+
+
ब्लग :

‘सम्मेलनले संगठनमा नयाँ पालुवा भर्नुपर्छ’

नेताहरूको चोटा, कोठाबाट होइन विद्यार्थीले चुनेको, छानेको, बुझेको र रोजेको नेतृत्व चयन गर्न सक्नुपर्नेछ। निर्वाचन विधिद्वारा स्वस्थ प्रतिस्पर्धा गरी नेतृत्व छनोट गर्न सक्नुपर्नेछ।  

रञ्जित तामाङ रञ्जित तामाङ
२०८१ असोज १० गते १६:४३

भ्रष्टाचार अन्त्य सुशासनको सुनिश्चितताका लागि हाम्रो आन्दोलन, रोजगार उत्पादन समाजवादी शिक्षाका लागि २३औ राष्ट्रिय सम्मेलन‘ भन्ने नाराका साथ आज अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलनको उद्घाटन भएको छ।

त्याग, समर्पण र बलिदानको पर्याय गौरवशाली संगठन अनेरास्ववियु क्रान्तिकारीको देशभरिका विभिन्न कमिटीहरूबाट प्रतिनिधिको रूपमा सम्मेलनमा विद्यार्थी प्रतिनिधिहरू सहभागी छन्। यो सम्मेलनले क्रान्तिकारी विद्यार्थी आन्दोलनको विरासतलाई धान्न सक्ने, क्रान्तिकारीलाई सडक बाघका रूपमा परिभाषित गर्न सक्ने सशक्त र जुझारु नेतृत्व निर्वाचित गर्न सक्नुपर्छ।

प्रतिनिधि विद्यार्थी साथीहरू देशैभरिको शैक्षिक संस्था र सबै भूगोलहरूबाट आफ्नो गौरवशाली संगठनको राष्ट्रिय सम्मेलनमा कलम र तारा अङ्कित रक्तरञ्जित झण्डा बोकेर आउनुभएको छ। शिक्षा, स्वास्थ्य क्षेत्रको रूपान्तरणको एजेन्डा बोकेर आउनुभएको छ। भ्रष्टाचार विरुद्ध सुशासनको पक्षमा महाअभियान सुरु गर्ने प्रणका साथ आउनुभएको छ। राष्ट्रियता, जनजीविका र संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान कार्यान्वयनको पक्षमा आवाज उठाउन आउनुभएको छ।

अहिलेको राजनीतिक परिदृश्यमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा अध्यक्ष प्रचण्डको नेतृत्वमा रहेको सरकारले गरेका महत्वपूर्ण र निराश देशलाई आशा जगाउने कामको विरुद्धमा दलाल, माफिया, बिचौलिया, भ्रष्टाचारीहरूलाई जोगाउनको लागि वर्तमान ओली नेतृत्वमा गठबन्धन तयार भएको छ। यसले सिंगो राजनीतिलाई पश्चगमनतर्फ लैजान खोजिरहेका छन्।

अग्रगमनको नेतृत्व गरेको माओवादी केन्द्रले व्यवस्था बदल्ने अभियानको पनि नेतृत्व गर्‍यो। अवस्था बदल्ने आन्दोलनको पनि नेतृत्व गर्दै प्रचण्ड नेतृत्वमा सरकारले गरेका राम्रा कामहरूलाई जनताको तहसम्म पुर्‍याउनुपर्नेछ। प्रत्येक स्कुल, कलेज, विश्वविद्यालयका युवा-विद्यार्थीमा राष्ट्र निर्माणको निर्विकल्प नेतृत्वकर्ता माओवादी केन्द्र र यसको अभियन्ता अखिल क्रान्तिकारी हो भन्ने कुरा स्थापित गर्न यो सम्मेलनमा सहभागी प्रतिनिधिहरूले विशेष योजना तयार गर्नुपर्नेछ।

क्रान्तिकारी विद्यार्थी आन्दोलनको नेतृत्व गरेको अखिल क्रान्तिकारी देशको क्रान्तिकारी विद्यार्थी आन्दोलनको मात्रै नेता संगठन होइन, नेपालको विद्यार्थी आन्दोलनलाई समेत राजनीतिक, शैक्षिक, आर्थिक, सामाजिक-सांस्कृतिक नेतृत्व समेत प्रदान गर्न सक्ने अग्रणी र नेतृत्वदायी संगठन हो। तसर्थ यो संगठनको सम्मेलनले क्रान्तिकारीसँग आबद्ध नेता–कार्यकर्ताहरूको जनभावना मात्रै समेटेर पुग्दैन, देशभरिका सम्पूर्ण युवा-विद्यार्थीको हक–हित र अधिकारका बारेमा नेतृत्व गर्न सक्नुपर्छ।

