+
+

सहकारीको पैसा लगेर किन हुन्छ मिडियामा रजगज ?

सहकारीको रकम मिडियामा जानु नयाँ ‘ट्रेन्ड’ का रूपमा देखिएको बुझाइ मिडिया जानकारहरूको छ । यस्ता घटनाले विनायोजना मिडियामा लगानी हुने गरेको प्रष्ट पारेको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा. कुन्दन अर्यालको बुझाइ छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८१ असोज १० गते १९:३७

१० असोज, काठमाडौं । सहकारीको रकम अपचलन आरोपमा कृषि विकास बहुउदेश्यीय सहकारी संस्था अध्यक्ष तेजविक्रम थापा ६ महिनादेखि फरार थिए ।

गोकर्णेश्वर नगरपालिका–७ स्थित घर छाडेर उनी १९ पुस २०८० देखि बेपत्ता थिए । प्रहरी पक्राउबाट बच्न उनले घरमात्रै छाडेनन्, आफ्नो हुलिया नै परिवर्तन गरे र नाम पनि फेरे ।

प्रहरीको लामो निगरानीपछि थापा गोकर्णेश्वरमै फ्ल्याट भाडामा लिएर बसेकोसम्म सूचना काठमाडौं अपराध अनुसन्धान कार्यालयले पायो ।

सामान ओसार्ने भ्यानमा आफैं चालक बनेर हिँड्ने व्यक्ति तेजविक्रम हुन सक्ने प्रहरी अनुमान भए पनि पुष्टि भएको थिएन । तर, केही दिन गतिविधि नियालेपछि तेजविक्रम नै हुलिया परिवर्तन गरेर हिँड्ने गरेको पुष्टि भयो । अनि, ३२ जेठ २०८१ मा उनी फ्ल्याटबाटै पक्राउ परे ।

पक्राउ गर्न आएका प्रहरीलाई उनले आफू सहकारी ठगीमा फरार तेजविक्रम नभएको दाबी गरे । विश्वास दिलाउन प्रहरीलाई उनले पत्रकारको परिचयपत्र देखाए । उनको फोटो टाँस गरिएको परिचयपत्रमा लेखिएको थियो, नाम– राज ठकुरी । पद– म्यानेजिङ डाइरेक्टर, गोरखा टीभी ।

सहकारी ठगीमा मुछिएपछि राज ठकुरी बनेका तेजविक्रम ६ महिनासम्म यही शैलीमा लुक्दै हिँडे । पक्राउ पुर्जी जारी भएपछि उनी पत्रकारको आईडी कार्ड देखाएर सहजै विभिन्न अड्डासम्म पहुँच पुर्‍याउँथे ।आफूलाई राज ठकुरी बताउँदै चितवनमा गएर घरजग्गा कारोबार पनि गरे ।

तेजविक्रमलाई पक्राउ गरेका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले भनेका थिए, ‘मिडियाको कार्ड हतियार बनाएर उम्कने उनको प्रयास देखिन्छ ।’

एसएसपी भट्टराईको भनाइ पुष्टि गर्न उनीबाट बरामद कागजले समेत देखाएको थियो । गोरखा मिडियाका म्यानेजिङ डाइरेक्टरको कार्ड बोके पनि खासमा उनी गोरखा मिडियामा आबद्ध थिएनन् । उनी कृषि टेलिभिजनका अध्यक्ष थिए । तर, कृषि टेलिभिजनको परिचयपत्र बोक्दा परिचय खुलेर पक्राउ पर्न सक्ने भएकाले नाम परिवर्तन गरेर गोरखा मिडियाको कार्ड बोकेका थिए ।

उनै तेजविक्रमलाई २७ असारमा जिल्ला अदालत ललितपुरका न्यायाधीश धनिश्वर पौडेलको इजलासले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो । उनी अहिले ललितपुरकै नख्खु कारागारमा छन् ।

