+
+

बेलहियाबाट ८ महिनामा भित्रिए तेस्रो मुलुकका ५३ हजार पर्यटक

टोपराज शर्मा टोपराज शर्मा
२०८१ असोज ११ गते ७:३३

११ असोज, बुटवल । स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकाबाट पछिल्लो ८ महिनामा ५२ हजार बढी पर्यटक भित्रिउका छन् ।

सन् २०२४ को जनवरीदेखि अगष्टसम्म ५२ हजार ४ सय ५२ जना पर्यटक आएका छन् । सबै भन्दा बढी मार्च महिनामा १७ हजार २१४ जना पर्यटक नेपाल भित्रिएको देखिन्छ ।

सबैभन्दा बढी श्रीलंकाका १४ हजार ८४८ जना छन । थाइल्याण्डका पर्यटक १२ हजार ५२० जना आएका छन् । म्यानमारको ८ हजार १४, भियतनामको ३ हजार ६८६, साउथ कोरियाको २ हजार २९९ जना रहेका छन् ।

मुख्यतया बौद्ध धर्मावलम्बी मुलुकका पर्यटकहरुको संख्या गत वर्ष यो अवधिमा आएका पर्यटकभन्दा धेरै हो । सन् २०२३ मा यो नाकाबाट ८१ हजार ५५१ जना विभिन्न देशबाट आएका थिए भने ७८ हजार ४२३ जना प्रस्थान गरेको अध्यागमन कार्यालयका प्रमुख नारायण प्रसाद पाण्डेले बताए ।

बेलहियामा १५ वर्ष देखि सेप्टेम्बर २७ का दिन पर्यटन सम्बन्धि विभिन्न गतिबिधि गरेर यो दिवस मनाउने गरिएको छ । सन् १९९७ को संयुक्त राष्ट्रसंघीय अवधारणा बनेपछि सन् १९८० देखि सेप्टेम्बर २७ का दिन विश्वभर विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाउन थालिएको हो ।

हरेक वर्ष विश्व पर्यटन दिवसको अवसरमा सिमानाकामा पर्यटकलाई स्वागत गरेर पर्यटन दिवस मनाइने गरिन्छ ।

अस्तव्यस्त पूर्वाधार

स्थलमार्ग भई नेपालकै सबै भन्दा बढी पर्यटक भित्रिने नाका बेलहिया भएपनि यहाँको पूर्वाधार भने अस्तव्यस्त र शून्य सरह छ ।

पर्यटकको स्वागत बिन्दु नै अस्तव्यस्त हुँदा पर्यटकहरुमा सकारात्मक छाप पर्न नसकेको स्थानीय रामबहादुर बस्नेत बताउँछन् । ‘सडक पूर्वाधार, प्रवेशद्वार अलपत्र छाडिएको छ, पर्यटक सूचना केन्द्र पर्यटक प्रहरीको भरमा छाडिएको छ, पार्किङ अभाव एकातिर छ भने अध्यागमन, स्वास्थ्य परीक्षण, भन्सार, रुट पर्मिटका लागि पर्यटकहरु कागज बोकी ठाउँ ठाउ भौतारिनु पर्ने बाध्यता छ,’ उनले भने ।

सीमामा २४ घण्टै सेवा दिनुपर्ने ठाउमा दुवै देशको समन्वय हुनु पर्ने ठाउँमा बिहान ६ बजेदेखि राति १० बजेसम्म मात्रै सेवा दिइने गरिन्छ । सीमा क्षेत्रमा गरिएको अव्यवस्थित पार्किङले सधैं कोलाहल मच्चिएको हुन्छ भने हिलाम्मे र धुलाम्मे सडकले पैदल यात्रुलाई जोखिम नै छ ।

नारा र भाषणमा हरेक वर्ष एकद्वार प्रणालीमा लैजाने कुरा चलेपनि दिवसको दिन मात्रै चर्चा हुने गरेको छ त्यसपछि सेलाउँछ । जसोतसो पर्यटक सिमाबाट पार भए पनि सुरक्षाको नाममा सुरक्षाकर्मीहरुले विभिन्न बहानामा दु:ख दिन भने अहिले रुपन्देहीको हकमा छाडेका छन ।

