+
+

त्रिवि रजिष्ट्रार कार्यालयमा विद्यार्थीको धर्ना

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १० गते ११:३७

१० असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातक तहमा एक वर्षको बीचमा दुई वर्षको परीक्षामा सामेल गराएको तर ट्रान्सकृप्ट नदिएको भन्दै केही विद्यार्थीहरुले रजिष्ट्रार कार्यालय परिसरमा धर्ना दिएका छन् ।

त्रिचन्द्र र इटहरी मल्टिपल क्याम्पसका विज्ञान संकायको स्नातक तहका विद्यार्थीहरु धर्नामा बसेका छन् । यो धर्नालाई आफूहरुले पनि साथ दिएको अखिल क्रान्तिकारी क्याम्पस जिल्ला समिति अध्यक्ष प्रदीप भण्डारीले बताए ।

धर्नामा बसेका प्रविण दाहालले आजसम्म इयर ग्याप र इयर ओभरल्यापिङ (एकै वर्षमा दुई वर्षको परीक्षा) का कारण ट्रान्स्कृप्ट नपाएका सम्पूर्ण विद्यार्थीहरुको ३ दिनभित्र ट्रान्स्कृप्ट उपलब्ध गराउनुपर्ने आफूहरुको मुख्य माग भएको बताए ।

‘०७५ सालको पहिलो वर्षको परीक्षा दिएका विद्यार्थी ०७६ सालमा दोस्रो वर्षमा भर्ना भए, तर परीक्षा फर्म भरेनन्,’ दाहालले भने, ‘०७७ सालमा भने दोस्रो वर्षको आंशिकको रुपमा र तेस्रो वर्षको नियमितको रुपमा परीक्षामा सहभागी गराइयो । ०७८ सालमा चौथो वर्ष परीक्षा पास भइसके । तर त्रिविका पदाधिकारीले ओभरल्यापिङ भएकालाई ट्रान्सकृप्ट दिने नियम छैन भन्छन् ।’

‘नियम छैन भने परीक्षामा सहभागी किन गराइयो ?’ दाहाल प्रश्न गर्दै भन्छन्, ‘त्यसैले ट्रान्स्कृप्ट नपाएका सबै विद्यार्थीहरुलाई ३ दिनभित्र ट्रान्स्कृप्ट उपलध गराउनुपर्छ भनेर हामीले माग राखेका छौं ।’

उनले त्रिभुवन विश्वविद्यालयले सुधार गर्न सक्ने कामहरु समेत नगरेर विद्यार्थीहरुको भविष्य धरापमा पारेको आरोप लगाए ।

धर्नामा बसेका विद्यार्थीहरुलाई अखिल क्रान्तिकारी क्याम्पस जिल्ला अध्यक्ष प्रदिप भण्डारीले ऐक्यबद्धता जनाएका छन् । उनले विद्यार्थीको माग पूरा जायज भएकाले त्रिविले माग पूरा गर्नुपर्ने बताए । ‘माग पूरा भएन भने थप आन्दोलन गर्छौं,’ भण्डारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?