+
+

लक्ष्मीनियाँ गाउँपालिकामा दुई प्रशासकीय अधिकृतको लफडा

एउटै पालिकामा दुई जना प्रमुख प्रशासकीय अधिकृत हुँदा कार्यालयको कामकारबाही समेत प्रभावित बनेको छ । चालु आर्थिक वर्ष २०८१/८२  को गाउँसभा समेत हुनसकेको छैन ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८१ असोज १० गते १७:३५

१० असोज, जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा असोज ८ गते मंगलबार जितिया पर्वको अवसरमा सामुदायिक विद्यालय तथा पालिकाको अन्य निकायमा महिलाहरुको बिदा रहेको सूचना सार्वजनिक भयो । असोज ७ गतेको प्रकाशित सो सूचनामा प्रमुख प्रशासकीय अधिकृत सर्वजीतकुमार झाले हस्ताक्षर गरेका थिए ।

भोलिपल्ट बिदाको दिन मंगलबार बिहानै अर्का प्रमुख प्रशासकीय अधिकृत यमबहादुर उपरकोटीले हस्ताक्षर गरेको जितिया पर्वको बिदा नरहेको सूचना सार्वजनिक भयो । दुईवटा सूचनाले पालिकावासी दोधारमा परे । कतिले बिदा माने, कतिपयले मानेनन् । यसो हुनुको कारण हो, लक्ष्मीनियाँ गाउँपालिका कार्यालयमा दुई जना प्रमुख प्रशासकीय अधिकृत हुनु ।

झण्डै एक महिनादेखि कार्यालयमा दुई प्रशासकीय अधिकृतको जुहारी चलिरहेको छ । विदा, कर्मचारीहरुको कार्यविभाजन लगायतको निर्णय एउटाले गर्ने र अर्काले उल्टाउने काम भइरहेको छ ।

एउटै पालिकामा दुई जना प्रमुख प्रशासकीय अधिकृत हुँदा कार्यालयको कामकारबाहीसमेत प्रभावित बनेको छ । चालु आर्थिक वर्ष २०८१/८२  को गाउँसभा समेत हुनसकेको छैन ।

उपरकोटी ३० वैशाखमा पालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिरी भएका थिए भने समान्य प्रशासन मन्त्रालयको सरुवाको पत्रसहित १३ भदौमा वडाध्यक्षहरुको रोहबरमा झा हाजिर भए ।

विवाद उत्कर्षमा पुगेपछि प्रशासकीय अधिकृत उपरकोटीको समान्य प्रशासन मन्त्रालयले १४ भदौमै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरेको पत्र सार्वजनिक भएको छ । उनले आफ्नो सरुवाको विषयमा आधिकारिक पत्र अहिलेसम्म आफ्नो हातमा प्राप्त नभएका जिकिर गरे ।

मेरो सरुवा भएकोबारे म आफैं अनभिज्ञ छु । कहींकतैबाट पत्र प्राप्त भएको छैन । हिजो फेसबुकमा पत्र देखेपछि थाहा पाएँ’, उपरकोटी भन्छन् ‘त्यो सही हो कि होइन, अन्योलमा छु । १४ भदौमा मात्र एकजनाको सरुवा भएको मन्त्रालयको वेबसाइटमा छ । त्यसमा मेरो नाम नै छैन ।’

पालिका अध्यक्ष भोगेन्द्र झा समान्य प्रशासन मन्त्रालयको बदमासीले कार्यालय प्रशासकीय अधिकृतको विवाद सृजना भएको गुनासो गर्छन् ।

उपकरकोटी चार महिना अघि मात्रै प्रशासकीय अधिकृतमा आउनुभयो । उहाँ कामकाज राम्ररी नै गरिरहेकै अवस्थामा मसँग कुनै सरसल्लाह नै नगरी मन्त्रालयले सर्वजीत झालाई सरुवा गरेर यहाँ पठायो । त्यसैले मैले हाजिर गराइनँ’, पालिका अध्यक्ष झा गुनासो पोख्छन् ।

सामान्य प्रशासन मन्त्रालयकै बदमासीकै कारण पालिका विवादमा फसेको अध्यक्ष झाको गुनासो छ । उनले ‘गैरकानुनी रुपमा हाजिर गरेर प्रमुख प्रशासकीय अधिकृत झाले मनपरी गरिरहेकोसमेत आरोप लगाए ।

पालिका अध्यक्ष झा उपरकोटीलाई नै प्रमुख प्रशासकीय अधिकृत राख्ने पक्षमा छन् । अध्यक्षका अनुसार २ भदौमै सर्वजीत झा आफूकहाँ भेटेर पालिकामा आउने प्रस्ताव राखेका थिए । तर, उनले अस्वीकार गरेका थिए । त्यस कारण सामान्य प्रशासन मन्त्रालयको पत्रसहित १३ भदौमा सर्वजीत झा हाजिर हुन आउँदा आफू नगएको पालिका अध्यक्ष झाको भनाइ छ ।