जिल्ला प्रशासन कार्यालयको अगुवाइमा पर्यटकका लागि सीमामै एकीकृत जाँच पोस्ट गरेसँगै जिल्लाको हकमा केही सुधारको अनुभुत भएको छ ।

२०६२ सालमा आएको ५ जनाको दरबन्दीबाट आएको पर्यटक प्रहरीले सिमामा पर्यटक सूचना केन्द्र धानेको छ । नाम मात्रको सूचना केन्द्रमा कर्मचारी र आवश्यक पूर्वाधार नहुँदा पर्यटकले सास्ती भोगिरहेका हुन्छन् ।

सूचना केन्द्रको अवस्था यति नाजुक छ कि पर्यटकहरु पनि सूचनाको लागि यताउता भौतरि रहेका हुन्छन् । गौतमबुद्धको जन्मस्थल, विश्वभरका बौद्धमार्गीहरुको आस्थाको केन्द्र लुम्बिनी शान्तिका लागि आउनेहरुलाई सिमानाको अलपत्र र हिलाम्मे सडक, गेटको फलामे जंजाल, बिग्रिएका सवारी साधन, र पुरानो गेटले नेपालको पर्यटनलाई गिज्याइरहेको छ ।

नेपाल प्रवेश गर्ने ढोकैमा देखिने यस्ता दृष्यले उत्साह बोकेर नेपाल घुम्न आउने पर्यटकको मन खिन्न हुने गरेको छ । नाका व्यवस्थित गर्न भने कसैको ठोस योजना देखिंदैन् ।

पर्यटकको बसाइ बढाउँदै अत्यधिक पर्यटक भित्रयाउन सहजता हुने किसिमको सूचना केन्द्रबाट हुनुपर्नेमा छैन, पर्यटकहरु सूचनाको लागि यताउता भौतरि रहेका हुन्छन् ।

नेपाल प्रवेश गर्ने वित्तिकै पर्यटकलाई हामी नेपाल प्रवेश गर्दैछौं भन्ने जानकारी पाउनका लागि पर्यटक सूचना केन्द्रमा केहिबेर विश्राम गर्ने, सुचना बोर्ड हेर्ने र नेपालका ऐतिहासिक धार्मिक पर्यटकीय गन्तव्यको बारेमा जानकारी दिने कुनै व्यवस्था नहुँदा पर्यटक अन्योलमा पर्ने गर्छन् ।

स्थानीय गाइड भए पर्यटकले लुम्बिनी र यससँग सम्बन्धित तिलौराकोट, देवदह, रामग्राम, रोहिणी जस्ता पवित्र भूमिको विषयमा जानकारी पाई मनसाय परिवर्तन गरी एक दुई घण्टाको साटो केही दिन विताएर जाने वातावरण बन्न सक्छ ।

नेपाल भारत सीमा नाका बेलहियामा नेपाल प्रवेश गर्ने नाका नै अस्तव्यस्त छ । सिद्धार्थनगर नगरपालिकाले बनाउन लागिएको प्रवेशद्वार अलपत्र छाडिएको छ भने महिनौ दिन देखि मुख्यद्वारमै जेसिबी राखिएको छ ।

महिनौदेखि राखिएको जेसिभीमा घास उम्रेर पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन । सीमामा निर्माणाधीन अवस्थामा रहेको अलपत्र गेटले नेपाललाई नै लज्जित बनाएको छ ।

खिया लागेका फलामको फाउण्डेशन तयार गरेर बाँकी काम यतिकै छोड्दा पर्यटकलाई स्वागत गर्न सिद्धार्थनगर पालिकाले निर्माण गर्न लागेको गेटले नेपाललाई कुरुप चित्रण गरेको जस्तो लाग्छ ।