२०५६ सालमा स्थापना भएको कृषि विकास सहकारीको रकम तेजविक्रमले मिडियामा लगानी गरेका थिए । सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समिति प्रतिवेदनमा उल्लेख भए अनुसार थापाले सहकारीको ५ करोड ४९ लाख रुपैयाँ लगेर कृषि टेलिभिजन खोलेका थिए ।

२०७३ सालदेखि यो टेलिभिजन सञ्चालनमा आएको थियो । यो सहकारीमा २ हजार ५ सयभन्दा बढी बचतकर्ताको २ अर्ब ८२ करोड बढी रकम डुबेको छ ।

बचतकर्ताको रकम लगेर मिडिया खोलेका तेजविक्रम एक प्रतिनिधि पात्र मात्रै हुन् । थापा जस्तै शैलीमा सहकारीको रकम मिडियामा लगेर रजगज गर्ने प्रवृत्ति विभिन्न छानबिनले छर्लङ्‍ग पारेका छन् ।

यस्तै शैलीमा सहकारीको रकम ल्याएर गोरखा मिडिया सञ्चालन गरेको विषय पनि पुष्टि भएको छ । गितेन्द्रबाबु (जीबी) राईले आफू अध्यक्ष रहेका पाँच सहकारी (पोखराको सूर्यदर्शन, कालीमाटीको स्वर्णलक्ष्मी, चितवनको साहारा, वीरगञ्जको सानो पाइला र बुटवलको सुप्रिम) को रकम गोरखा मिडियामा प्रवाह भएको किटान संसदीय समितिले गरेको थियो ।

सहकारीको रकम गोरखा मिडियामा ल्याएको र त्यहाँ आएपछि भएको अपचलनबारे कारबाही गर्न भन्दै जीबीका साथै पूर्वडीआईजी छविलाल जोशी, ग्यालेक्सी टीभीका तत्कालीन प्रबन्ध निर्देशक तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र कुमार रम्तेललाई कारबाही गर्न सिफरिस समेत भएको थियो ।

उक्त सिफारिसपछि ६ असोजमा शंखमुलबाट पूर्वडीआईजी जोशी पक्राउ परेर अहिले कास्की प्रहरीको हिरासतमा छन् । २०७७ सालमा निकै ठूलो तामझाम सहित सञ्चालनमा आएको ग्यालेक्सी टीभीले बचतकर्ताको ठूलो रकम डुबायो ।

ग्यालेक्सी टीभी खोल्नुपूर्व जीबीले नागरिकखबर नामक अनलाइनमा लगानी गरेको प्रतिवेदनमा उल्लेख छ । उक्त अनलाइनले सोचे अनुसार गर्न नसकेको भन्दै जीबीले ‘चर्चित टेलिभिजन प्रस्तोता’ रविलाई साथ लिएका थिए ।

नागरिकखबरमा सहकारीको केही हिस्सा रकम डुबाएका जीबी रविको सहकार्यमा टेलिभिजन खोल्न पुगेपछि बचतकर्ताको ६५ करोड बढी रकम त्यहाँ डुब्यो ।

सहकारीको रकमबाट अनलाइन हुँदै टीभीसम्म आइपुग्दा जीबी, रवि, छविलाई दोषी किटान गर्दै कारबाही सिफारिस त भयो नै । तर, स्वाहा भएको बचतकर्ताको करोडौं रुपैयाँ उठ्ने छाँट अझै छैन ।

रकम अपचलन गर्नेलाई कारबाही हुने एउटा पाटो छ । तर, बचतकर्ताको डुबेको रकम उठ्न भने अझै समस्या देखिन्छ । ‘सहकारीको अर्बभन्दा बढी अपचलन गरेर अहिले पनि आनन्दले जेलमा बस्नेहरू छँदैछन् । मुख्य कुरा भनेको कारबाही सँगैसँगै बचतकर्ताको रकम कसरी फिर्ता गर्ने भन्नेबारे सरकारले सोच्नुपर्ने देखिन्छ,’ नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल भन्छन् ।

