+

घाँटी दुख्दा किन एन्टिबायोटिक खाइहाल्नु हुँदैन ?

२०८१ असोज  ९ गते १२:३२ २०८१ असोज ९ गते १२:३२
घाँटी दुख्दा किन एन्टिबायोटिक खाइहाल्नु हुँदैन ?

मौसमी फेरबदलसँगै भाइरसजन्य संक्रमणका कारण रुघाखोकी र घाँटी दुख्ने समस्या देखा पर्छ । हामीकहाँ गाउँ मात्रै होइन, सहरमा पनि घाँटी दुख्दा अनावश्यक रुपमा एन्टिबायोटिक जस्ता औषधि सेवन गर्ने बानी परेको छ ।

अनावश्यक एन्टिबायोटिकको प्रयोग हानिकारक मात्रै होइन दीर्घकालीन रुपमा घातक समेत बन्न सक्छ । त्यसैले घाँटी दुखाइको निम्ति एन्टिबायोटिकको सुझाव दिनुअघि त्यसको आवश्यकता छ कि छैन ठहर गर्नुपर्ने हुन्छ । के बुझ्न जरुरी छ भने ७० प्रतिशत घाँटी दुख्नुको कारण भाइरल संक्रमण हो, जसका लागि एन्टिबायोटिक खानु आवश्यक हुँदैन ।

मौसम फेरिंदा भाइरलहरु सक्रिय हुन्छन र मौसमी संक्रमणकाल विषाणुहरुका लागि अनुकूल हुन्छ । भाइरसजन्य संक्रमणका लक्षण सामान्यतया एक हप्तामा हराउँछन् । केही व्यक्तिमा भाइरसको संक्रमणसँगै जटिलताहरु पनि पैदा हुन सक्छन् । त्यसैले प्रशस्त मात्रामा पानी पिउनुका साथै भिटामिन सीयुक्त फलफूल तथा खानेकुरा खानुपर्छ । ज्वरोको औषधि सेवन गर्ने, मनतातो पानी, कागती, बेसार र मह जस्ता कुराले घाँटी दुखाइ निको बनाउन फाइदा पुर्‍याउँछन् ।

रुघाखोकी लाग्दा विभिन्न रसायनहरु मिश्रित चक्की एवं झोलहरुको प्रयोग हानिकारकसिद्ध भइसकेको छ । झनै बच्चाहरुमा त रुघाखोकी लाग्दा यस्ता औषधिले गम्भीर हानि पुर्‍याउँछ ।

घाँटी दुखेमा दिनमा एक पटक मात्रै सेवन गर्न मिल्ने एजिथ्रोमाइसिन जस्ता एन्टिबायोटिक औषधिहरु परीक्षण नगराई सेवन गर्ने प्रवृत्ति छ । एकातिर अनावश्यक रसायनका कारणले उत्पन्न हुने खराबी अनि अर्कोतर्फ कीटाणुहरुमा एन्टिबायोटिक विरुद्ध प्रतिरोध क्षमताको विकसा लगायत स्वास्थ्य समस्या निम्तिने गर्छ ।

एन्टिबायोटिक आवश्यक नपर्ने अवस्था

रुघाखोकीसँगै घाँटी दुखेको छ र हेर्दा रातो मात्रै छ भने त्यो अवस्था फ्यारिन्जाइटिस हो । यस्तो फ्यारिन्जाइटिसको मुख्य कारण भाइरल संक्रमणको जसका लागि एन्टिबायोटिकको जरुरत पर्दैन ।

मुख तथा घाँटको क्यान्सर

विशेषगरी सुर्ती, खैनी, गुट्खा, दाँतको घाउ, धुम्रपान, मद्यपान र अन्य कारणले मुख तथा घाँटीमा क्यान्सर हुने सम्भावना रहन्छ । निको नहुने दुई हप्ता बढी निल्न गाह्रो भए, बोली धोद्रो भए, घाँटी र कानतिर दुखाइ सर्न गए, घाँटीमा गिर्खा या ग्ल्याण्डहरु बढ्न गए अवश्य पनि क्यान्सरको शंका गर्नुपर्ने हुन्छ ।