पालिका अध्यक्ष आउँदा वडाध्यक्षहरुको रोहबरमा आफैंले अर्को हाजिर रजिष्टर खडा गरेर हाजिर भएको प्रशासकीय अधिकृत सर्वजीत झा बताउँछन् । ‘पालिका अध्यक्षजी आउनु भएन । उपाध्यक्षजी बाहिर जानुभएको थियो । एक बाहेक सबै वडाध्यक्षको रोहबरमा हाजिर भएँ’, उनी भन्छन्, ‘सम्बन्धित कर्मचारी सुनिता यादवले दर्ताचलानी राजिष्टर दिनुभएन ।  मैले आफैं नयाँ राजिष्टर खडा गरेर हाजिर भएँ ।’

उनका अनुसार वडा नम्बर ४ बाहेक सबै वडाध्यक्ष पुगेका थिए ।

असन्तुष्ट पालिका अध्यक्ष झाले सोही दिन सर्वजीतलाई फिर्ता पठाएको पत्र सामान्य प्रशासन मन्त्रालयमा पठाए । जसमा समान्वय नगरी र कानुनविपरीत पठाइएका प्रशासकीय अधिकृत झालाई फिर्ता पठाएको उल्लेख छ ।

‘…प्रमुख प्रशासकीय अधिकृत श्री याम बहादुर उपरकोटीलाई निरन्तरता दिइएको व्यहोरा अवगत गराउन चाहन्छु । तसर्थ शासकीय संघीय व्यवस्थालाई मध्यनजर गर्दै त्यहाँ मन्त्रालयबाट खटिइनु भएका प्रमुख प्रशासकीय अधिकृत श्री सर्वजित झा लाई नियमानुसार फिर्ता पठाइएको व्यहोरा जानकारी गराउँदछु’, पालिका अध्यक्षले मन्त्रालयलाई पठाइएको पत्रमा उल्लेख छ ।

सर्वजीत प्रमुख प्रशासकीय अधिकृतमा हाजिर भएपछि उपरकोटी न्याय माग्दै सर्वोच्च अदालत पुगेका छन् । उनले १७ असोजमा पालिका कार्यालय, सामान्य प्रशासन मन्त्रालय र झाविरुद्ध रिट दायर गरेका हुन् । जुन अहिले सुनुवाइको क्रममा छ ।

आफू ३० वैशाखदेखि प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेर कामकाज गरिरहेको अवस्थामा अनाधिकृत प्रवेश गरी झाले विधिप्रक्रिया मिचेको दाबी रिटमा गरिएको छ । रिटमा भने अन्तरिम आदेश दिइएको छैन । बीचबीचमा पेसी चढेको र आउँदा आइतबार असोज १३ गते आदेश सुनाउने सम्भावना रहेको प्रशासकीय अधिकृत उपरकोटीको भनाइ छ ।

सर्वजीत झा सिरहाको औरही गाउँपालिकामा ४ महिना काम गरेर सरुवा भएर आएका हुन् भने उपरकोटी तेह्रथुमको छथर गाउँपालिका कार्यालयबाट आएका थिए ।

प्रशासकीय अधिकृत सर्वजीत झाले विगतमा गएका ठाउँहरुमा राम्रो काम नगरेकाले पालिकामा राख्न नस्वीकारेको पालिका अध्यक्ष झाको तर्क छ । ‘सर्वजीत हाम्रै जात पर्छ । दुबै झा झा । म पालिका अध्यक्षमा एक्लै झा जितेको छु । बढी वडामा एमाले जितेका छन् ।  उनलाई राख्यो भने केही हुँदा जातजात मिलेर ग¥यो भन्ने मूल्य मलाई चुकाउनुपर्छ’, पालिका अध्यक्ष भन्छन् ।

यता प्रशासकीय अधिकृत झा धेरै स्थानमा एउटै जातका पालिका प्रमुख र प्रशासकीय अधिकृत रहेको तर्क गर्दै आफ्नो विगतको पालिकाहरुमा राम्रो काम नगरेको कुरामा सत्यता नरहेको प्रतिक्रिया दिए ।

एउटै जातको छ भन्दैमा केही फरक पर्दैन । धेरै ठाउँमा एउटै जातका पालिका प्रमुख र प्रशासकीय अधिकृत छन्, उनले भने, ‘म शिक्षक थिएँ । पछि नाम निकालेर प्रशासकीय अधिकृत बनेको हुँ । अनुभवको कमीले केही त्रुटि भएको हुन सक्छ । तर सबै ठाउँमा राम्रै गरेको हुँ ।’

लक्ष्मीनियाँ गाउँपालिकामा प्रमुख, उपप्रमुख र वडा नं. ४ मा काँग्रेस जितेका छन् । वडा नम्बर ३ बाहेक पाँच वटा वडामा एमाले जितेका छन् । एमालेका वडाध्यक्षहरु सर्वजीत झालाई प्रमुख प्रशासकीय अधिकृत राख्ने पक्षमा छन् भने कांग्रेसले उपरकोटीलाई निरन्तरता दिन चाहन्छन् ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?