+
+

रवि जोगाउन रास्वपामा निलो क्रान्ति

पार्टी सभापति रवि लामिछानेको रक्षार्थ गरिने आन्दोलन शालिन हुने भएकाले त्यसलाई निलो क्रान्ति भनिएको नेताहरु बताउँछन् ।

लिलु डुम्रे लिलु डुम्रे
२०८१ असोज १० गते १९:२२

१० असोज, काठमाडौं । ६ महिना लामो तयारीपछि भ्रमणमा निस्केका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरु चीन पुगेकै दिन नेपाल फर्कने निर्णय लिनु पर्‍यो। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा शनिबार मध्यरात चीन गएको १४ रास्वपा टोलीले सोमबार फर्किने गरी सन्देश पठाए ।

स्वदेश र विदेशमा रहने रास्वपा नेताकार्यकर्ताको मनस्थिति हलचल गराउने कारण बन्यो, पूर्वडीआइजी छबिलाल जोशी प्रक्राउ । संसदीय छानविन समितिको प्रतिवेदन अनुसार गोर्खा मिडियाका तत्कालीन सञ्चालक मध्येका जोशी गत ६ असोजमा पक्राउ परेका थिए ।

जोशीलाई प्रहरीले नियन्त्रणमा लिएपछि रास्वपा नेताकार्यकर्तामा अब आफ्नो पार्टी सभापति रवि लामिछानेलाई पनि पक्राउ गरिने डर देखियो । रवि लामिछाने पक्राउ पर्ने डरकै कारण राजधानीमा रहेका नेता–कार्यकर्तालाई केन्द्रीय कार्यालय उपस्थित हुन सर्कुलर गरियो । सर्कुलरकै कारण ६ असोजको राति बनस्थलीस्थित कार्यालयमा भीड लाग्यो ।

कार्यालयमा पुगेका कार्यकर्ताहरुका अनुसार सभापतिलाई पक्राउ पुर्जी जारी भएजस्तो गरी उपस्थित हुन सर्कुलर गरिएको थियो । यद्यपी पक्राउ पुर्जी जारी भएको थिएन ।

सभापति पक्राउ पर्ने चिन्ताले शुभेच्छुकहरु कार्यालयमा जम्मा हुनु स्वाभविक भएको सहप्रवक्ता प्रतिभा रावलले प्रतिक्रिया दिइन् । ‘त्यो दिन (आइतबार) धेरै जना आउनुभयो । भिडभाड पनि भयो,’ रावलले भनिन्, ‘मिडियामा सभापति पक्राउ पुर्जी जारी भएको भनेर समाचार देखेर चिन्तित भएर आउनुभयो ।’

एक नेताका अनुसार रवि लामिछाने पक्राउ परे प्रतिकारमा उत्रने तयारी थियो । त्यसैदिन पक्राउ गर्दा कसरी अगाडि बढ्ने भन्ने कुनै पूर्व योजना नभएकाले प्रतिवादको विकल्पमा जाने निष्कर्षमा नेताहरु पुगेको उनी बताउँछन् ।

‘पार्टीको एउटा शक्ति विदेशमा भएको हुँदा छलफल बैठक गर्ने अवस्था बनेन,’ ती नेता भन्छन्, ‘उहाँहरु भएको भए यदि पक्राउ गर्‍यो भने के गर्ने, पार्टी कसरी चलाउने सल्लाह गर्न सम्भव हुने थियो ।’ पार्टीले पूर्वतयारी गर्न नपाएकाले प्रहरी आए अबरोध गर्ने तयारी गरिएको थियो । तर रवि लामिछाने त्यसदिन प्रक्राउ नगर्ने संकेत पाएपछि केन्द्रीय कार्यालय आइपुगेकाहरु घर फर्किए ।

कार्यकर्ता र शुभेच्छुकहरुलाई घर फर्काए पनि शीर्ष नेताहरुलाई भने रवि लामिछानेले सँगै रात कटाउन आग्रह गरेका थिए । जस अनुसार उपसभापति डीपी अर्याल, कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, सहमहामन्त्री सुमना श्रेष्ठ लगायत नेताहरु त्यस राति लामिछाने सँगै बसे । लगातार छलफल भइरह्यो ।

‘सरकारी पक्षले कस्तो निर्णय लिन्छ, त्यसै अनुसानिर्णय लिने कुरा भएको थियो’, त्यसरात नेताहरुबीच जुटेको सहमति थियो । तर, तत्काल पक्राउको अनुमानविपरीत घटनाक्रम विकसित भयो । सोमबार चीनबाट फर्कने निर्णय लिएको टोली बिहीबार मात्र नेपाल आइपुग्यो ।