विशेषगरी चुरोट, रक्सी, सुर्तीजन्य, सुपारीजन्य आदि हानिकारक वस्तुको सेवनकर्ता मुख, जिब्रो, घाँटी सम्बन्धी विभिन्न क्यान्सरहरुको सिकार बन्न सक्छन् । त्यसबाहेक वंशाणुगत कारणले पनि सन्ततिहरु थाइराइड लगायत क्यान्सरबाट पीडित भइरहेकै छन् । त्यसैले यस्ता जोखिममा रहेका व्यक्तिहरुमा घाँटी दुख्ने, साँच्चिकै निल्न गाह्रो हुने, स्वर सुक्दै जाने, घाँटीका गिर्खाहरु सुन्निंदै जाने, निको नहुने घाउ खटिरा आदि जस्ता लक्षण देखिए क्यान्सरको पनि शंका गर्नुपर्ने हुन्छ । त्यसैले मुख एवं घाँटीमा निको नहुने खालका घाउ या अल्सर पैदा भए समयमै बायोप्सी गरी रोगको निदान गर्न सकिन्छ ।

लामो समय घाँटी दुख्नु, कानतिर सर्नु, निल्दा पनि दुख्नु, बिस्तारै गास अड्किंदै जानु जस्ता लक्षण खाना नलीमा घाउ या क्यान्सरका पनि हुनसक्छ । सुर्ती, गुट्खा, धुम्रपान, कत्था मिश्रित वस्तु एवं अल्कोहलको लत बसेकाहरू कैयौं गुणा बढी क्यान्सरको सिकार हुने गरेका छन् ।

एन्टिबायोटिकको अनावश्यक प्रयोगका कारणले सम्बन्धित कीटाणुहरुमा यसका विरुद्ध प्रतिरोध क्षमताको विकास हुन गई गम्भीर एवं जटिल प्रकारको विशेष संक्रमणमा समेत यस्ता एन्टिबायोटिकहरुको  प्रभावकारितामा ह्रास आई संक्रमणका कारण बिरामीको अकालमा मृत्यु हुने सम्भावना रहन्छ । घाँटी दुख्ने, निल्न गाह्रो हुने, कान पनि दुख्ने बोली धोद्रो हुँदै जाने जस्ता लक्षणहरु दुई हप्ता भन्दा बढी अवधिसम्म लम्बिइरहे क्यान्सरको शंका पनि गर्नुपर्ने हुन्छ । त्यसो त गम्भीर प्रकारको एसिड रिफ्लक्स,  टिबी जस्ता रोगमा पनि यस्ता लक्षणहरु देखिन्छन् । त्यसैले यस्ता लक्षण देखिए यथाशीघ्र घाँटीको इन्डोस्कोपीद्वारा परीक्षण गराउनु उपयुक्त हुन्छ ।

एन्टिबायोटिकको आवश्यकता कहिले ?

ब्याक्टेरियाजन्य संक्रमणका कारण सिर्जित घाँटीको समस्यामा मात्रै उपयुक्त एवं प्रभावकारी  एन्टिबायोटिकको सेवन गर्नुपर्ने हुन्छ ।

ब्याक्टेरिया संक्रमणका लक्षण

ब्याक्टेरिया संक्रमण हुँदा रुघाखोकी नलागी एक्कासि घाँटी दुख्ने र ज्वरो आउने लक्षण देखिन्छन् । जिब्रोको दुवैतिरका डल्ला (टन्सिल) र अन्य भागमा पनि सेतो, पहेंलो वा गन्धयुक्त पिप जम्मा भएकव अवस्थामा एन्टिबायोटिकको आवश्यकता पर्छ ।