सिद्धार्थनगरलाई हरियाली, हराभरा, फुलैफुलको नगर भनेर चिनाउने नगर प्रमुख ईश्तियाक अहमद खानको सपनालाई समय थप गर्दा पनि निर्माण सम्पन्न नभएको यो अपुरो गेटले गिज्याइरहेको छ ।

लक्ष्मी निर्माण कम्पनीले एक करोड ६५ लाखमा ठेक्का सम्झौता गरेपनि म्याद थप गर्दै लड्एको छ । प्रवेशद्धार जस्तो नेपालको गरीमा जोडिएको सिमामा समयमा काम सम्पन्न गर्न नसक्ने ठेकेदार कम्पनीलाई नगरपालिकाले म्याद थप गर्दै गएको छ ।

यस्तै निर्माण सुरु भएको आठ वर्षसम्म काम सम्पन्न गर्न नसकेको बुटवल वेलहिया सडकखण्ड अन्तर्गत वेलहियाको यो फोहोर र हिलाम्मे सडकले गिज्याईरहेको अवस्थाले पर्यटकलाई नेपालप्रतिको नकारात्मक धारणा बनाउन सहयोग गरिरहेको छ । जसका कारण उनीहरु छिटो भन्दा छिटो लुम्बिनी पुगेर फर्किन चाहन्छन् ।

पटक-पटक ताकेता गर्दापनि काम गर्न नसकेर कालो सूचीमा परेको ठेकेदार कम्पनीले बिग्रिएको जेसिबी ५ महिनादेखि नेपाल प्रवेश गर्ने नाकामै ठडाएर राखेको छ । तर, यसलाई त्यहाँबाट हटाउन तर्फ कुनै निकायको ध्यान गएको छैन् ।

सडक विस्तारका क्रममा भत्काइएको अध्यागमन कार्यालय सम्पन्न नहुँदा करिब एक किलोमिटर टाढा रहेको अध्यागमन कार्यालय खोज्दा खोज्दै पर्यटक थाकिसकेका हुन्छन्ज, सका कारण पर्यटकले हैरानी महसुस गरेको पाइन्छ ।

पर्यटकले शान्त, रमणिय र सुन्दर वातावरण, पारिवारिक आतिथ्यता चाहेको हुन्छ तर नेपाल प्रवेश गरेदेखि लुम्बिनी पुग्दा सम्मको सडकको दुर्दशा, सडकको दायांवायां देखिने कवाड, वर्षौंसम्म अलपत्र पूर्वाधार, फोहोर डम्पिङ साइडको दुर्गन्ध आदि कारणले पर्यटकको मानसपटलमा नेपालप्रति नैराश्यता देखिने गरेको छ ।

अव्यवस्थित सडकका कारण सवारी दुर्घटना, अशुरक्षित हवाई यात्रा जस्ता विषयमा सरकार गम्भिर बन्न नसक्दा नेपालले पर्यटनको ठुलो अवसर गुमाईरहेको अवस्था छ ।

पुरानै शैलीमा पर्यटन विकास गर्न खोजिएको र पर्यटकहरुलाई गर्ने व्यवहार पनि राम्रो नभएकोले सम्साय भएको बताउँछन् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य भिष्म न्यौपाने ।

‘पर्यटकलाई शुन्य विन्दुमै एकद्वार प्रणलीबाट भन्सार, अध्यागमन, रुट प्रर्मिट, स्वास्थ्य चेकजाँच, सुरक्षा चेकजाँच लगायतका फरक-फरक प्रक्रिया गर्न फरक-फरक ठाँउमा जानु पर्ने बाध्यता हट्नु पर्छ,’ उनले भने ।

स्थलमार्ग भई आउने भारतीय पर्यटकहरुले पाइलैपिच्छे समस्या भोग्नु परेको बताउँछन् । हामीले समस्या समाधानका लगि सम्बन्धित ठाउँ र केन्द्रसम्म पहल गरेपनि समाधान भएको छैन ।