यसबाहेक सहकारीको रकम मिडियामा लगेर अपचलन गर्नेहरू अरू पनि छन् । केदारनाथ शर्मा अध्यक्ष रहेको शिवशिखर सहकारीले पनि उपकार मिडिया गु्रप प्रालिका नाममा ६ करोड २ लाख २७ हजार रुपैयाँ लगानी गरेको छ ।

यो कम्पनीमार्फत अर्थन्युज टेलिभिजन सञ्चालनमा आएको थियो । बचतकर्ताको ६ करोड बढी रकम डुबाएपछि यो टेलिभिजिन पनि पूर्णरूपमा बन्द छ ।

त्यस्तै क्यापिटल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले पनि द प्रेस अनलिमिटेड प्रालिमा ३ करोड ८३ लाख बढी रकम लगानी गरेको छ ।

यी मिडिया त अहिले पूर्णरूपमा बन्द नै भइसके । तर, अहिले सञ्चालनमै रहेका मिडियामा पनि सहकारीको रकम लगेर लगानी गरेको भेटिएको छ ।

८ असोजमा चितवन जिल्ला अदालतमा दर्ता भएको सहकारी ठगीको मुद्दाका मुख्य प्रतिवादी जीबी नै हुन् । उनीसहित १७ विरुद्ध साढे ३७ करोड मागदाबी गर्दै मुद्दा दायर भएको छ । मुख्य प्रतिवादी जीबीको सम्पत्ति समेत रोक्का गरिएको अभियोगपत्रमा उल्लेख छ ।

जीबीका नाममा रहेका सम्पत्ति रोक्का गरिएको विवरणमा एपीवान मिडियाको ८० हजार कित्ता सेयर समेत उल्लेख छ । जसबाट जीबीले नागरिकखबर र ग्यालेक्सी टीभीमात्रै होइन एपीवान टीभीमा समेत लगानी गरेको प्रष्ट हुन्छ ।

सूर्य थापा नेतृत्वको संसदीय समितिले यसबारे प्रष्ट उल्लेख गरेको छ । ‘न्युज २४ मा रवि लामिछानेको कार्यक्रम सिधा कुरा जबर्जस्त स्थापित र लोकप्रिय थियो । २०७३ चैतदेखि प्रसारण सुरु भएको एपीवान टेलिभिजनमा सुरुमा अन्नपूर्ण मिडिया नेटवर्ककका अध्यक्ष रामेश्वर थापासँग व्यावसायिक साझेदारीमा जीबी राई देखिएका थिए । राई एपीवान टीभीको कतारमा भएको एक कार्यक्रममा उपाध्यक्षको हैसियतमा भाग लिएका थिए । त्यतिबेलै काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट एपीवानमा कर्जासमेत प्रवाह भएको देखिन्छ । एपीवानमा कुरा नमिली सम्बन्धमा दरार आएपछि रविसँग सम्पर्कमा पुगेको देखिन्छ,’ प्रतिवेदनमा छ ।

सञ्चालनमै रहेको अर्को टेलिभिजन एभिन्युजमा पनि बचतकर्ताको रकम लगेर हालिएको छ । ललितपुरको श्री लालीगुराँस सहकारीको ६ करोड ८९ लाख ३ हजार रुपैयाँ एभिन्युज टेलिभिजनका नाममा कर्जा दिइएको प्रतिवेदनले औंल्याएको छ । सहकारीको रकम मिडियामा कर्जा प्रवाह गर्नु नै गैरकानुनी मानिन्छ ।

यसको मुख्य भूमिकामा लालीगुराँसकै सचिव एवं प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी छन् । २०५६ सालमा स्थापना भएको यो सहकारीबाट एभिन्युजका साथै पेज टु प्रिन्ट मिडिया प्रालिमा २१ करोड ४० लाख १७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