ब्याक्टेरियाका कारण हुने यस्ता टन्सिलाइटिस, फ्यारिन्जाइटिसमा घाँटीको माथिल्लो भागमा ग्रन्थीहरु दुख्ने र बढ्ने हुन्छन् । यदि पटक-पटक यस्तो प्रकारको टन्सिलको संक्रमण भइरहेकफ शल्यक्रिया पनि गर्न सकिन्छ । तर विश्व स्वास्थ्य संगठनले टन्सिलको शल्यक्रियाका लागि निश्चित अवस्था तोकिदिएको छ ।

टन्सिल गराउन चाहने बिरामीलाई उचित परामर्श दिनुपर्छ र आर्थिक लाभका लागि मात्रै टन्सिलको शल्यक्रिया गर्नु चिकित्सकीय आचारसंहिताको बर्खिलाप हुन जान्छ । पटक-पटक एन्टिबायोटिक नै आवश्यक पर्ने गरी ब्याक्टेरिया (विशेषगरी स्ट्रेप्टोकोकस र स्टाफाइलोकोक्कस) को संक्रमणले टन्सिलले सताइरहेको छ भने शल्यक्रिया गर्न सकिन्छ । तर पटक-पटक रुघाखोकी सहितको टन्सिलमा सुजन भएको छ भने शल्यक्रिया गर्न हुँदैन ।

टन्सिल भन्दा केही माथिल्लो र किनारामा मुख्य रगतको नसाको नजिक रहेको खाली ठाउँमा संक्रमण भई पिप जम्न सक्छ, जसको होसियारीपूर्वक उपचार गर्नुपर्ने हुन्छ । सो संक्रमण  घाँटीका अन्य भागमा फैलिएर गम्भीरता निम्त्याउन पनि सक्छ ।

क्षण गम्भीर बन्दै गएमा

भाइरसको संक्रमण सामान्यतया एक हप्तामा ठीक हुने भएकाले जरो सहित अन्य श्वासप्रश्वाससम्बन्धी रोग एवं सम्भावित निमोनियाबारे पनि सतर्क हुनैपर्छ । त्यसैगरी टन्सिल र वरपरको संक्रमणले घाँटीभित्रका विभिन्न आन्तरिक नाजुक स्थानमा फैलिन जाँदा ज्यान नै जान सक्ने अवस्था पनि सिर्जित हुन्छ ।

विशेषगरी रोगप्रतिरोधात्मक क्षमता कम भएका, मुटु, श्वासप्रश्वास सम्बन्धी दीर्घरोग, मधुमेह रोग भएका, बालबालिका, गर्भवती एवं वृद्धवृद्धालाई विशेष ध्यान दिनुपर्ने हुन्छ । दाँतको संक्रमण पनि घाँटीमा सर्न सक्छ ।

गम्भीरताका लक्षण

घाँटीको संक्रमण अन्यत्र फैलिंदै गए ज्वरो बढ्न सक्ने, खानेकुरा निल्न नसक्ने, गर्धन हलाउन नसक्ने, श्वासप्रश्वासमा समस्या हुनसक्छ । यी लक्षण देखिने बित्तिकै तुरुन्तै विशेष उपचार सुरु गरिहाल्नुपर्छ ।

घाँटीको सामान्य एक्स-रेले पनि निदान गर्न सहयोग पुर्‍याउँछ । त्यस्तै सुरुमा भाइरलको कारणले पैदा हुने रुघाखोकी (सुक्खा) एक हप्ता भन्दा बढी भई बाक्लो खकार, ज्वरो, टाउको दुखाइ जस्ता समस्या पैदा भए जँचाएर एन्टिबायोटिक प्रयोग गर्नुपर्ने हुन्छ ।

रगत परीक्षण गर्दा सेता रक्तकोषका साथै न्युट्रोफिलहरुको संख्या बढेमा र घाँटीको स्वाबको परीक्षण पनि गरी प्रभावकारी एन्टिबायोटिक प्रयोग गर्न सकिन्छ ।

