+
+

घट्दै छ देउवा–गगन दूरी

देउवा–गगन नजिकिनुमा सहकारी प्रकरण, नयाँ गठबन्धनप्रति महामन्त्रीको सहज स्वीकार, विवाद भन्दा मिलेर सांगठानिक कार्य गर्नुपर्ने दुबैको आत्मबोधले काम गरेको छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०८१ असोज ९ गते २०:१०

९ असोज, काठमाडौं। २ असोजमा नेपाली कांग्रेसले केन्द्रीय कार्यालयमा सय दिने विशेष अभियानमा खटिने केन्द्रीय प्रतिनिधिहरुलाई अभिमुखीकरण कार्यक्रम राख्यो । अभियानको उद्देश्य, प्रतिनिधिका कार्यादेश, नेताहरुले आन्तरिक संगठन सुदृढीकरणका लागि गर्नुपर्ने कार्य आदिबारे महामन्त्री गगन थापाले प्रतिनिधिलाई जानकारी गराए ।

महामन्त्री थापाले बोलिसकेपछिका वक्ता थिए, पार्टी सभापति शेरबहादुर देउवा । सभापति देउवाले सहकारीको रकम अपचलनमा रवि लामिछानेको संलग्नता विषयलाई जानकारीमा ल्याइदिएको प्रति महामन्त्री थापालाई धन्यवाद दिए ।

‘सहकारी सम्बन्धी कुरा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको छ । उहाँलाई धन्यवाद दिन चाहन्छु, मैले वास्तवमा पत्याएकै थिइनँ, यस्तो छ भनेर,’ थापाको प्रशंसा गर्दै देउवाले भने,‘रवि लामिछानेजी त कस्तो मान्छे हुनुहुँदो रहेछ भने चलाख मान्छे, म त छक्कै परें कुरा सुनेर । तपाईंले जित्दिनुभयो, त्यसकारण धन्यवाद तपाईंलाई ।’

शीर्ष नेताहरु सहित केन्द्रीय सदस्यहरु सहभागी बैठकमा सभापति देउवाले महामन्त्री थापालाई यो तहको प्रशंसा गरेको सम्भवतः पहिलोपटक हो । महामन्त्री थापाको सभापति देउवाले प्रशंसा गरेको र दुई वर्षपछि प्रधानमन्त्री देउवा हुने भन्दै थापाले दोहोर्‍याइरहेको विषयले कांग्रेसभित्र चर्चा पाएको छ । एकले अर्काको विरोध नगर्नु र प्रशंसामा शब्द खर्चिनुलाई दुई जनाको दूरी घटेको टिप्पणी हुन थालेको छ ।

कांग्रेस नेताहरुका अनुसार देउवा–गगन नजिकिएको देखिनुमा सहकारी प्रकरण, नयाँ गठबन्धनप्रति महामन्त्रीको सहज स्विकार, विवाद भन्दा मिलेर सांगठानिक कार्य गर्नुपर्ने दुबैको आत्मबोध लगायतले काम गरेको छ ।

देउवा–गगन सम्बन्ध सुधारिँदै जानुलाई कतिपय नेताले भावी महाधिवेशनको समीकरणलाई पनि जोडेर हेरेका छन् । पार्टीको सांगठनिक कार्यका लागि सभापतिसँग मतभेद राख्नुपर्ने कारण नभएको महामन्त्री थापा बताउँछन् ।

‘सभापति र महामन्त्रीको वीचमा सम्बन्ध राम्रो हुँदा मात्रै पार्टीका गतिविधिहरु अघि बढ्छन्,’ महामन्त्री थापाले अनलाइनखबरसँग भने,‘कसरी परिणाम दिने भनेर म लाग्नु नै पर्दछ । संगठनका कामका लागि सभापतिसँग मिलेरै काम गर्नुपर्दछ भन्ने मेरो मान्यता हो ।’

महाधिवेशनलाई केन्द्रमा राखेर हुने समीकरणलाई ध्यानमा राखेर आफूले काम नगरेको महामन्त्री थापाले सुनाए । सभापति देउवा र महामन्त्री थापालाई एक ठाउँमा ल्याउने प्रमुख मुद्दा ‘सहकारी प्रकरण’ बनिदियो ।

एमाले–माओवादी–राष्ट्रिय स्वतन्त्र पार्टी सहितको सरकार २१ फागुनमा बनेपछि सहकारीको मुद्दालाई कांग्रेसले जोडतोडसँग उठायो । पार्टीभित्र यो मुद्दाका बारेमा जानकारी गराउने र संसदमा निरन्तर विरोध गर्ने कार्यको अगुवाई महामन्त्री थापाले गरे ।

