+

अनुहारको चायापोतो पूरै हटाउन सकिन्छ ? (भिडियो)

२०८१ असोज  १४ गते १७:३७ २०८१ असोज १४ गते १७:३७
अनुहारको चायापोतो पूरै हटाउन सकिन्छ ? (भिडियो)

कस्तो व्यक्तिलाई छालाको कस्तो समस्या देखिन्छ भन्ने कुरा व्यक्ति कुन ठाउँमा बसेको छ । त्यसमा भर पर्छ । नेपालमा डण्डीफोर, चाउरीपना, चायापोतो, कपाल झर्ने समस्या साझा रूपमा देखिन्छ । त्यसमा पनि उमेर बढेपछि सबैभन्दा बढी देखा पर्ने समस्या र उपचारले पनि पूर्ण रूपमा निको पार्न नसक्ने समस्या हो, चायापोतोको समस्या ।

के कस्ता कारणले यी समस्या आउँछन् ?

यी समस्या देखिनुमा वातावरण, वंशाणुगत र हर्मोनल प्रभाव देख्न सकिन्छ ।

हर्मोनमा परिवर्तन 

किशोराकिशोरीमा किशोरावस्थामा पुगेपछि डन्डीफोर आउन सुरु भई २५ वर्षको उमेरसम्म पुग्दा आफैं हराउँदै जान्छ । त्यसपछि पुरुष र महिलामा हर्मोनल परिवर्तन भएसँगै फरक-फरक लक्षण देखा पर्छन् । पुरुषमा प्रोजेस्टोरोनको हर्मोनस्तर बढेर कपाल झर्ने समस्या देखा पर्छ भने महिलामा भने इस्ट्रोजेन हर्मोन बढेर लक्षणको रूपमा चायापोतो देखिन्छ । र, रजोनिवृत्तिपछि हराउन थाल्छ । यसो भन्दैमा पुरुषमा चायापोतो देखिंदैन भन्ने होइन । तुलनात्मक रुपमा महिलामा यो समस्या बढी देखिन्छ ।

सूर्यको प्रकाश र निलो प्रकाश

छालालाई रङ दिने मेलानोसाइट कोषिकाहरु बढेपछि अनुहारको रङ गाढा भई चायापोतो बढाउँछ । मेलानोसाइट कोषिकाहरु बढाउने काम सूर्यको परावैजनी किरणले गर्न सक्छ ।

घाममा लामो समयसम्म दिनहुँ बस्ने तर छालालाई सुरक्षा दिने सनस्क्रिन पटक्कै लगाउने बानी छैन भने अनुहारमा चायापोतो आउने जोखिम हुन्छ ।

त्यस्तै, ल्यापटप, एलईडी लाइट, मोबाइल र कोठाका बत्तीहरूबाट निस्कने ब्लु लाइटले पनि अनुहारको गाला र निधारमा चायापोतो आउन सक्छ ।

गुणस्तरहीन कस्मेटिक उत्पादन

अहिले अनधिकृत सौन्दर्य प्रसाधन बजारमा छ्यापछयाप्ती पाइन्छ । जसमा एलईडी र मर्करी जस्तो छालालाई हानि गर्ने तत्व हुन्छ । जसले छालालाई सुन्नाउने र त्यसमा असर गरी चायापोतो आउन सक्छ ।

थाराइड हर्मोन

हाइपो थाइराइड गराउने हर्मोनले छालामा मेलानोसाइटका कोषिकाहरु बढाउन मद्दत गर्छ । जसले चायापोतो बढी देखा पर्छ ।

त्यस्तै, चायापोतो आउनुको कारण बाबुआमामा यो समस्या भए सन्तानमा पनि आउन सक्छ ।

चायापोतोलाई निको पार्न सकिन्छ ?

