+
+

नेपालमा भन्दा अष्ट्रेलियामा दशैं एक दिन ढिलो किन भयो ?

विनोद घिमिरे विनोद घिमिरे
२०८१ असोज १० गते २:००

१० असोज, काठमाडौं । अष्ट्रेलियामा दशैंको टीका नेपालमाभन्दा एकदिन पछि परेको छ । नेपालमा यही असोज २६ गते (१२ अक्टुबर) दशैंको टीका परेको छ भने अष्ट्रेलियामा २७ गते (१३ अक्टुबर) मा टीका रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले जनाएको छ ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सदस्यसचिव आचार्य लक्ष्मण पन्थीले अनलाइनखबरसँग भने, ‘अष्ट्रेलियामा विजया दशमी पर्वको दशमी तिथि उदयकालीन असोज २७ गते भएकाले २७ गते नै टीकाजमरा ग्रहण गर्नुपर्छ ।’

दशैंमात्र नभई तिहारको लक्ष्मी पूजा पनि नेपालमा भन्दा अष्ट्रेलियामा एक दिन पछि रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले जनाएको छ । नेपालमा लक्ष्मीपूजा कात्तिक १५ गते अर्थात् अक्टुबर ३१ तारिकमा छ भने अष्ट्रेलियामा कात्तिक १६ गते अर्थात् नोभेम्बर १ तारिकमा छ ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले अमेरिका, अष्ट्रेलिया लगायत देशका पञ्चाङ्ग (पात्रो) र दशैंको टीकाको साइत सार्वजनिक गर्दै आएको छ । यस वर्षको दशैंको टीकाको साइत सार्वजनिक हुन भने बाँकी छ ।

पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य समेत रहेका आचार्यका अनुसार कुन देशमा दशैंको टीकाको साइत कति बजे पर्छ भनेर शुक्रबार सार्वजनिक गरिने छ ।

पन्थीका अनुसार अष्ट्रेलियाको राजधानी क्यानबेरा, मेलबर्न, सिड्नी, एडिलेड, पर्थ, तास्मानिया सहित अमेरिका, भारत लगायतका विभिन्न शहरका लागि पनि छुट्टाछुट्टै साइत सार्वजनिक हुनेछ ।

नेपालमा भने यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

गत वर्ष अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले अमेरिका र क्यानडामा नेपालमा भन्दा एक दिन अघि दशैंको टीकाको साइत सार्वजनिक गरेपछि खगोलविद् तथा सिद्धान्तज्योतिषी बीच विवाद भएको थियो ।

सूर्योदयकालीन समयको आधार

तिथि र टीकाको साइत तोक्दा स्थान विशेषको सूर्योदयको समयलाई समेत आधार मानिन्छ । अहिले अष्ट्रेलियामा नेपालमा भन्दा एक दिन पछि दशमी तिथि पर्नुमा राजधानी क्यानबेराको सूर्योदय समयको आधारमा भनिएको हो ।

ज्योतिषका जानकारहरुका अनुसार सूर्य र चन्द्रमाले तिथि बनाउँछन् । सूर्य र चन्द्रमा पश्चिमबाट पूर्वतर्फ गइरहेका हुन्छन् भने पृथ्वीमा रहेकाहरू पश्चिमबाट पूर्व गइरहन्छन् । यसले गर्दा तीनवटा चिजको गति फरक पर्छ । त्यसकारण नेपालमा रहने र विदेशमा रहनेहरुले भोग्ने तिथि फरक फरक हुन्छ ।

प्रवासमा धर्म, संस्कृति र परम्पराअनुसार धार्मिक गतिविधिमा सहजीकरण गर्दै आएको नेपाली हिन्दु समाज अष्ट्रेलियाका पण्डित प्रकाश ढोडारी चाडपर्वको तिथिमिति धार्मिक र ज्योतिषीय निर्णय अनुसार हुने बताउँछन् । 

साइत निकाल्दा सबैभन्दा बढी महत्त्व लग्नको हुन्छ । लग्नले ग्रह सबैभन्दा बलियो भएको क्षणलाई बुझाउँछ ।

‘नेपाल र अष्ट्रेलियाको समय करिब सवा चार घण्टाको फरक परेता पनि यस प्रकारका पर्वहरू तिथिका आधारमा मनाउनुपर्ने हुँदा यस वर्ष अष्ट्रेलियामा असोज २७ गते अर्थात अक्टोबर १३ गते आइतबार मात्र उदयकालीन दशमी तिथि परेकोले सोही दिन दशैंको टिका लगाउनुपर्ने भएको हो’ पण्डित ढोडारीले भने ।

