+
+

गाउँ फर्किनेलाई पर्वतको महाशिला गाउँपालिकामा ६ महिनासम्मको खाद्यान्न, एक लाख अनुदान

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ९ गते १४:२९

९ असोज, काठमाडौं । बसाइँ सरेर जानेको संख्या बढ्दै गएपछि पर्वतको महाशिला गाउँपालिकाले पालिका फर्किनेलाई अनुदान दिँदै आएको छ । पालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममै समेटेर पालिकाले गाउँ फर्किनेलाई प्रोत्साहन गर्ने नीति लिएको हो ।

पालिकाले महाशिलामा फर्केर आउनेलाई १ लाख रुपैयाँ अनुदान र ६ महिनासम्म पुग्ने खाद्यान्न दिँदै आएको छ । पालिका उपाध्यक्ष धनसुबा विकले बसाइँ सरेर अन्तै गएकालाई गाउँमै फर्किन आकर्षित गर्न यो कार्यक्रम ल्याएको बताइन् ।

‘गाउँमा भएका खेतबारी बाँझै हुन्छन् । घर पनि भत्किने अवस्था हुन्छ । गाउँमा छोडेर जाँदा चर्किएका घर मर्मत गर्न रकम अनुदान दिने नीति ल्याएका हौं’, विकले अनलाइनखबरसँग भनिन्, ‘खाद्यान्न उत्पादन हुन पनि लामो समय लाग्ने भएकाले कम्तीमा ६ महिनासम्म पुग्ने गरी पालिकाले नै उपलब्ध गराउँछौं ।’

उपाध्यक्ष विकले अघिल्लै आर्थिक वर्षदेखि यो कार्यक्रम ल्याइएको र अहिलेसम्म १५ घरधुरी पालिकामा फकिइसकेको जानकारी दिइन् । उनका अनुुसार पालिका फर्किए पनि केहीले मात्रै अनुदानका लागि निवेदन दिने गरेका छन् ।

‘अहिलेसम्म ७ घरधुरीलाई अनुदान दिइयो होला ! प्रायः बाहिर बसे पनि गाउँमै मन रमाउने भनेर फर्किनु भएको छ । उहाँहरुले आफैं अनुदान चाहिँदैन भन्नुहुन्छ’, उपाध्यक्ष विकले भनिन्, ‘कोहीकोही भने बजार र सहरी क्षेत्रमा जीवनयापन गर्न झनै कष्टकर भएपछि यतै फर्किनुभएको छ ।’

अनुदान तथा खाद्यान्न सहयोगका लागि भने पहिले पालिकामा बसाइँसराइ दर्ता गर्नुपर्ने उपाध्यक्ष विकले बताइन्। ‘त्यसपछि प्रक्रिया पूरा गरेर निवेदन दिएपछि त्यही आधारमा सहयोग र अनुदान उपलब्ध गराउँछौं’, उनले भनिन् ।

राष्ट्रिय तथ्यांक कार्यालयको ०७८ सालको तथ्यांकअनुसार महाशिला गाउँपालिकामा ८ हजार ११६ जना जनसंख्या छ । पालिकाका अनुुसार पछिल्लो एक वर्ष यतामात्रै महाशिलाबाट ९३ परिवारका ३२५ जना बसाइँ सरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?