‘नेपालमा विकसित राजनीतिक घटनाक्रमले भ्रमणलाई छोट्याएर आएका छौं’, उपसभापति डा. स्वर्णिम वाग्लेले त्रिभुवन विमानस्थलमा भने । रवि पक्राउ पर्ने चिन्ताले नै यो टोलीले भ्रमण छोट्याएको हो ।

भ्रमणका आशिंक उद्देश्य पूर्तिगरी स्वदेश फर्कनु परेको नेताहरुले प्रतिक्रिया दिएका छन् । ‘पार्टीको सभापति भनेको व्यक्ति रवि लामिछाने मात्र होइन, संस्था हो । त्यो संस्था माथि प्रहार एउटा इगोका कारणले भइरहेको छ भने एकजुट भएर हामीले सामना गर्नुपर्दछ’, उपसभापति वाग्लेले भने ।

३१ भदौमा संसदीय छानविन समितिले प्रतिवेदन पेश गरे लगत्तै रास्वपाका नेताहरुले सभापतिलाई ‘क्लिन चिट’ पाएको प्रचार गरेका थिए । सहकारीबाट ल्याएको क्रममा सभापति चोखो रहेको दाबी गर्दै आएका छन् ।

गोर्खा मिडिया नेटवर्कमा प्रवन्ध निर्देशक हुँदा सभापति लामिछाने जवाफदेही हुनुपर्नेमा विषयलाई भने नकार्न सकेका छैनन् । सत्तापक्षले सानो अंशलाई लिएर सहकारी पिडितलाई अन्याय गर्न खाजेको कार्यवाहक प्रवक्ता मनिष झा बताउँछन् ।

‘८७ अर्ब चलखेल भइरहेको छ । ८७ अर्बमा कसैको मतलब छैन । रवि लामिछाने एमडी भएको बेला बेला २२ कि २३ करोड गएको छ,’ झा भन्छन्, ‘त्यसको १५ प्रतिशतको पछाडि सबै लागेको छ । ३-४ करोडको पछाडि लागेर त्यो ८७ अर्बको छोड्ने हो कि भन्ने हामीलाई आशंका छ ।’

सभापतिलाई पक्राउ गरिए त्यसको प्रतिवाद गर्ने र निलो क्रान्ति सुरु हुने नेताहरुले बताउँदै आएका छन् । रवि लामिछानेलाई जोगाउन गर्न लागिएको निलो क्रान्तिमा शालिन रुप हुने सांसद तोसिमा कार्की बताउँछिन् ।

‘क्रान्ति उग्र मात्रै हुन्न् । शालिन पनि हुन्छ । क्रान्ति रातो मात्रै हुन्न्, निलो पनि हुन्छ,’ उनले भनिन्, ‘क्रान्ति अब हामीले शालिन ढंगले बौद्धिक गर्छौं । हिंसाको बाटो नअपनाई शान्तिपूर्ण तरिकाले देशले समृद्धिको बाटो खोज्ने नै निलो क्रान्ति हो ।’

सभापति कारबाहीको भागिदार नहुने प्रतिवेदन आफू अनुकूल व्याख्या गरिररहेका रास्वपाका नेता कार्यकर्ता पछिल्लो समय भने प्रतिवेदनलाई दुई खण्डमा राख्नुपर्ने विचार राखेका छन् । गोर्खा मिडियामा सहकारीबाट रकम ल्याउने कार्य नभएको दाबी सहित यसलाई पहिलो खण्डका रुपमा राखेका छन् ।

प्रवन्ध निर्देशकका रुपमा रकम परिचालनलाई दोस्रो खण्डमा राख्नुपर्ने मत उनीहरुको छ । ‘पहिलो पाटो कसैले अब पनि बुझेको छैन भने कि त त्यसले राजनीति बुझेको छैन । कि त त्यसले कानुन बुझेको छैन,’ कार्यवाहक प्रवक्ता झा भन्छन् ।

प्रवन्ध निर्देशकका रुपमा गरिएको कार्यलाई ‘इगो’का रुपमा लिएर कारबाही प्रक्रिया गरे प्रतिवाद गरिने कार्यवाहक प्रवक्ता झा बताउँछन् । झा भन्छन्, ‘यदि त्यहाँ कुनै इर्ष्या , कुण्ठा, स्वार्थ, कुनै आफ्नो राजनीतिक भविष्य बचाउनका लागि इगो हुन्छ भने हामी खबरदार भनेर प्रतिकार गर्न तयार छौं ।’

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?