महामन्त्री निकट केन्द्रीय सदस्य भन्छन्,‘महामन्त्रीले सहकारी प्रकरणको लिड गर्नुभयो । संसदीय समितिको प्रतिवेदन सार्वजनिक आएपछि सभापतिले महामन्त्रीलाई पूर्ण विश्वास गर्ने आधार बन्यो ।’

नेताहरुका अनुसार सभापति देउवा र महामन्त्री थापाको नजिकिनुको कारण वर्तमान गठबन्धनको विषय पनि हो । कांग्रेस र एमालेको गठबन्धन बनाउने कार्यमा महामन्त्री संलग्न भएनन् ।

संसदबाट महामन्त्री थापाले सभापति देउवालाई आश्वस्त बनाउने गरी भने,‘यो सरकार बनाउने कार्यमा मेरो संलग्नता छैन । तर, जे भएको छ । ठीक भएको छ ।’ वर्तमान गठबन्धनको विरुद्दमा महामन्त्री देखिएको भए दुईको सम्बन्धमा दूरी बढ्ने थियो । नयाँ सत्ता समीकरणलाई महामन्त्रीले ‘ठिक भएको’ प्रतिक्रिया दिएपछि एक अर्कामा विश्वासको मत वातावरण थप मजबुत बन्यो ।

सत्ता समीकरण परिवर्तन भएपछि महामन्त्री थापाले महासमिति बैठकमा प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन पारित गर्न थप मद्दत पुग्यो ।

‘महामन्त्रीले एमालेसँग सरकार बनाएको विषयलाई सहजतापूर्वक लिनुभयो । २०८४ को चुनावमा एक्लै लड्ने निर्णय लिन सभापतिलाई पनि गाह्रो भएन,’ देउवा निकट एक नेता भन्छन्,‘अहिले माओवादीसँगै सत्ता सहकार्य भएको भए गठबन्धन नगर्ने प्रस्तावले सभापति र महामन्त्रीको पानी बराबरको अवस्था आउनसक्ने थियो ।’

वर्तमान सरकारमा महामन्त्री थापालाई सरकारको नेतृत्व गरेर जान देउवाको प्रस्ताव थियो । उनी सरकारमा जान चाहेनन् । मन्त्री छनोट गर्दा भने महामन्त्री थापाले इच्छाएका दुई व्यक्ति मन्त्री बने । सहमहामन्त्री बद्री पाण्डे र नेता प्रदीप पौडेलका लागि महामन्त्रीले जोडबल गरेर मन्त्री बनाए ।

बागमतीमा महामन्त्री थापा निकट सुरज लामिछाने मन्त्री बने । ‘अघिल्लो गठबन्धनको बेला केन्द्र र प्रदेशमा मन्त्री बनाउँदा देउवाले महामन्त्रीलाई वेवास्ता गर्थे । यसपटक महामन्त्री चाहेका व्यक्तिलाई मन्त्री बनाएर स्पेस दिएका छन,’ महामन्त्री थापा निकट एक नेता भन्छन् ।

कांग्रेस नेताहरुका अनुसार सभापति देउवा र महामन्त्री थापा थप नजिक भएकोे पछिल्लो उदाहरण कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति चयन हो । उक्त समितिको सभापति रहेकी आरजु राणा परराष्ट्र बनेपछि रिक्त पदको जिम्मेवारी कुसुम थापाले लिइन् । कुसुम थापा महामन्त्री थापा निकट सांसद हुन् ।

संस्थापन र इतर दुबै पक्षका नेताहरुको दाबी अनुसार सभापति देउवा र महामन्त्री थापालाई नजिक ल्याउन भूमिका खेल्ने प्रमुख पात्र गृहमन्त्री रमेश लेखक हुन् । देउवा निकट लेखक अर्को समूहका नेतालाई नचिढ्याउने नेतामा परिचित छन् । महामन्त्री थापा र लेखकको सम्बन्धमा तिक्तता कहिले थिएन । सहकारी मुद्दालाई संसदमा निरन्तर उठाइरहन महामन्त्री थापा र नेता लेखकको मत मिलेको थियो ।

देउवा पक्षीय नेता भन्छन्,‘अहिले सभापतिले सबैभन्दा बढी विश्वास रमेश लेखकलाई गरेका छन् । लेखकले पुलको काम गर्दा सभापतिले महामन्त्रीका कुरा सुन्ने अवस्था बन्यो ।’ देउवा–गगन सम्बन्धमा देखिएको सहज अवस्थाकै कारण सभापतिले सरकारको न्युनतम साझा कार्यक्रममा महामन्त्री थापालाई पार्टीबाट नेतृत्व गर्ने गरी पठाए ।