एन्टिबायोटिकको छनोट  

संक्रमणको कारक कीटाणुलाई असर नपार्ने खालको एन्टिबायोटिक प्रभावविहीन मात्रै होइन, यसले स्वास्थ्यमा  नकारात्मक असर समेत पार्छ । त्यसैले एन्टिबायोटिकको प्रयोग तार्किक र औषधि विज्ञानमा आधारित हुनुपर्छ ।

उदाहरणका रुपमा टन्सिलमा सेतो पिप जमेको छ भने स्ट्रेप्टोकोक्कस, स्टाफाइलो कोक्कस जस्ता ब्याक्टेरिया, सेतो खैरो पत्र बन्नुका साथै अन्य गम्भीर लक्षण देखिए डिप्थेरिया, मिशृत प्रकारको दृश्य र गन्ध समेत उत्पन्न भए अक्सिजनको अभावमा सक्रिय हुने ब्याक्टेरिया एवं अन्य ब्याक्टेरियाहरुको सम्मिश्रण पनि संक्रमणको कारक हुन सक्छ । एन्टिबायोटिक सुरु गरेपछि न्यूनतम पाँचदेखि १० दिनसम्म सेवन गर्नुपर्ने हुन्छ ।

एन्टिबायोटिक घाँटी दुख्नु प्रा. डा. ढुण्डीराज पौडेल
डा. ढुण्डीराज पौडेल
लेखक
डा. ढुण्डीराज पौडेल
नाक, कान तथा घाँटीरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १७७१ अध्ययन : एमबीबीएस, एमएस (नाक, कान तथा घाँटी सर्जरी) देशका एक दर्जन बढी जिल्लामा पुगेर नाक, कान तथा घाँटीरोगको उपचार, सरकारी स्वास्थ्य सेवामा तीन दशकको अनुभव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

- अनलाइनखबर २०८१ असोज ६ गते १७:५०
4 Stories
सृष्टिको बिकिनी अवतार

सृष्टिको बिकिनी अवतार

- अनलाइनखबर २०८१ असोज ६ गते १७:११
6 Stories
भिटेनको ट्याटुमा के छ ?

भिटेनको ट्याटुमा के छ ?

- अनलाइनखबर २०८१ असोज ६ गते १६:३८
5 Stories
५ लक्षण, जसले मिर्गौला खराब भएको बताउँछ

५ लक्षण, जसले मिर्गौला खराब भएको बताउँछ

- अनलाइनखबर २०८१ असोज ६ गते १६:१२
6 Stories
६ खानेकुरा, जसले प्रजनन क्षमता बढाउँछ

६ खानेकुरा, जसले प्रजनन क्षमता बढाउँछ

- अनलाइनखबर २०८१ असोज ६ गते १५:५८

फिचर

घाँटी दुख्दा किन एन्टिबायोटिक खाइहाल्नु हुँदैन ?

घाँटी दुख्दा किन एन्टिबायोटिक खाइहाल्नु हुँदैन ?

कसरी आउँछ ज्वरो, पानीपट्टी कस्तो अवस्थामा लगाउने ?

कसरी आउँछ ज्वरो, पानीपट्टी कस्तो अवस्थामा लगाउने ?

गुप्ताङ्गमा समस्या भइराख्ने कारण भित्री वस्त्र त होइन ?

गुप्ताङ्गमा समस्या भइराख्ने कारण भित्री वस्त्र त होइन ?

माछामासु नखानेलाई पनि किन हुन्छ कोलेस्टेरोल ? (भिडियो)

माछामासु नखानेलाई पनि किन हुन्छ कोलेस्टेरोल ? (भिडियो)

मखाना वास्तवमै ‘सुपर फुड’ हो ?

मखाना वास्तवमै ‘सुपर फुड’ हो ?

आईभीएफले निःसन्तान दम्पतीलाई दिएको खुसी

आईभीएफले निःसन्तान दम्पतीलाई दिएको खुसी