+
+

नेपालको अर्थतन्त्र सुधारोन्मुख : एडीबी

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ९ गते १२:२२

९ असोज, काठमाडौं । नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको एसियाली विकास बैंक (एडीबी)ले जनाएको छ । बुधबार एसियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै एडीबीले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत पुग्ने अनुमान गरेको छ ।

यसअघि अप्रिल २०२४ मा सार्वजनिक गरिएको प्रक्षेपणमा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत मात्र हुने अनुमान गरिएको थियो । यो बीचमा कृषि उत्पादन, पर्यटक आगमनमा सुधार र विद्युत उत्पादनमा भएको वृद्धिसहितका कारणले जीडीपीमा सकारात्मक वृद्धि हुने अनुमान गरिएको छ ।

एडीबी नेपालले समेत बुधबार नेपाल सम्बन्धी विवरणहरु सार्वजनिक गरेको छ । सन् २०२५ मा अर्थतन्त्रमा अझै सुधार हुने अनुमान एडीबीले गरेको छ । सो वर्ष ४.९ प्रतिशतको वृद्धिदर प्राप्त हुने अनुमान एडीबीको छ । अप्रिलको प्रक्षेपणमा ४.८ प्रतिशतको वृद्धिदर प्राप्त हुने अनुमान गरिएको थियो । सन् २०२३ मा २ प्रतिशतले मात्र अर्थतन्त्र विस्तार भएको थियो ।

दक्षिण एसियाली भेगमा सन् २०२४ मा ६.३ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरिएको छ । सन् २०२५ मा यसै क्षेत्रमा  ६.५ प्रतिशतको वृद्धिदर हुने अनुमान छ । सन् २०२३ मा ६.८ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त भएको थियो । यस भेगमा सबैभन्दा धेरै भारतको वृद्धिदर हुने देखिएको छ । भारतले ७ प्रतिशतको वृद्धिदर प्राप्त गर्ने एडीबीको अनुमान छ । बंगलादेश, भुटान र माल्दिभ्सले समेत यस वर्ष ५ प्रतिशत माथिको वृद्धिदर प्राप्त गर्नेछन् ।

मुद्रास्फीतितर्फ सन् २०२४ मा नेपालले ५.४ प्रतिशतको सीमा भित्र राख्न सक्ने देखिएको छ । सन् २०२३ मा ७.७ प्रतिशत थियो । सन् २०२५ मा केही बढेर ५.५ प्रतिशत मुद्रास्फीति हुने अनुमान एडीबीको छ ।

वरिष्ठ अर्थशास्त्री मानवर खड्काले कर्जा प्रवाह अपेक्षित नभए पनि सुधारोन्मुख अवस्थामा रहेको बताए । यस पटक मनसुनले धानबालीमा ठूलो असर नगरेको र पर्यटन सेवामा भएको वृद्धिले नेपालले ४.९ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्ने आधार रहेको बताए ।

एडीबीका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले आन्तरिक आयमा वृद्धि, पूर्वाधार खर्चमा तिव्रता र पर्यटनसम्बन्धी सेवाको पुनरुत्थानले कुल गार्हस्थ उत्पादन बढ्ने बताए । सामान्य मनसुनसँगै समयमै धान रोपाइँ सम्पन्न भएकाले कृषि क्षेत्रमा सुधार हुने उनले बताए । विद्युत् उत्पादन क्षमता वृद्धिले औद्योगिक वृद्धिलाई टेवा दिने समेत उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?