
१० असोज, काठमाडौं । सहकारी ठगी प्रकरणमा फिल्म क्षेत्र समेत तानिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानविन प्रतिवेदन २०८१ मा सहकारी ठगीको रकम चलचित्र क्षेत्रमा समेत प्रयोग भएको भेटिएको उल्लेख छ ।
काठमाडौंको कीर्तिपुरमा रहेको दर्शन बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष दिनेश दर्शनधारीले ठूलो लागतमा सिनेमा र म्युजिक भिडियो बनाएको र त्यसमा सहकारीको ठूलो लगानी फसेको जनाइएको छ ।
कीर्तिपुरका स्थानीय दर्शनधारीले नेपाल प्रहरीका पूर्व एआईजी छविराज जोशीका छोरा रोचक जोशी, अभिनेता शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ तथा करिश्मा मानन्धरकी छोरी कविता मानन्धरलाई म्युजिक भिडियो र सिनेमामा डेब्यु गराउने भनेर ठूलो लगानी गरेको प्रतिवेदनमा उल्लेख छ ।
दर्शनधारीका भाइ योगेन्द्र दर्शनधारीले निर्मल बुद्धभूमि बचत तथा कृषि फार्म नै चलाएको समेत प्रतिवेदनमा उल्लेख छ ।
सरकारले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा सांसद सूर्य थापाको संयोजकत्वमा संसदीय छानविन विशेष समिति गठन गरेको थियो । समितिको प्रतिवेदन कार्यान्वयनका लागि सरकारसामु पेश भइसकेको छ । समितिले उक्त सहकारीका अध्यक्ष दर्शनधारीलाई बोलाएर सोधपुछ समेत गरेको थियो ।
दर्शनधारीले निर्माण गरेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ २०७७ सालको माघे संक्रान्तिमा रिलिज भएको थियो । यो फिल्मबाट शिव श्रेष्ठका छोरा शक्ति र करिश्माकी छोरी कविताले डेब्यु गरेका थिए ।
कोरोना महामारीले नौ महिनासम्म हल बन्द भएपछि खुलेको पहिलो दिनमै यो फिल्म हलमा रिलिज भएको थियो तर फिल्म बक्स अफिसमा असफल भयो । दीपेश सापकोटा निर्देशित फिल्ममा शक्ति र कवितासँगै शिव श्रेष्ठ, प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशी, सञ्जोग कोइराला, सम्यक दर्शनधारी, आङतेम्बा शेर्पा, मिथिला शर्मा, विष्णु चेम्जोङ लगायतले अभिनय गरेका थिए ।
‘एउटा यस्तो प्रेम कहानी’ फिल्ममा दर्शनधारीले पाँच करोड लगानी गरेको तर फिल्मले एक लाख रुपैयाँ पनि नकमाएको फिल्मका वितरक गोपाल कायस्थले अनलाइनखबरलाई बताए । ‘एक लाख पनि आएन । पाँच करोड बजेट भन्थ्यो । मैले पाँच प्रतिशत कमिसनमा फिल्म लिएको हुँ’ उनले भने, ‘मेरै कमिसन पनि उठेन ।’

फिल्मको लगानी डुब्दा समेत दर्शनधारीले आफूलाई घाटा नभएको प्रतिक्रिया दिएको कायस्थले बताए । ‘फिल्म डुबेकोसँग गुनासो छैन । फिल्मकै कारणले मैले पोखरामा जग्गा किनेको हुँ । त्यसबाट २० करोड नाफा गर्यौं भनेर मलाई भनेका थिए’ कायस्थले अनलाइनखबरसँग भने ।
दर्शनधारीले राजेश हमाल अभिनित फिल्म ‘बागमती’मा समेत ३ करोड डुबाएको वितरक कायस्थले बताए । ‘बरु बागमतीले ५–६ लाख भए पनि कमाएको थियो’ उनले भने । छोराकै लागि भनेर दर्शनधारीले २०–२२ लाख खर्च गरेर म्युजिक भिडियो बनाएको समेत उनले जनाए ।
‘लामो समयदेखि मसँग सम्पर्क छैन’ प्रदर्शकको छाता संस्था चलचित्र संघका प्रथम उपाध्यक्ष समेत रहेका कायस्थले भने ।
प्रतिवेदन अनुसार दर्शन सहकारीको कुल पूँजी तथा दायित्व डेढ अर्बभन्दा बढी छ । उक्त रकम अपचलन गरेर सञ्चालक सम्पर्कभन्दा बाहिर गएपछि बचतकर्ता सडकमा उत्रिएका थिए । अध्यक्ष दर्शनधारीले आफ्नो हस्ताक्षरमा एक विज्ञप्ति जारी गरी संस्था अनिश्चितकालका लागि बन्द भएको भन्दै सञ्चालक सम्पर्कविहीन भएका थिए ।
१८ जेठ २०८१ मा बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र बज्राचार्य र प्रदेश सहकारी रजिस्ट्रार समेतको उपस्थितिमा कीर्तिपुरमै भएको छलफलमा सहकारी सञ्चालक समितिले २१ जेठमा बचतकर्तालाई केही रकम फिर्ता गर्ने व्यवस्था गर्ने र थप छलफल गरेर अगाडि बढ्ने सहमति गरेको थियो । तर केही दिनमा बचतकर्ता कार्यालयमा पुग्दा सञ्चालक भने संस्थामा ताला लगाएर सम्पर्कविहीन भइसकेका थिए ।
संसदीय छानविन समितिको प्रतिवेदनमा उक्त सहकारीको जम्मा कर्जा एक अर्ब ४५ करोड रहेको र कुल निक्षेपको १० प्रतिशत तरलता राख्नुपर्नेमा सोको उल्लंघन गरी १.८३ प्रतिशत मात्रै तरलता राखेको भेटिएको उल्लेख छ ।
यसैबीच, अभिनेत्रीत्रय बसन्धुरा भुसाल, भुवन चन्द र चैत्यदेवी र उनीहरुको परिवारका १४ जनाको २ करोड ६० लाख रुपैयाँ सिभिल सहकारीमा फसेको छ । फसेको रकम उठाउन भन्दै उनीहरुले प्रधानमन्त्रीदेखि विभिन्न निकाय गुहारिरहेका छन् । उनले पटक–पटक माइतीघरमा समेत धर्ना दिंदै आएका छन् ।
प्रतिक्रिया 4