महामन्त्री थापा निकट केन्द्रीय सदस्य मधु आचार्य सभापतिले महामन्त्रीको कामको स्पीड र स्पिरिटलाई हेरेकाले त्यसलाई स्वभाविक मान्नुपर्ने बताउँछन् । १५ औं महाधिवेशनलाई हेरेर समीकरण बनाउने ध्येयले नजिक भएको बुझ्न नहुने उनले बताए । आचार्य भन्छन्,‘महाधिवेशनलाई हेरेर अहिले नै तयारी गर्ने सोंच कसैको भए जस्तो देखिन्न् । त्यो बेलासम्म के कस्तो गरेर घटनाक्रम विकास हुन्छ । समय छ नि ।’

देउवा–गगनको दूरी घट्नुमा संस्थापनइतर पनि कारण बनेको नेताहरुको बुझाई छ । महामन्त्री थापा निकट नेताहरुको दाबी अनुसार डा. शेखरको प्यानलबाट महामन्त्री जितेका थापाले महाधिवेशन ताकाको गुटबन्दीमा अल्झेर काम गर्नुसाटो अर्को पक्षसँग घुलमिल गर्दै कार्यसम्पादन गरेका कारण पनि सभापतिले थप विश्वास गरेका हुन् । उपसभापति धनराज गुरुङले केही दिन नेता शेखरको कार्यालयमा बोलाएको बैठकमा थापा सहभागी भएनन् । देउवा र गगनलाई नजिक ल्याउनुमा शेखरको भूमिकाले पनि काम गरेको संस्थापन पक्षका शीर्ष तहका एक नेता दाबी गर्छन् ।

कांग्रेस–एमाले मिलेर सरकार बनाउन जोड गर्ने शेखरले अहिले नै सत्ता गठबन्धनको विरोध गर्दा त्यसले देउवा–गगन नजिक ल्याउन झन् मद्दत गरेको उनले सुनाए । ‘सरकारको सय दिन पुगेको छैन । शेखर जी मन्त्रीहरुले काम गर्न सकेनन् भन्नुहुन्छ । साझा न्युनतम कार्यक्रम भर्खर आएको छ,’ उनले भने,‘यस्तो बेलामा त देउवाले आफूलाई साथ दिने मान्छे खोज्छन् । महामन्त्री गठबन्धन सफल बनाउन लागिरहँदा देउवाले उनलाई खोज्छन् ।’

उपसभामुख इन्दिरा रानामगर प्रकरणमा पनि देउवा–गगनको मतभिन्नता देखिएन । संसदसँग सम्बन्ध नराख्ने व्यक्तिहरुलाई अनधिकृत रुपमा अमेरिका पठाउन चिठी लेखेको विषयमा राना मुछिँदा कांग्रेसले आवाज उठाएको थियो । तर, यसमा शेखर पक्षले साथ नदिएको बुझाई संस्थापन पक्षमा छ । उपसभामुख रानामगरलाई अविश्वासको प्रस्ताव ल्याउने प्रयोजनका लागि भएको हस्ताक्षर संकलन गर्दा शेखर निकटका नेताहरुले इन्कार गरेका थिए ।

सभापति देउवाले छनोट गरेका राजदूतमा समेत पार्टीभित्र विरोधको स्वर सुनिएन । ‘देउवाले राजदूत बनाए र अरुले विरोध गरेनन्,’ संस्थापनइतरका एक केन्द्रीय सदस्य भन्छन् । संस्थापन पक्षीय केन्द्रीय सदस्य नैनसिंह महर पार्टीलाई गति प्रदान गर्न सबै जना मिलेर काम गर्नुपर्ने धारणा राख्छन् । उनले भने,‘संगठन गतिशील बनाउन सभापति र महामन्त्री मिलेर काम गरेको भए ठिक छ । दुई मात्रै होइन, सबै मिलेर पार्टीलाई मजबुत् बनाउनु पर्ने समय छ ।’

महाधिवेशन पछिको सम्बन्धमा उतारचढाव

१४ औं महाधिवेशनमा सभापति देउवा पहिलो चरणबाटै आफू पुनः निर्वाचित हुन हरदम प्रयास गरे । सफल हुन सकेनन् । शेखर प्यानलबाट महामन्त्रीका उम्मेदवार थापाले सभापतिमा उनलाई हराउन हरसम्भव प्रयास गरे ।

