+
+

विश्व पर्यटन दिवस : कीर्तिपुरमा साप्ताहिक निःशुल्क सम्पदा पदयात्रा

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ९ गते १२:१०

९ असोज, काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा काठमाडौं कीर्तिपुरमा साप्ताहिक निःशुल्क सम्पदा पदयात्रा हुने भएको छ ।

कीर्तिपुर स्वयंसेवक समाज र स्थानीय संघसंस्थाको सहकार्यमा ११ असोजमा निःशुल्क पदयात्रा गर्न लागेको हो ।

समाजका अनुसार सम्पदा पदयात्रा नियमित हुने व्यवस्था मिलाइएको छ । सहभागीले कीर्तिपुरको समृद्ध सम्पदा मार्गबाट यसको ऐतिहासिक सम्पदा हुँदै पदयात्रा गर्न सक्नेछन्।

बर्खाहिटी नयाँबजारबाट सुरु हुने पदयात्रा चिलञ्चो बिहार, ल्हो देग, देपुखु, बाघभैरव हुँदै पदयात्रीले उमामहेश्वर मन्दिरसम्म करिब एक घण्टा पदयात्रा गर्न सक्नेछन् ।

आगामी दिनमा चोभार, पांगा, नगाँउ लगायत स्थानमा पनि पदयात्रा विस्तार गरिने छ ।

स्वयंसेवक समाज अध्यक्ष सुधन सुवेदीले पदयात्राका लागि आवश्यक पर्ने नक्सा अद्यावधिक गर्ने, नयाँ जानकारी राख्ने काम पनि यात्रा क्रममा गरिने बताए ।

स्थानीय गाइडलाई आवश्यक तालिम संयोजन गरिने कीर्तिपुर गाइड एसोसिएसन उपाध्यक्ष विविशा शाक्यले बताइन् ।

‘आन्तरिक तथा वाह्य पर्यटकलाई कीर्तिपुरको सम्पदा, इतिहास र संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिका र स्थानीय संघसंस्थाको सहकार्यमा अभियानकै रूपमा अघि बढ्नु सुखद हो,’ कीर्तिपुर नगरपालिकाका कार्यवाहक प्रमुख तथा उपमेयर शुभलक्ष्मी शाक्यले भनिन् ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले कीर्तिपुर पहाडी सहरका रूपमा रहेको छ जुन आफैंमा पर्यटन ब्रान्ड रहेको बताए ।

यस स्थानबाट देखिने मनमोहक दृश्यले कीर्तिपुरको विशेष महत्त्व राख्ने र यस किसिमको पदयात्राले कीर्तिपुरलाई पर्यटन मानचित्रमा स्थापित गराउने बताए ।

युवामा भएको ज्ञान सीप र क्षमताका माध्यमबाट संगठित रूपमा स्वयंसेवा गर्न २०६१ सालमा स्थापना भएको कीर्तिपुर स्वयंसेवक समाजले युवा क्षमता विकास, विपद् व्यवस्थापन लगायत क्षेत्रमा निरन्तर काम गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?