यो सम्मेलनले अखिल क्रान्तिकारीको मात्रै एजेण्डा र मुद्दाहरूलाई सम्बोधन गरेर पुग्दैन, आजको नेपालको विद्यार्थी आन्दोलनका प्रमुख कार्यभारहरूलाई समेत सूत्रबद्ध गरी नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ।

आज नेपालको विद्यार्थी आन्दोलनप्रति अनेकौं प्रश्न छन्। विद्यार्थी संगठनले विद्यार्थीका हक हित र अधिकारका मुद्दाहरूलाई उठाउन सकेनन्। हिजोको जस्तो जनजीविकाका सवालहरू खासगरी महङ्गी र भ्रष्टाचार विरुद्धमा सुशासनको पक्षमा काम गर्न सकेनन्। संविधानका मौलिक हकको कार्यान्वयन लगायत तमाम मुद्दाहरूमा विद्यार्थी आन्दोलन मौन बस्यो भन्ने आरोपहरू छन्।

विद्यार्थी संगठन विद्यार्थी संगठन जस्तो भएन, यो पार्टीको योजना र कार्यक्रमहरू कार्यान्वयन गर्ने छायाँ संगठन जस्तो मात्र भयो र एक प्रकारले यो पार्टी नै जस्तो भयो भन्ने आरोप, टिप्पणी र प्रश्नहरू छ। यो सम्मेलनले ती सबै प्रश्नहरूको जवाफ दिंदै आरोपहरूको व्यावहारिक खण्डन गर्न सक्नुपर्छ। ती सबै टिप्पणीहरूलाई सामना गर्दै तमाम प्रश्नहरूको जवाफ दिन सक्नुपर्दछ।

त्यसका लागि सम्मेलनको बन्द सत्रको हललाई व्यापक बौद्धिक बहस गर्ने थलो बनाउनुपर्छ। समग्र नेपालको विद्यार्थी आन्दोलनको रोडम्याप बनाउन सक्ने एउटा ऐतिहासिक ठाउँको रूपमा बदल्ने गरी छलफल केन्द्रित गर्न सक्नुपर्छ। तर हामी त्यसो गर्न सक्छौं ? के हामी नेपालको विद्यार्थी आन्दोलनको अनेकन् प्रश्नहरूको उत्तर यो सम्मेलनबाट दिन सक्छौं ? के हामी तमाम विद्यार्थीको हक–हित र अधिकार, जनजीविका र राष्ट्रियताको पहरेदार संगठन बनाउने संकल्प गर्न सक्छौं ?

सक्छौं भने मात्र यो २३औं राष्ट्रिय सम्मेलन भव्य रूपमा सम्पन्न भएको मानिनेछ। यो सम्मेलनबाट अनेकन् प्रश्नहरूको अनुत्तरित प्रश्नहरू बोकेर हामी घर फर्किने छैनौं। त्यसैले यो सम्मेलनमा गम्भीरतापूर्वक छलफल, बहस गर्नुहुनेछ र महत्वपूर्ण निर्णय लिनुहुनेछ भन्ने विश्वास गर्दछु।

विद्यार्थीहरू भनेको ”स्यालको हुइयाँ होइन यो कुशल सिकारीको अचूक निशाना हो” भनेर लेनिनले भन्नुभए जस्तै विद्यार्थीको केवल भुलभुलैयामा काठमाडौं डुल्न आएका होइनन् र सशक्त संगठन र त्यसको नेतृत्व छनोट गर्न आएका हुन्।

अनेरास्ववियु क्रान्तिकारीको यो सम्मेलन फगत एउटा नेतृत्वलाई बिदा गर्ने र अर्को नेतृत्वलाई स्वागत गर्ने मात्रै सम्मेलन हुनेछैन। यो सम्मेलनबाट नेपालको विद्यार्थी आन्दोलनको समेत नेतृत्व गर्न सक्ने जुझारु र सशक्त नेतृत्व निर्वाचित गरोस् जसले संगठनको विरासतलाई बचाउँदै अगाडि बढाउन सकोस्, इतिहासलाई न्याय गर्दै नयाँ उडान भर्न सकोस्।  यसका लागि सम्मेलनले संगठनभित्रका विभिन्न गुट, उपगुट अन्त्यको घोषणा गर्न सक्नुपर्छ।

रूपमा होइन सारमा एकताबद्ध र सुदृढ सशक्त संगठन निर्माणमा विशेष ध्यान दिन सक्नुपर्छ। त्यसका लागि हामीले अरू संगठन जस्तै नेतृत्व चयनमा भद्रगोल नगरी गलत प्रवृत्तिहरूलाई विस्थापित गर्दै राम्रो संस्कार बसाउने कुरामा जोड दिनसक्नुपर्छ। सम्मेलनले गलत प्रवृत्ति निस्तेज गरोस्।