महाधिवेशन सकिएको तीन महिनासम्म सभापति र महामन्त्रीको सम्बन्ध सौहार्द रह्यो । एमसीसीका संसदबाट पारित गराउन अन्य दलका नेताहरुसँग छलफल गर्दा देउवाले गगनलाई छुटाएनन् । कांग्रेसको महाधिवेशन सकिएको तीन महिनापछि (२०७८ फागुन १५) मा संसदबाट एमसीसी सम्झौता अनुमोदन भएको थियो ।

संसदीय दलको नेतामा सर्वसम्मत हुन खोजेका देउवासँग प्रतिस्पर्धा गर्न महामन्त्री थापा उभिए । त्यसपछि देउवा–गगनको सम्बन्धमा दरार यही विन्दुबाट बढ्न पुग्यो । निर्वाचित महामन्त्रीलाई ‘स्पेस’ नदिएर संस्थापनइतरका नेता डा. कोइरालासँग डिल गर्न देउवा लागे । समूहलाई भागवण्डामा हिस्सेदारी बनाउने सल्लाहमा शेखरसँग संवादमा गर्ने तर महामन्त्रीलाई वेवास्ता गरिदिए ।

सार्वजनिक रुपमा सभापतिको कार्यशैलीको महामन्त्री थापाले आलोचना गर्दै गए । अघिल्लो साउनको केन्द्रीय समितिको बैठक सभापति र महामन्त्रीको द्वन्द्वमा केन्द्रित भएजस्तै देखियो । महामन्त्रीहरुलाई ‘नाङ्गेझार’ पार्ने भन्दै पूर्व तयारी गरेर देउवाले केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णय लिए ।

‘महामन्त्रीहरु केन्द्रित आक्रमण गर्ने नियतले लाइभ गरिएको थियो,’ संस्थापनइतरका एक केन्द्रीय सदस्य सुनाउँछन्,‘देउवा पक्षबाट आएका प्रतिवाद महामन्त्रीले गरे । एकले अर्कालाई नङ्ग्याउने जस्तो अवस्था त्यो बैठकमा बन्यो ।’

महामन्त्री निकट नेताहरुका अनुसार केन्द्रीय समिति बैठकमा संस्थापनइतरका नेता डा. कोइरालाले महामन्त्री थापालाई आड भरोसा दिएनन् । देउवा पक्षको पेलाई र आफ्नै समूहको बलियो साथ नपाउने अवस्थामा महामन्त्री थापा पुगेको उनी पक्षीय नेताहरु सुनाउँछन् ।

महासमिति बैठकमा देउवा–गगनको अर्को पेचिलो लडाई देखियो । समग्र बैठक चुनावी तालमेल गर्ने÷नगर्ने विषय मात्रै केन्द्रीत भएजस्तो नेता कार्यकर्ता सबैलाई भान पर्‍यो । चुनावी गठबन्धन गर्न नहुने महामन्त्री थापाको प्रतिवेदनको विरोधमा संस्थापन पक्ष खरो उत्रियो ।

यो वीचमा महामन्त्री थापाले केन्द्रीय समितिको निर्णयमा दुईपटक ‘नोट अफ डिसेन्ट’ लेखे । २०७९ पुस १० पछि एमालेसँग माओवादी मिलेर सरकार बनाउँदा प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिने निर्णयको विरुद्धमा लिखित असहमति महामन्त्री थापाले राखे । राष्ट्रिय सभाका उम्मेदवार चयन गर्दा लिखित असहमति उनको दोस्रोपटक थियो । गत निर्वाचनमा चुनावी तालमेल गर्न नहुने मत मौखिक असहमतिका रुपमा पार्टी बैठकमा राखे ।

पछिल्लो समय भने देउवा–गगन सम्बन्धमा प्रगाढता आएको पार्टीक नेताहरुको बुझाई छ । २३ साउनदेखि बसेको केन्द्रीय समितिको बैठकमा सभापति देउवा पक्षीय नेताहरुले महामन्त्री लक्षित आक्षेप लगाउने गरी प्रस्तुत भएनन् ।

एक अर्काप्रति स्वीकार्यता बढ्दै गएकाले आलोचना, विरोधमा केन्द्रीय सदस्यहरु नदेखिएको नेताहरु टिप्पणी गर्छन् । जस्तो कि विभागको प्रमुख तोक्दै गर्दा पनि सभापति देउवाले दुई महामन्त्रीले राखेका नामहरुमा असहमति राखेनन् । एकैपटक ३७ विभागको प्रमुख बनाउँदा महामन्त्रीद्धयको निश्चित गरेका व्यक्तिलाई देउवाले स्वीकारे ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?