+
+

पाँचबुँदे घोषणापत्र जारी गर्दै जलवायु अनुकूलन राष्ट्रिय सम्मेलन सम्पन्न

रासस रासस
२०८१ असोज ९ गते ५:४६

९ असोज, महोत्तरी । महोत्तरीको बर्दिवासमा आयोजित स्थानीय नेतृत्वमा आधारित जलवायु अनुकूलन छैटौं राष्ट्रिय सम्मेलन पाँचबुँदे घोषणापत्र र नौ बुँदे अपिल जारी गर्दै मङ्गलबार साँझ सम्पन्न भएको छ ।

विश्वव्यापी जलवायु परिवर्तनका कारण जोखिममा परेका समुदायको अधिकार र आवश्यकतामा आधारित समतामूलक नीति र कार्यका लागि सम्मेलनले जलवायु न्यायको वकालत गरेको छ ।

जारी घोषणापत्रमा मुलुकका सबै भूभागमा जलवायु परिवर्तनको असरले बढ्दो जोखिमप्रति चिन्ता व्यक्त गरिएको छ । सम्मेलनले कार्बन उत्सर्जन न्यूनीकरणको लक्ष्य प्राप्त गर्न जलवायु अनुकूलनका कार्यक्रमलाई प्राथमिकतामा राख्न जोड दिएको छ ।

जलवायु परिवर्तनको असरले सबैभन्दा बढी जोखिममा परेका व्यक्ति र समुदायको जीवन र जीविकोपार्जनको सुरक्षा गर्न अहिलेसम्मका प्रयत्न अपर्याप्त रहेको ठहर गर्दै सम्मेलनले यस दिशामा राज्यका निकायको विशेष पहलकदमीको माग गरेको छ ।

यसैगरी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धीअन्तर्गत अनुकूलनका लागि भइरहेका प्रयत्न र वार्ताहरु महत्वपूर्ण हुने सम्मेलनको ठहर छ ।

जलवायु अनुकूलन सिकाइ अभ्यास गरिरहेका किसान समूहहरु, यस क्षेत्रमा कार्यरत सामाजिक सङ्घसंस्थाहरु र स्थानीय तहका जनप्रतिनिधि सम्मिलित सम्मेलनको मङ्गलबार बिहान मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उदघाटन गरेका थिए । मुख्यमन्त्री सिंहले जलवायु अनुकूलनको अभ्यासलाई जीवन पद्धतिसँग जोड्न अपरिहार्य भएकामा जोड दिएका थिए ।

सम्मेलनले मुलुकमा जलवायु अनुकूलन कार्यक्रमको विस्तारका लागि यससम्बन्धी अभ्यास मानिस केन्द्रित र जलवायु न्यायको सिद्धान्तका आधारमा अवलम्बन गर्न सम्बद्ध सबैपक्षलाई आग्रह गर्दै नौबुँदे अपिल जारी गरेको छ ।

जसमा जलवायु सङ्कटभित्र गरिबी र असमानतासम्बन्धी चुनौती समाधान गर्न अनुकूलन कार्यक्रम हस्तक्षेपकारी हुनुपर्ने उल्लेख छ । खासगरी यससम्बन्धी नीति आधारभूत तहका जनतालाई हेरेर बनाइन सम्बद्धपक्षको ध्यानाकर्षण गराइएको छ ।

सम्मेलनका सहभागीले जलवायु अनुकूलन कार्यक्रमको प्रभावकारिताका लागि चुरे संरक्षणका स्पष्ट खाकासहितको मार्गचित्र आवश्यक रहेको सुझाएका छन् ।

सम्मेलनमा जलवायु अनुकूलनसँग जोडिएका गरिबी र असमानतालाई सम्बोधन गर्न अनुकूलन क्रियाकलापको प्रभावकारिता, अनुकूलन क्रियाकलापलाई बढावा दिन नीतिगत वातावरण निर्माण र स्थानीय अनुकूलन क्रियाकलापको विश्वव्यापी लक्ष्यसँग सम्बन्धबारे छुट्टाछुट्टै कार्यपत्रमाथि सघन छलफल गरिएको थियो ।

सत्रमा अध्येता तथा विज्ञहरु जगदीश भट्ट, सुमन चापागाईं र सोहनलाल श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए । प्रस्तुत कार्यपत्रमाथि जलवायु विज्ञ अजय दीक्षित र प्रवीणमान सिंहसहितले टिप्पणी गर्दै थप सुझाव दिएका थिए ।

सम्मेलन जलवायु परिवर्तनका असर र अनुकूलनका प्रयत्नबारे बुझ्न निकै सहयोगी भएको धनुषाको मिथिला नगरपालिकाका उपप्रमुख सुनितासिंह बुढाथोकीले बताइन् ।

सम्मेलन जलवायु अनुकूलन अभ्यास र वातावरण क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका १४ सामाजिक सङ्घसंस्थाले संयुक्त रुपमा आयोजना गरेका थिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?