चायापोतोलाई शतप्रतिशत निको पार्न सकिंदैन । यदि कुनै उत्पादन प्रयोग गरेको केही दिनमै हटेर पहिलाकै अवस्थामा आउँछ भनेर भनिएको छ भने त्यो गलत हो । बरु, त्यस्ता उत्पादनले बिस्तारै छाला पातलो गराई भित्रको नसा समेत देखिने, चिया, कफी खाँदा वा एकछिन घाममा निस्कँदा पनि छाला रातो हुने र कहिले पनि पहिलाको अवस्थामा नफर्किने क्षति अनुहारमा देखा पर्न सक्छ ।

उपचार

थोरै मात्र चायापोतो छ वा सुरुवातको अवस्थामा छ भने राम्रोसँग दैनिक छालामा मोइस्चराइजर, सनस्क्रिन लगाउने र समग्र छालाको हेरचाह गरेमा मात्र केही रोकथाम गर्न सकिन्छ ।

त्यस्तै, चिकित्सकको परामर्शमा स्टोरोयड रहित केही क्रिम र औषधि प्रयोग गर्न सकिन्छ । यी उत्पादनको प्रयोग गर्ने पनि सीमित समय हुन्छ । त्यसैले कति मात्रामा कस्तो उत्पादन र कति समयसम्म लगाउने भन्ने कुरा चिकित्सकको परामर्शमा मात्र प्रयोग गर्नुपर्छ ।

खाने औषधि

टार्नाजेनिक नामक औषधिले मेलानोसाइटको स्तरलाई दबाउने हुँदा यो खाने औषधि खान चिकित्सकको परामर्शमा खान सकिन्छ । तर रगतको पातलो पार्ने औषधि, अनियन्त्रित रक्तचाप भएकाहरूले पनि यो औषधि खानुअघि चिकित्सकको परामर्श आवश्यक छ ।

केमिकल पिलको प्रयोग

चायापोतो हटाउने केमिकल पिलको पनि प्रयोग हुन्छ । यसको प्रयोगले पनि चायापोतोको रोकथाम गर्न सकिन्छ । तर यसमा पनि गाइकोलिक एसिड, सालिसालिक एसिड जस्ता पिल उपयुक्त हुन्छ ।

सही ढंगले कस्तो पिल कति मात्रामा प्रयोग गर्ने भन्ने हेक्का राख्नु महत्त्वपूर्ण छ । त्यसैले चिकित्सकको निगरानीमा मेडिकल पिल प्रयोग गर्न उचित हुन्छ । यसरी गर्दा पनि चायापोतो हटेन भने केही इन्जेक्सन पनि उपलब्ध छन् ।

लेजरको प्रयोगले चायापोतो जाँदैन

धेरैजसोले चायापोतो हटाउन लेजर प्रविधि प्रयोग गरेको देखिन्छ । लेजरले चायापोतो हट्दैन । जुनसुकै ब्रान्ड र गुणस्तरको मेसिनले चायापोतो हटाउन सक्दैन । लेजर गरेर चाया पोतो केही समयका लागि हटेको जस्तो देखिए पनि पुन: आउन सक्छ ।

चायापोतो छालारोग डा. रूपक घिमिरे
डा. रुपक विक घिमिरे
लेखक
डा. रुपक विक घिमिरे
छाला तथा यौनरोग विशेषज्ञ

डा. घिमिरे हाल काठमाडौं दरबारमार्गस्थित आवरण स्किन क्लिनिकका सञ्चालक हुन् । उनले डर्माटोलोजीमा एमडी गरेका छन् । कपाल प्रत्यारोपणका पनि विशेषज्ञ  काठमाडौं मेडिकल कलेजका पूर्वसहायक प्राध्यापक समेत हुन् । उनी नेपाल सोसाइटी अफ हेयर सर्जनका सचिव हुन् । डा. घिमिरेको मेडिकल काउन्सिल दर्ता नम्बर ७९०२ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हड्डीको अवस्था पत्ता लगाउने डेक्सा स्क्यान कसरी गरिन्छ ?

हड्डीको अवस्था पत्ता लगाउने डेक्सा स्क्यान कसरी गरिन्छ ?

तपाईं मनलाई माया गर्नुहुन्छ कि मुटुलाई ?

तपाईं मनलाई माया गर्नुहुन्छ कि मुटुलाई ?

बालबालिकालाई कब्जियत हुनबाट कसरी बचाउने ?

बालबालिकालाई कब्जियत हुनबाट कसरी बचाउने ?

प्रत्येक दम्पतीले जान्नुपर्छ गर्भ निरोधकका यी ५ कुरा

प्रत्येक दम्पतीले जान्नुपर्छ गर्भ निरोधकका यी ५ कुरा

गर्भावस्थाको लक्षण नदेखिनु गर्भपातको संकेत हो ?

गर्भावस्थाको लक्षण नदेखिनु गर्भपातको संकेत हो ?

सनस्क्रिन किन लगाउने ?

सनस्क्रिन किन लगाउने ?