+
+

दलालले डेढ करोड पर्ने जग्गा १३ लाखमा आफ्नो नाममा गरे, राई दम्पत्तिको बिल्लबाठ

हरि अधिकारी हरि अधिकारी
२०८१ असोज ९ गते ८:५०

९ असोज, विराटनगर । मोरङको बेलबारी नगरपालिका–४ का तिलकसिंह राई र आइतरानी राई छोरालाई विदेश पठाउन लिएको ऋणले बिचल्लीमा परेका छन् । ऋण लिएको पैसा तिर्न नसक्दा दम्पतीको नाममा रहेको ३ कट्ठा ७ धुर जग्गा दलालको हातमा पुगेको छ ।

विदेश जान खोजेका छोरा विकास पनि पैसा अभावमा गाउँमै रोकिएका छन् । विकास युरोपेली मुलकु जान खोजेका थिए ।

गत वर्ष २०८० साउनमा तिलकसिंह छोरालाई विदेश पठाउन पैसाको खोजीमा थिए, त्यही बेला बेलबारी ४ कै धनबहादुर लिम्बुले सञ्जयकुमार कर्णसँग भेट गराइदिए । कर्णले जग्गा धितो राखेर पैसा दिन तयार भए । उनले छोरालाई विदेश पठाउन चाहिने १७ लाख रुपैयाँका लागि आफ्नो डेढ करोड पर्ने जग्गा कर्णको नाम गरिदिए । पैसा तिरेपछि जग्गा फिर्ता गर्ने शर्त थियो ।

पैसा दिनुअघि कर्णले राईलाई घर भत्काउन लगाए, टिनको छानो भएको घर भत्काएर उनले सानो छाप्रो बनाए । तर कर्णले १३ लाख रुपैयाँ नगद र डेढ लाख रुपैयाँको चेक मात्रै दिए । कर्णको खातामा पैसा थिएन । चेक नसाटिएपछि खोेजी गर्दा कर्ण भेटिएनन् ।

ऋण तिरेपछि आफ्नो जग्गा फिर्ता आउने आशमा तिलक र आइतरानी थिए । तर उनको जग्गा बैंकमा राखेर ६३ लाख रुपैयाँ निकालेर सञ्जयकुमार फरार भएका छन् । उनीसँग भेट गराउने धनबहादुर पनि सम्पर्कमा छैनन् ।

कर्ण फरार भएपछि राई दम्पती जग्गा फिर्ताका लागि भौंतारिरहेका छन् । राईको जग्गा सञ्जयकुमारले इटहरीस्थित सिद्धार्थ बैकमा राखेर ऋण निकालेको देखिएको छ । मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै राई दम्पतीले जग्गा फिर्ताका लागि पहल गरिदिन आग्रह गरे ।

राईको जग्गाको बजार मूल्य डेढ करोड रुपैयाँ छ । शर्तबमोजिम कर्णले जग्गा फिर्ता नगरेपछि आफूहरु समस्यामा परेको उनले बताए । मंगलबार पत्रकारसम्मेलन गर्दै उनले ऋण ब्याजसहित फिर्ता गर्ने बताउँदै तिलक आफ्नो जग्गा फिर्ता गरिदिन आग्रह गरे ।

‘मैले लिएको पैसाको सयकडा २ रुपैयाँका दरले फिर्ता गर्छु, मेरो जग्गा फिर्ता गरिदिनू,’ उनले भने, ‘सम्पतीको नाममा त्यही एउटा जग्गा थियो ।’ उनले विदेश जान खोजेको छोरा पनि पैसा नपुगेर गाउँमै रोकिएको गुनासो गरे ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?