धर्मशास्त्रमा उल्लेख भएअनुरुप नक्षत्र विजया दशमीको कारक नभएको र तिथिपरक आधारले नेपालमा विजया दशमी आश्विन २६ गते र अष्ट्रेलियामा २७ गते मनाउने निर्णय भएको उनको तर्क छ ।  

सदस्य सचिव पन्थीले अनलाइनखबरसँग भने, ‘अष्ट्रेलियामा १३ अक्टुबर (असोज २७ गते) को दिन ६ बजेर २४ मिनेटमा सूर्योदय हुन्छ । सूर्योदयपछि ९ बजेर ३३ मिनेट ७ घडी ५१ पलासम्म दशमी तिथि छ । दशैंको टीका दशमी तिथिकै दिन ग्रहण गर्नुपर्ने भएकाले नेपालमा भन्दा एक दिन ढिलो भएको हो ।’

उनले अगाडि भने, ‘नवमी तिथि चाहिँ सूर्योदयकालीन समयमा लगभग ११ घडी २७ पलामा छ । त्यो भनेको अष्ट्रेलियाको समय अनुसार लगभग ११ बजेर १ मिनेट हुन्छ । सूर्योदयकालीन समयमा नवमी तिथि सुरु भएपछि दशमी तिथि मध्याह्नमा मात्र सुरु हुन्छ ।’

नेपालमा भने २७ गतेको दिन बिहान ४ बजेसम्म दशमी तिथि छ । तर यो सूर्योदयकालभन्दा पछि भएकाले नेपालमा २६ गते नै दशैंको टीका लगाउनुपर्ने सदस्य सचिव पन्थीले बताए ।

उनका अनुसार दशैंको टीका ग्रहण गर्ने समय सूर्योदयकालीन समयको आधारमा तय गरिन्छ भने तिहारको टीका ग्रहण गर्ने समय मध्याह्नकालीन समयको आधारमा निश्चित गरिन्छ ।

साइत केहो ? किन आवश्यक छ ?

ज्योतिष विज्ञहरुले आपसमा परामर्श र छलफलपछि साइत निर्धारण गर्छन् । विजया दशमी आफैंमा शुभ दिन मानिन्छ । तर त्यस दिनमा पनि सबैभन्दा उचित पल कुन हो भनेर खोज्नु नै साइत जुराउनु हो ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलका अनुसार टीकाको साइत शास्त्रीय हिसाबले गणित हेरेर निकालिन्छ ।

साइत निकाल्दा सबैभन्दा बढी महत्त्व लग्नको हुन्छ । लग्नले ग्रह सबैभन्दा बलियो भएको क्षणलाई बुझाउँछ । त्यसैले साइत निकाल्दा नौ वटै ग्रहहरु कुन समयमा कति बलवान् स्थानमा पुग्छन् भन्ने कुरा मापन गरिन्छ । ग्रहहरूको बल नाप्ने पद्धतिलाई नवमांश भनिन्छ।

नवमांशको आधारमा जुन समयमा ग्रह बलवान अवस्थामा पुगेको मानिन्छ त्यसैलाई उत्तम साइत भनिन्छ ।

त्यसो त विजया दशमीको टीका जमरालाई दूर्गादेवीको प्रसादको रुपमा लिइन्छ । त्यसैले प्रसाद ग्रहण गर्न साइत हेर्न नपर्ने पनि बताइन्छ ।

तर राजकाज चलाउनेहरुले भने उत्तम साइतमै टीका जमरा ग्रहण गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य डा. बासुदेवकृष्ण कोइराला बताउँछन् । उत्तम साइतमै दशैंको टीका ग्रहण गरेमा शुभ फल मिल्ने विश्वास गरिन्छ ।

टीका लगाउनका निम्ति व्यावहारिकतालाई पनि हेर्नुपर्ने उनको भनाइ छ । ‘सकेसम्म साइतमै लगाउँदा राम्रो नसके आफ्नो व्यवहारिकता हेरेर पनि टीका लगाउँदा केही फरक पर्दैन,’ डा. कोइराला भन्छन्, ‘काम विशेष घरबाट चाँडै निस्किनुपर्ने छ भने साइतको अघि वा पछि पनि टीका लगाउँदा केही फरक पर्दैन । किनकि यो त शक्तिस्वरुपा देवी भगवतीको प्रसाद हो ।’

हेर्नुहोस् नेपालमा तय भएको दशैंको साइत-

लेखकको बारेमा
विनोद घिमिरे

घिमिरे अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?