नेपाल आउने प्रत्येक पर्यटक कुनै न कुनै माध्यमबाट समस्या र ठगीमा पर्ने गरेका छन । पर्यटकसँगै आएको भारतीय गाइडकै भरमा पर्यटकहरुले नेपाल सम्बन्धि जानकारी लिने गरेका छन ।

सीमा प्रवेश गर्न साथ पार्किङको समस्यादेखि लिएर बिचौलियाहरुले भन्सार बिन्दुमै पर्यटकहरुलाई खिन्न बनाउने गरेको स्थानीय व्यवसायीहरुको भनाइ छ ।

भन्सार अगाडि रहेको पार्किङ क्षेत्र सीमित अवधि र प्रक्रियाका लागि पार्किङ थलो भए पनि दिनभर गाडीहरु बस्दा ट्राफिक जामले आवगमनमा समस्या भई सबैले सास्ती भोग्नु परेको छ ।

समृद्ध लुम्बिनीका लागि पर्यटन क्षेत्र महत्वपूर्ण आधार स्तम्भ : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्ध लुम्बिनीः आत्मनिर्भर प्रदेशको दीर्घकालिन लक्ष्य पुरा गर्न पर्यटन क्षेत्र महत्वपूर्ण आधार स्तम्भ भएको बताएका छन ।

विश्व पर्यटन दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले ‘घुमौं लुम्बिनी’ भन्ने मान्यता प्रदेश सरकारले स्थापीत गर्न खोजेको बताएका हुन ।

लुम्बिनी प्रदेश सरकारले ४५ औं विश्व पर्यटन दिवस दाङको घोराहीमा भव्य कार्यक्रमको आयोजना गरेर मनाउँदै छ । ‘पर्यटन, न्याय र शान्ति’ भन्ने नाराका साथ यस वर्ष पर्यटन दिवस मनाउन थालिएको हो ।

‘पर्यटनबाटै नागरिकलाई स्वरोजगार बनाउन सकिन्छ । त्यसैले नागरिकको जीवनस्तर उठाउने एउटा आधारको रुपमा प्रदेश सरकारले पर्यटन क्षेत्रलाई लिएको छ,’ शुभकामना सन्देशमा भनिएको छ,‘स्थानीय उत्पादन बढाउने, त्यसमा नागरिकलाई जोड्ने र पर्यटनसँग केन्द्रित गरेर आयआर्जनका अवसरहरु सिर्जना गर्न सरकार पूर्ण प्रतिबद्ध छ ।’

लुम्बिनी भ्रमणमा आउने पर्यटकहरुलाई १२ जिल्लाका महत्वपूर्ण पर्यटकीय स्थलमा पुर्‍याउन लुम्बिनी पर्यटन सर्किट बनाउनेगरी सरकारले काम थालेको मुख्यमन्त्री आचार्यको भनाइ छ ।

लुम्बिनी प्रदेशमा पर्वतीय पर्यटन, साहसिक तथा मनोरञ्जनात्मक पर्यटन, सामाजिक\सांस्कृतिक पर्यटन तथा पर्यापर्यटनको माध्यमबाट संरक्षण, विकास र प्रवर्धन गर्नसक्ने थुप्रै सम्भवनाहरु रहेको मुख्यमन्त्री आचार्यले बताए।

विश्वभरीका पर्यटक, पर्यटन व्यवसायीहरु, सरोकारवाला तथा आम पर्यटनप्रेमी महानुभावहरुमा मुख्यमन्त्री आचार्यले शुभकामना व्यक्त गरे ।

सेप्टेम्बर २७ अर्थात् विश्व पर्यटन दिवसको अवसरमा विश्वव्यापी आवागमनलाई सहज, सरल तथा पहुँचयोग्य बनाउने उद्देश्य राखेर संयुक्त राष्ट्र संघीय विश्व पर्यटन संगठनको आह्वानमा हरेक वर्ष विश्व पर्यटन दिवस संसारभर विभिन्न कार्यक्रम गरेर मनाइँदै आएको छ ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?