मिडियामा कर्जा जानु नै गैरकानुनी भए पनि उनीहरूका हकमा समितिले कुनै ठोस निर्णय गरेको देखिँदैन ।

त्यसैगरी पाेखराकाे मित्रमिलन सहकारीकाे पैसा पनि मिडियामा लगेर अपचलन भएकाे पाइएकाे छ । मित्रमिलन सहकारीका अध्यक्ष रमण पाैडेल, सहकारीका सल्लाहकार अर्जुन गिरी सम्पादक र सहकारीका उपाध्यक्ष विजय लम्साल सञ्चालक बनेर ताण्डव न्युजमा लगानी गरेका छन् ।

उनीहरूले बचतकर्ताकाे करिब ६५ लाख ८३ हजार रूपैयाँ ताण्डव न्युजमा लगानी गरेर पछि फर्जी कर्जा खाता प्रयाेग मिलान गरेकाे वित्तीय प्रतिवेदनले देखाएकाे छ । मिडिया सञ्चालन गरेका मित्रमिलन सहकारीका अध्यक्ष पाैडेल र सल्लाहकार अर्जुन गिरी अहिले पुर्पक्षका लागि थुनामा छन् भने उपाध्यक्ष लम्साल फरार छन् ।

सहकारीको रकम मिडियामा जानु नयाँ ‘ट्रेन्ड’ का रूपमा देखिएको बुझाइ मिडिया जानकारहरूको छ । यस्ता घटनाले विनायोजना मिडियामा लगानी हुने गरेको प्रष्ट पारेको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा. कुन्दन अर्यालको बुझाइ छ ।

आयस्रोत अध्ययन, यसको उद्यमशीलता वा स्वावलम्बीबारे जानकारी नै नलिई मिडिया खोल्दा अहिलेको परिणाम आएको उनी बताउँछन् ।

‘बदमासी लुकाउन मिडिया प्रयोग गरेको देखिन्छ’

सहकारी ठगीमा संलग्न हुनेले मिडियामा लगानी गर्नुको मुख्य उद्देश्य नै बदमासी लुकाउने प्रयास रहेको जानकारहरू बताउँछन् । यसलाई लगानी र सञ्चालक गरी दुई कोणबाट बुझ्नुपर्ने पूर्वडीआईजी मल्लको भनाइ छ ।

उनका अनुसार पहिला केही लगानी गर्ने गरेको देखिन्छ । तर, केही लगानी गरेकै भरमा उक्त मिडिया आफू अनकूल प्रयोग गर्न नसक्ने भएपछि आफैं सञ्चालक हुने प्रवृत्ति यो सहकारी ठगी प्रकरणबाट देखिएको उनी बताउँछन् ।

उनले भनेजस्तै सहकारीको रकम अपचलन गरेपछि जीबीले नै सुरुमा एपीवान टीभीमा लगानी गरेका थिए । त्यसपछि उनी आफैंले नागरिकखबर नामक अनलाइन खोले । उक्त अनलाइन पनि प्रभावकारी नभएपछि टेलिभिजनमा हात हालेका थिए ।

उता, लालीगुराँसका सुरेन्द्र भण्डारीले पनि यही शैली अपनाएको देखिन्छ । लालीगुराँसबाट पनि एभिन्युजमा लगानी गरिएको थियो ।

उनी भन्छन्, ‘सहकारी अपचलनमा मुछिएकाले यस्तो बेलामा मिडियामा लगानी गरेको देखिन्छ, जबकि त्यतिबेला स्थापित मिडियाहरू नै धराशायी बन्ने अवस्था थियो । यसबाट के प्रष्ट हुन्छ भने मिडिया मार्फत अपराधको जालो लुकाउन सकियोस् र कानुनी उन्मुक्ति मिलोस् ।’

सहकारी संकट
लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?