+
+

संगठित अपराधको मुद्दा चल्ने रविको डर

छविलाल जोशीमाथि संगठित अपराधमा अनुसन्धान सुरु भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई फसाउन खोजेको बताएका छन् । ‘कहीँ संगठित अपराधको मुद्दा लगाउन सकिन्छ कि भनेर कोशिस भइरहेको छ । बस् यो चलखेल सरकारले नगरोस्’, उनले फेसबुक लाइभमा भने ।

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ८ गते २१:३९

८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गोर्खा मिडियामा आफू रहँदा आएको रकमको जिम्मेवारी लिने बताएका छन् । तर सहकारीको रकम अपचलनमा भने आफ्नो कुनै संलग्नता नभएको उनको दाबी छ ।

मंगलबार साँझ फेसबुक लाइभ गर्दै लामिछानेले सहकारी बचत रकम छानबिन गर्न गठित संसदीय समितिको प्रतिवेदन अनुसार कारबाही भोग्न तयार रहेको बताएका हुन् ।

‘.. आफू जिम्मेवार रहेको बेला सहकारीबाट पैसा आएको छ भने त्यसको जिम्मेवारी लिनुपर्छ, त्यसको कानुनी कारबाहीको सिफारिस (समितिले) समेत गरेको छ’ उनले भने, ‘यो कुरालाई मैले बंग्याउन मिल्दैन । अगाडिको कुरालाई विपक्षी दलका नेताहरुले, विशेषगरी कांग्रेसका नेताहरुले, एमालेका नेताहरुले बंग्याउन मिल्दैन ।’

सहकारीको बचत रकम ठगीको विषयमा आफू पहिल्यै नै संसदीय समिति गठन गर्ने पक्षमा रहेको लामिछाने बताए । तर अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेताहरुले समिति गठन गर्न आवश्यक नरहेको बताउँदा ढिलाई भएको उनको दाबी छ ।

यद्यपि संसदीय समितिको प्रतिवेदन आफूले भनेजस्तै आएको रविको दाबी छ । ‘सहकारीको रकम ल्याउन रवि लामिछानेको संलग्नता छैन भन्ने प्रष्ट बताएको छ’ फेसबुक लाइभमा लामिछानेले भने, ‘तर आफू कार्यरत रहेको बेला आएको पैसा भएकाले त्यसको चाहिँ कानुनी कारबाहीको भागीदार हुनुपर्छ है भनेको कुरालाई हामीले नकार्न मिल्दैन ।’

गोर्खा मिडिया नेटवर्कका सञ्चालक एवं प्रबन्ध निर्देशक रहँदाको अवधिमा भएको सहकारी बचत रकम अपचलनको जिम्मेवारी लिन तयार भएको लामिछानेले पहिलोपटक बताएका हुन् ।

यसअघि गत ३१ भदौमा प्रतिनिधि सभामा छानबिन समितिको प्रतिवेदन पेश हुँदा र ४ असोजमा प्रतिवेदनको पूर्णपाठ सार्वजनिक गरिँदा भने लामिछानेले आफूले क्लिन चिट पाएको प्रतिक्रिया दिएका थिए । रास्वपाका अरु नेताहरुले त रवि लामिछाने निर्दोष सावित भएको तर्क गरेका थिए ।

तर ६ असोजमा गोर्खा मिडिया नेटवर्कमा लामिछानेसँगै सञ्चालक रहेका पूर्व डीआईजी छविलाल जोशी पक्राउ परे ।

जोशी पक्राउ परेपछि रवि लामिछाने अत्तालिएका थिए । राजधानीमा उपलब्ध नेताहरुको बैठक राख्नु, नेता–कार्यकतालाई केन्द्रीय कार्यालय बोलाउनु, चीन भ्रमणमा रहेका नेताहरु फिर्ता बोलाउनु, नि पक्राउ परे प्रतिवादको अपिल गर्नुले रवि लामिछाने आत्तिएको प्रष्ट हुन्थ्यो ।

मंगलबार फेसबुक लाइभमा भने लामिछानेले त्यसदिनका गतिविधिलाई डराएका रुपमा बुझ्न नहुने तर्क गरे । ‘कानुनमा कहाँ सघाउनुपर्छ, म कहाँ बयान दिन आउनुपर्छ, म कहाँ उभिनुपर्छ या मलाई समातिनुपर्छ वा मलाई थुन्नुपर्छ, म तयार छु नि’, उनले भने, ‘म त अस्ति पनि झोला लिएर आएको थिएँ । किन डराउँथे र म ।’

तर लगत्तै छविलाल जोशी समातिएकाले त्यसपछि आफू पनि पक्राउ पर्ने स्पष्ट रहेको पनि बताए । ‘छविलाल जोशीलाई समातिएको छ । म बुझ्दैछु, उनलाई पक्राउन पनि उनका लागि होइन कि त्यहाँबाट केही बयान निस्कियो भने बयानका आधारमा यसलाई (रवि लामिछानेलाई) पक्राउ गराउन सकिन्छ भन्ने उद्देश्यले गरिएको भन्ने स्पष्ट देखिन्छ’, उनले भनेका छन् ।

अर्थात् रवि लामिछानेले गोर्खा मिडियामा आफू रहँँदाको अवधिमा भएको सहकारी रकम अपचलनको जिम्मेवारी लिँदै कानुनी कारबाही भोग्न तयार रहेको बताए । यद्यपि कारबाही कम्पनी ऐन अनुसार हुनुपर्ने माग फेसबुक लाइभबाट राखे ।

‘.. समिति बनाउँदा पनि सहकारीको पैसा अपचलन गर्ने देखिएन भनिसकेपछि अब कम्पनी रुल अनुसार आउँला । गोर्खा मिडियामा भएका कुराहरुको विषयहरुमा त्यसको अनुसन्धान भयो होला पक्कै पनि । के मुद्दामा त मलाई ?’, उनले भने ।

तर सरकारले संगठित अपराध र सहकारी ऐन अनुसार कारबाही चलाउने कोशिस गरिरहेको पनि लामिछानेले बताएका छन् । ‘हरेक प्रकरणमा मैले कानुनी बाटो गएर, अदालत पुगेर, प्रहरी पुगेर त्यसको प्रक्रियाबाट म बाहिर निस्केको छु’, उनले भने, ‘यहाँ पनि म जान्छु । मुद्दा चाहिँ के हो ? कहीँ संगठित अपराधको मुद्दा लगाउन सकिन्छ कि भनेर कोशिस भइरहेको छ । बस् यो चलखेल सरकारले नगरोस् । मेरो यति मात्र बिन्ती छ ।’

पूर्वप्रधान एवं गृहमन्त्री लामिछानेले दशैं, तिहार जस्ता पर्वको अवसर पारेर आफूलाई पक्राउ गरिनसक्ने अनुमान गरे । तर त्यसरी पक्राउ गरिए प्रतिवादमा उत्रने पटकपटक चेतावनी दिए ।

प्रतिवादमा उत्रने मानिसहरु भीड नभएर आफ्ना शुभचिन्तक हुने तर्क गरे । ‘सरकारले अन्याय गर्यो भने नागरिकले नबचाए कसले बचाउने ?’, उनले भने, ‘हिजो पनि न्यायका निम्ति साथीहरुले सघाउनु भएको हो, आज पनि अन्याय गर्‍यो सरकारले भने चाहिँ दशैं, तिहार, छठ जेसुकै हुन्छ अन्यायका विरुद्धमा उठ्नु होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?