नेताहरूको चोटा, कोठाबाट होइन विद्यार्थीले चुनेको, छानेको, बुझेको र रोजेको नेतृत्व चयन गर्न सक्नुपर्नेछ। निर्वाचन विधिद्वारा स्वस्थ प्रतिस्पर्धा गरी नेतृत्व छनोट गर्न सक्नुपर्नेछ।

आज संगठनभित्र उमेरहद आवश्यक छ कि छैन भन्ने कुराहरू व्यापक बहसमा छ। विद्यार्थी संगठन विद्यार्थी जस्तै हुनुपर्छ भन्ने कुरामा हामी स्पष्ट छौं। विद्यार्थीहरू स्वयंले आफ्नो नीति र नेतृत्व आफैं छनोट गरुन् भनेर पार्टीको गत विधान महाधिवेशनमा वैचारिक आबद्धता र संगठनात्मक स्वायत्तता प्रदान गरेको छ। तसर्थ विद्यार्थी संगठन कस्तो बनाउने र त्यसलाई कसरी विद्यार्थीको साझा संगठन बनाउने भन्ने विषयमा विद्यार्थी प्रतिनिधिले नै सार्वभौम अधिकार प्रयोग गरी बन्दसत्रबाट निर्णय लिनु सही हुन्छ। यसमा पार्टीको मुख ताक्नु जरूरी छैन। बेलगाम आफ्नो निर्णय आफैं लिन अखिल क्रान्तिकारी स्वतन्त्र छ।

पार्टीले अभिभावकत्व मात्र ग्रहण गरेको छ र पार्टी नेतृत्वको आशय रहेको छ कि विद्यार्थीले स्वस्थ प्रतिस्पर्धाद्वारा आफ्नो नीति र नेतृत्व छनोट गर्दै अहिलेको जल्दोबल्दो राजनीतिक र शैक्षिक एजेन्डा र मुद्दाहरूमा पार्टीले लिएका नीति र योजनाहरूलाई समातेर सिंगो राष्ट्र निर्माणको अभियानमा अग्रगमनको बाटोमा अखिल क्रान्तिकारी हिंडोस्।

मलाई विभिन्न माध्यमबाट विद्यार्थी साथीहरूले सोधिरहनुभएको छ। यस पटकको नेतृत्व छनोट कसलाई गर्ने, भोट कसलाई दिने, कस्तो व्यक्तिलाई दिने, कसरी दिने भनेर सोधिराख्नुभएको छ। तपाईंले दिएको अमूल्य मतले अखिल क्रान्तिकारीको इतिहास र गरिमालाई न्याय गरोस्, तपाईंहरूले दिएको मत शिशिरमा झरेको पत्करमा वसन्तले पालुवा फेरेको जस्तो होस्, तपाईंले दिएको मत गुटैगुटको अखिल क्रान्तिकारीलाई जुटाउने, जोड्ने माध्यम बनोस्।

तपाईंले दिएको अमूल्य मत संकीर्णताको ओखती होस्। तपाईंले दिएको मत अखिल क्रान्तिकारीलाई स्वतन्त्र विद्यार्थी युनियनमा देशको पहिलो संगठन बनाउने होस्। तपाईंले दिएको मत जनताको छोरोलाई होस्। तपाईंले दिएको अमूल्य मत र तपाईंले लिएको क्रान्तिकारीलाई गलत चिन्तनबाट सही चिन्तन, गलत प्रवृत्तिबाट सही प्रवृत्तिमा र गलत व्यक्तिको हातबाट सही व्यक्तिको हातमा ल्याउने ठाउँमा पुर्‍याओस्।

विद्यार्थीहरू भनेको ”स्यालको हुइयाँ होइन यो कुशल सिकारीको अचूक निशाना हो” भनेर लेनिनले भन्नुभए जस्तै विद्यार्थीको केवल भुलभुलैयामा काठमाडौं डुल्न आएका होइनन् र सशक्त संगठन र त्यसको नेतृत्व छनोट गर्न आएका हुन्।

साथीहरूलाई सर्वोच्च शिखरको देशबाट हामी आजको दिनमा पनि जनताका एजेण्डा र मुद्दाहरूलाई शिक्षा, स्वास्थ्य, रोजगार लगायत मुद्दाहरूमा राष्ट्रियताको पहरेदार जनजीविकामा जनताको आवाजको प्रतिनिधिको रूपमा सधैं राज्यलाई खबरदारी र दबाब दिने जुझारु संगठनको रूपमा तपाईंहरूले काम गर्नुहुनेछ, शुभकामना।

तामाङ अखिल (क्रान्तिकारी) का पूर्वअध्यक्ष हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?