+

एन्फा महिला लिगमा सुदूरपश्चिमले खाएको ६५ गोल

२०८१ असोज  ९ गते १६:४० २०८१ असोज ९ गते १६:४०
एन्फा महिला लिगमा सुदूरपश्चिमले खाएको ६५ गोल

९ असोज, काठमाडौं । एन्फा महिला लिगमा सबैभन्दा कमजोर देखिएको टिम हो सुदूरपश्चिम प्रदेश । सुदूरपश्चिम प्रदेशले आठौं खेल सक्दा ३ गोल मात्र गरेको छ भने ६५ गोल खाएको छ ।

यसको भित्री कहानी भनेको प्रदेश फुटबल संघ र बन्द प्रशिक्षणमा बसेका खेलाडी बिचको विवाद हो । बन्द प्रशिक्षणमा बसेका २६ जना खेलाडीमध्ये जम्मा २ जनाले मात्रै महिला लिग खेलिरहेका छन् । जसमा सुर्खेतमा महिला लिग छनोट खेलेकी गोलरक्षक टिकेश्वरी साउद र लिला चन्द हाल पनि टिममा छन् बाँकी २४ जना भने हाल घरमै छन् ।

विवादको मुख्य जड भनेको प्रशिक्षक परिवर्तन, सेवा सुविधा र बन्द प्रशिक्षणमा बसेका २६ खेलाडीलाई नै एकमुष्ट काठमाडौं ल्याउनुपर्ने खेलाडीको माग सम्बोधन हुन नसक्नु हो ।

खेलाडीको माग सम्बोधन गर्न प्रदेश सरकारसँग पर्याप्त बजेट नभएको अध्यक्ष दिनेश श्रेष्ठले अनलाइनखबरसँग बताए ।

धनगढीको अल स्टार फुटबल एकेडेमीमा ९ साउनदेखि सुरज तामाङले २६ खेलाडीलाई प्रशिक्षण दिई रहँदा आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षकसँग बी लाइसेन्स हुनुपर्ने नियम बनायो ।

जसअनुरुप सुदूरपश्चिम फुटबल संघले सुरज तामाङलाई हटाएर ९ भदौमा दिनेश लामा योञ्जनलाई प्रशिक्षक बनायो । नयाँ प्रशिक्षक ल्याएसँगै सुदूरपश्चिम प्रदेश फुटबल संघले पहिलो चरणमा १८ खेलाडीलाई मात्र काठमाडौं लगिने जानकारी गरायो ।

नयाँ टिम काठमाडौं त आयो तर प्रदर्शनको आश न प्रदेश फुटबल संघलाई थियो न त प्रशिक्षकलाई ।

त्यसैले नजिताप्रति उनी उनीहरुको गुनासो छैन । ‘१७ गतेबाट खेल थियो, १५ गते खेलाडी पठाउनु पर्ने थियो । अन्तिम समयमा खेलाडीले खेल्दैनौं भनेपछि हामी पनि एन्फाको कारबाहीबाट बच्न नयाँ टिम बनाएर पठाउन बाध्य भयौं,’ सुदुरपश्चिम प्रदेश फुटबल संघका महासचिव काशीराम बोहराले अनलाइनखबरसँग भने, ‘‘हामीलाई यो टिमसँग केही गुनासो छैन । काठमाडौंमा भिडिरहेका छन् त्यही नै ठूलो कुरा हो ।’

गत फागुनमा सुर्खेतमा महिला लिग छनोटमा सुदुरपश्चिम शीर्ष २ मा परेको थियो । तर राष्ट्रिय लिगमा सोमबार विभागीय टिम एपिएफसँग एकै खेलमा १९ गोल खायो ।

पहिलो खेलमा बागमती युथ क्लबसँग ५–१ ले पछि परेको सुदुरले दोस्रो खेलमा नेपाल पुलिससँग ९–० को खेल खेल्यो ।

तेस्रो खेलमा त्रिभुवन आर्मीसँग १४–०, पाँचौं खेलमा चन्द्रपुर नगरपालिकासँग ४–०, वालिङ नगरपालिकाको टिमसँग ५–१, छैटौं खेलमा छिमेकी प्रदेश कर्णालीसँग ३–०, संकटा क्लबसँग ६–० गोल सहित कुल ६५ गोल सुदुरको पोष्टमा परिसकेको छ ।

८ खेल खेल्दा सुदुरले जम्मा ३ गोल मात्रै गरेको छ । पहिलो खेलमा बागमतीसँग तुलसा बोहराले ९० औं मिनेटमा गोल गरेकी थिइन् । तेस्रो खेलमा आर्मीसँग पनि सुदुरले गोल फर्कायो । निलमा सिंहले ६८ औं मिनेटमा गोल गर्दै सान्त्वना दिलाइन् । अर्को भनेको पाँचौं चरणमा वालिङसँग भिड्दा रितिका कार्कीले ५४ औं मिनेटमा गोल गरेकी थिइन् ।

कप्तान र उपकप्तान निलम्बनमा

यसैबीच सुदूरपश्चिम प्रदेश फुटबल संघले कप्तान अञ्जली चन्द र उपकप्तान अस्मिता चौधरीलाई निलम्बन गरेको छ । २६ जना खेलाडीले सेवा सुविधा पाउनु पर्छ भनेर माग गरेकामा दुई जनालाई निलम्बन गरेको पत्र मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)मा पठाइएको छ ।

‘हामीले कप्तान र उपकप्तानलाई १ वर्षको निलम्बन गरेका हौं । निलम्बन पत्र मंगलबार) एन्फा गइसकेको छ’, महासचिव बोहराले भने ।

दुबैले आफ्नो कमजोरी स्वीकार गर्दै माफी मागेमा निलम्बन फुकुवा गर्ने महासचिव बोहराको दाबी छ । ‘यो निलम्बन अनिश्चितकालीन होइन । खेलाडीले आफूले गल्ती गरेको भन्दै क्षमायाचना गरेको खण्ड हाम्रै खेलाडी हुन्, हामी फुकुवा गरिदिनेछौं’, उनले भने ।

एन्फाको अनुशासन समितिले केही निर्णय गरेको छैन । त्यो अवस्थामा अञ्जली र अस्मिताले एन्फाको अन्य राष्ट्रिय खेलकुदमा सहभागी हुन पाउँछन् । एन्फा विधान र नियम अनुसार भने अञ्जली र अस्मिताले सुदूरपश्चिम प्रदेशमा मात्रै खेल्न पाउने छैनन् ।

यू–२० टिममा नेपालको प्रतिनिधित्व गरिसकेकी अञ्जली भने प्रदेशले निलम्बन गरेको विषय थाहा नभएकाे बताउँछिन् । ‘मलाई त यो कस्तो निलम्बन हो भन्ने पनि थाहा छैन’ उनले भनिन् ।अञ्जली र अस्मिता बाहेकका २२ खेलाडी भने हालसम्म पनि संघको मातहतमा छन् ।

उनीहरुले भने खेल्न चाहेको खण्डमा प्रदेश फुटबल संघको कार्यलयमा सम्पर्क गर्नुपर्ने छ ।

फुटबल सुदूरपश्चिम
लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय