+
+

आर्थिक वृद्धि र जीवनस्तर सुधार्न यातायात पूर्वाधार आवश्यक : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ९ गते १८:१४

९ असोज, काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वृद्धि तथा नागरिकको जीवनस्तरमा सुधार ल्याउन यातायात पूर्वाधार अत्यावश्यक रहेको बताएका छन् ।

चीनको राजधानी बेइजिङमा आयोजित ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले दीगो एवम् भरपर्दो यातायात प्रणालीको विकास र उपयोगप्रति नेपालको दरिलो प्रतिबद्धता रहेको र यस क्षेत्रमा नेपालले काम गरिरहेको बताए ।

नेपालको भौगोलिक अवस्था अनुसार सडक सञ्जालका अतिरिक्त रेलमार्ग, हवाई यातायात तथा आधुनिक पोड–वेको महत्त्व रहेको उल्लेख गर्दै उनले दिगो यातायात पूर्वाधार विकासका लागि स्वदेशी तथा वैदेशिक लगानी विस्तार आवश्यक रहेको बताए ।

यातायात पूर्वाधार विकासबाट आम नागरिकको जीवनयापन र आवागमनमा सहजता पुग्ने मात्र नभई नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रतिस्पर्धी बन्दै जाने, स्वदेशी उत्पादनले मुलुकभित्र तथा अन्तर्राष्ट्रिय बजारमा सहज पहुँच प्राप्त गर्ने अर्थमन्त्री पौडेलले बताए ।

उनले व्यवस्थित सहरीकरण तथा बस्ती विकाससहित सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्न योगदान पुग्ने बताए ।

अर्थमन्त्री पौडेलले वातावरणमैत्री एवम् दिगो यातायातका लागि विद्युतीय सवारीसाधनको प्रयोग विस्तार गर्ने नेपालको नीति रहेको जानकारी गराए ।

यसका लागि विद्युतीय सवारीको आयातमा राजस्व सहुलियत, पूर्वाधार निर्माण, मुलुकभित्रै विद्युतीय सवारीसाधनको उत्पादनका लागि अन्तर्राष्ट्रिय प्रविधि तथा लगानी आकर्षित गर्ने नीति रहेको उनले बताए ।

आजदेखि सुरु भएको ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमको कार्यक्रममा नेपाललगायत विभिन्न देशका उच्च राजनीतिक तहका प्रतिनिधि सहभागि छन् ।

नेपालबाट अर्थमन्त्री पौडेलसहित चीनका लागि नेपालका कार्यबाहक राजदूत सुरेन्द्र यादव, अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता महेश भट्टराई लगायत अधिकारी सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?