+
+

अविरल वर्षाले मुख्य राजमार्ग अवरुद्ध, हवाई यात्रा भद्रगोल

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ११ गते १७:३२

११ असोज, काठमाडौं । अविरल वर्षाका कारण देशभरका मुख्यराज मार्ग अवरुद्ध भएका छन् ।

सडक विभागका अनुसार अहिले चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक सडक खण्डको चतरा पुलदेखि बराह क्षेत्रसम्म जाने सडक अवरुद्ध रहेको छ । यो तमोर करिडोर अन्तर्गतको सडक हो ।

यसैगरी पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक अन्तर्गत नागढुंगा र पृथ्वी राजमार्गकै धादिङस्थित ७ किलो भन्ने स्थानमा सडक अवरुद्ध छ ।

पृथ्वी राजमार्गअन्तर्गत विभिन्न स्थानमा पहिरो जाँदा सवारीसाधन निर्वाध गुड्न पाएका छैनन् ।

बढ्दो जोखिमलाई ध्यानमा राख्दै जिल्ला सुरक्षा समितिको बैठकले नारायणगढ–मुग्लिन सडकमा रातको समयमा आवतजावत रोक्ने निर्णय गरेको छ ।

बिहानैदेखि पानी परिरहेको र थप क्षति नहोस भनेर रातको समयमा सडक बन्द गर्ने निर्णय गरिएको हो । यस अवधिमा अत्यावश्यक सवारी भने सञ्चालन हुने भएका छन् ।

नारायणगढ तर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा गाडी रोकिने भएको छ ।

मध्यपहाडी राजमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल क्षेत्रमा समेत राजमार्ग अवरुद्ध रहेको सडक विभागले जनाएको छ ।

रिडी–बालकोट–हंसपुर–प्युठान–सुर्खेत सडक खण्ड अन्तर्गत दाङको मुर्कुटी भन्ने स्थानमा पनि सडक रोकिएको छ ।

कान्ती राजमार्गको मकवारपुर क्षेत्रमा गएको पहिरोले राजमार्ग अवरुद्ध गरेको सडक विभागले जनाएको छ ।

शुक्रबार हवाई यात्रा समेत निर्वाध हुन सकेन । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज भरतपुर, सुर्खेत र पोखरामा निर्धारित उडानहरू रद्द भएका छन् ।

तराईका अन्य विमानस्थलहरूको उडान समेत डिले हुँदा यात्रुले सास्ती बेहोर्नु परेको छ ।

अन्तर्राष्ट्रियतर्फ पनि धेरै उडानहरु प्रभावित भएका छन् । केही विमानहरू एक घण्टासम्म होल्ड गर्नु परेको थियो । बिहीबार बिहानदेखि देशका विभिन्न भागमा परेको अविरल वर्षाले जनजीवन प्रभावित बनेको छ । सरकारले अत्यावश्यक नपरेसम्म यात्रा नगर्न समेत सचेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?