको छ । जसमा नेपाल र भुटानले तीन पटक एक आपसमा खेलेका छन् । तीनवटै खेल नेपालले जितेको छ ।

सन् २०१३ मा भएको दोस्रो संस्करणमा नेपालले भुटानलाई ७-० ले पराजित गरेको थियो । जसमा विमल घर्तीमगर र हेमन्त थापा मगरले ह्याट्रिक गरेका थिए शिव सुवेदीले एक गोल गरेका थिए ।

यस्तै सन् २०१९ मा भएको साफ यू-१५ च्याम्पियनसिपको राउण्ड रोविन खेलमा नेपालले भुटानलाई ६-० ले पराजित गरेको थियो ।

सन् २०२२ मा श्रीलंकामा भएको साफ यू-१७ च्याम्पियनसिपमा नेपालले भुटानलाई २-१ ले पराजित गरेको थियो । त्यसबेला नेपालको लागि युनेस बुढाथोकी र सिमान्त थापाले गोल गरेका थिए । पछिल्लो पटक सन् २०२३ मा भुटानमै भएको साफ यू-१६ च्याम्पियनसिपमा भने नेपाल समूह चरणबाटै बाहिरिएको थियो । जहाँ नेपाल र भुटान फरक समूहमा थिए ।

उमेर समूहको खेलमा नेपालले १५ गोल गर्दा भुटानले १ गोल मात्र गरेको छ । तर नेपालको उमेर समूहको फुटबल स्थिर छैन भने भुटानले पछिल्लो समय धेरै सुधार गरेको छ ।

घरेलु भूमिमा भएकाले पनि भुटानले उच्च मनोबलका साथ खेलिरहेको छ । नेपालले विगतको प्रदर्शनलाई कायम राख्दै भुटानलाई हराउने लक्ष्यमा हुनेछ ।

हाल साफ यू-१५/यू-१६/यू-१७ को नवौँ संस्करण भइरहेको छ । तर नेपालले अहिलेसम्म नेपालले उपाधि जित्न सकेको छैन ।

अहिलेसम्म नेपालल चार पटक फाइनल खेल्दा चारै पटक उपविजेता बनेको छ । जसमा चारै पटक फाइनलमा भारतसँग नै पराजित भएको छ । यस्तै नेपाल दुई पटक तेस्रो र एक पटक चौथो भएको थियो ।

खेलकुद फुटबल यु-१७ साफ च्याम्पियनसिप
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय