+
+

म्याग्दीको पदमार्गका योजना अधुरा

रासस रासस
२०८१ असोज ११ गते १६:२७
फाइल फोटो ।

११ असोज, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको बेंसीगाउँदेखि नारच्याङ झरना पुग्न करिब एक किलोमिटर उकालो पैदलयात्रा गर्नुपर्छ ।

गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयले आर्थिक वर्ष २०७९/८० मा विनियोजन गरेको बजेटबाट पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको सहयोगमा नारच्याङवेशीदेखि झरनातर्फ जाने एक सय ५० मिटर पदमार्ग निर्माण भएको थियो ।

पछिल्लो दुई आर्थिक वर्षमा बजेट बिनियोजन नभएकाले पदमार्ग निर्माणको काम अधुरो बनेको उपभोक्ता समितिका अध्यक्ष चन्द्रप्रकाश फगामीले बताए । ‘१० लाख बजेट विनियोजन भएका आधारमा दुई वर्षअघि डेढ सय मिटर मात्र पदमार्ग बनाएका थियौ’, उनले भने, ‘थप सात सय ५० मिटर पदमार्ग बनाउनुपर्ने छ । लगातार दुई वर्ष बजेट विनियोजन नभएकाले सुरु भएको योजना अलपत्र परेको छ ।’

नारच्याङ झरना जोड्ने पदमार्ग बजेटले निरन्तरता नपाएर अधुरो भएका म्याग्दीका पदमार्ग निर्माण सम्बन्धी योजनाको एउटा उदाहरण मात्र हो । गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयले शुरु गरेका म्याग्दीका अधिकांश योजना योजना बजेट अभावमा अधुरा बनेका हुन् ।

उद्योग तथा पर्यटन कार्यालय म्याग्दीका प्रमुख पोषनाथ शर्माका अनुसार आर्थिक वर्ष २०८०/८१ मा शुरु भएका १८ वटा पदमार्ग सम्बन्धी योजना मध्य चार वटा मात्र सम्पन्न भएका थिए । ‘गत वर्ष शुरु भएको कालीबराह पदमार्ग बाहेकका योजनाले यो वर्ष निरन्तरता पाएका छैनन,’ उनले भने, ‘गन्तव्यसम्म पुग्ने गरि एकै वर्ष बजेट नआउने र अर्को वर्ष निरन्तरता नपाउँदा अधुरो भएको हो ।’

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले योजना छनोट र बजेट विनियोजन गर्ने क्रममा भएको त्रुटिका कारण पदमार्गका योजना अधुरा भएको बताए । स्थानीय तह, जनप्रतिनिधि, सम्बद्ध कार्यालय र सरोकारवालाहरुले योजनाको प्राथमिकीकरण गरेर सिफारिस गर्ने पद्दतिको विकास नगर्दा आवश्यकता भन्दा पनि पहुँचको भरमा योजनामा बजेट विनियोजन हुने समस्या देखिएको बताए ।

अधुरा योजनाबाट नागरिकले लाभ लिन नसक्ने भएकाले निर्माणाधीन कामका लागि बजेटको निरन्तरता आवश्यक पर्ने सरोकारवाला बताउँछन् । प्रशस्त पर्यटकीय स्थल भएपनि गण्डकी प्रदेशका अन्य जिल्लाको तुलनामा म्याग्दीमा कम बजेट विनियोजन भएको म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेश शाक्यले बताए ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा गण्डकीका अन्य जिल्लामा दुई करोड ८० लाखदेखि पाँच करोड रुपैयाँसम्मका पर्यटन पूर्वाधार सम्बन्धी योजनाका लागि बजेट विनियोजन गरेको थियो । तर म्याग्दीमा १० वटा योजनाका लागि एक करोड २० लाखमात्र आएको उनले गुनासो गरे ।

म्याग्दीमा प्रदेश सरकारले पर्यटन सम्बन्धी योजनाका लागि आर्थिक वर्ष २०७८/७९ मा आठ वटा योजनालाई २० लाख, आर्थिक वर्ष २०७९/८० मा २१ योजनालाई एक करोड ९२ लाख, आर्थिक वर्ष २०८०/८१ मा १८ योजनालाई एक करोड ५६ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनले योजना माग, प्राथमिकीकरण र बजेट बिनियोजन गर्ने पद्धतिमा सुधार गर्नुपर्ने बताए । स्थानीय तह, निजी क्षेत्र र उपभोक्ताहरुले सम्बद्ध कार्यालय र जनप्रतिनिधीहरुसँग समन्वय गरेर योजना माग गरेमा पदमार्ग निर्माण सम्बन्धी योजनामा देखिएको समस्या समाधान गर्न सकिने बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?