+
+

बसपार्क चलाउन खबरदारी गर्दा साइबर अपराध आरोपमा पक्राउ परे एकबहादुर

मुख्यमन्त्री पाण्डेको अपमान गरेको भन्दै नगरपालिकाबाटै जाहेरी

बसपार्क उद्घाटन भए पनि त्यहाँबाट नियमित बस छुट्न सकिरहेका छैनन् । असुविधाको कारण देखाउँदै बस व्यवसायीले बसपार्कबाट गाडी छुटाउनसमेत मानिरहेका छैनन् । 

अमृत सुवेदी अमृत सुवेदी
२०८१ असोज १२ गते ८:४१

१२ असोज, पोखरा । २३ वर्षपछि उद्घाटन भएको भोलिपल्टैबाट सञ्चालनमा आउन नसकेको बागलुङ बसपार्कबारे प्रश्न र खबरदारी गर्दा बागलुङका एकबहादुर केसीलाई विद्युतीय कारोबार ऐनविरुद्ध (साइबर क्राइम)को मुद्दामा पक्राउ गरिएको छ ।

गत वैशाख १८ गते गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ‘उद्घाटन गरेको बसपार्क नचल्ने हो भने शिलालेख फुटाइदिने’ बताएका कुँवरलाई बागलुङ नगरपालिकाकै जाहेरीमा शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

२३ वर्षदेखि बन्न नसकेको बसपार्क तामझामले उद्घाटन गरिएको तर सञ्चालनमा आउन नसकेको भन्दै केसीले नगरपालिका र प्रदेश सरकारका मुख्यमन्त्रीलाई पनि खबरदारी गरेका थिए । तामझामले उद्घाटनमात्र गर्ने तर बस नचलाउने हो भने आफैं आएर मुख्यमन्त्रीले उद्घाटन गरेको शिलालेख फुटाइदिने आक्रोस उनको थियो ।

बागलुङ नगरपालिकाका मेयर वसन्तकुमार श्रेष्ठकै निर्देशनमा बागलुङ नगरपालिकाले नै केसीविरुद्ध साइबर अपराधको आरोपमा किटानी जाहेरी दिएको हो । नगरपालिकाकै जाहेरी र मेयरकै जोडबलमा प्रहरीले गत भदौ २६ गते केसीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

उनले सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव भड्काएको भन्दै नगरपालिकाले दिएको जाहेरीकै आधारमा पक्राउ गरी ५ दिनको म्याद थपिएको बागलुङ प्रहरी निरीक्षक तथा सूचना अधिकारी सुनिल शर्मा चिलुवालले जानकारी दिए ।

‘नगरपालिकाकै जाहेरीमा पक्राउ गरेका हौं । सामाजिक सद्भाव भड्काउने काम गरेको आरोप उहाँलाई छ,’ सूचना अधिकारीसमेत रहेका शर्माले भने, ‘जाहेरी दर्ता भइसकेपछि पक्राउ गरेर प्रक्रिया अगाडि बढाउनु प्रहरीको कर्तव्य नै हो ।’

बागलुङ नगरपालिकाका मेयर वसन्तकुमार श्रेष्ठले सामाजिक सद्भाव भड्काउने, मुख्यमन्त्रीलाई बागलुङवासीले गरेको सम्मान गिराउने काम गरेकाले आफ्नै निर्देशनमा जाहेरी दिइएको बताए । ‘उहाँले समाजलाई भड्काउने तथा उक्साउने काम गर्नुभाछ । मुख्यमन्त्रीलाई बागलुङवासीले दिएको जुन सम्मान छ, त्यो गिर्ने किसिमले राख्नुभएको छ । मुख्यमन्त्रीले उद्घाटन गरेको शिला फोड्दिन्छु भन्नुभएको छ, त्यो भन्न पाइन्छ ? मेयर श्रेष्ठको आपत्ति छ, ‘हामीले पनि आन्दोलन धेरै पटक गरेका थियौं । नियतको कुरा हेर्नुपर्छ, त्यसै नाटक गर्ने ?’

घन लगेर फोडिदिन्छु भन्न नपाइने तर्क मेयर श्रेष्ठको बताउँछन् । मेयर श्रेष्ठकाअनुसार केसीले यसअघि पनि यस्तै अभिव्यक्ति दिने र अपमान गर्ने गरेको झोंकमा यसपटक साइबर क्राइमकै मुद्दा लगाइदिएको बताउने गरेका छन् । केसीले बार्गेनिङ गर्ने गरेको आरोपसमेत मेयर श्रेष्ठ पक्षधरले लगाइरहेका छन् ।

गलत गरेको भए तत्काल कारबाही प्रक्रियामा लैजाने सकिने हुँदा हुँदै चित्त नबुझेको प्रश्न उठाएकै भरमा केसीमाथि इगो साँधिएको देखिएको छ । अहिलेल उनलाई पक्राउ गर्नुपर्ने विषय नै उद्घाटन भएको बसपार्कको शिलालेख फटाइदिने भनेका कारण देखाइएको छ ।

बसपार्क उद्घाटन भएर सञ्चालनमा नआउँदा उनले गरेको खबरदारी पक्राउ पुर्जी नै जारी हुने खालको नभएको र यो विषयसँग प्रशासनसँग कुनै छलफल पनि नभएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले बताए ।

हालैमात्र सरुवा सूचीमा परेका सहायक सिडिओ बरालले राज्यको स्रोत साधनको रक्षा होस् भनेर चित्त नबुझेका कुरा राख्न,प्रश्न गर्न र अवाज उठाउन पाइने बताउँछन् ।

‘तामझामसहित उद्घाटन गरेको बसपार्क सुनसान, स्थानीयको आक्रोश’ शीर्षकमा केसीले दिएको अन्तर्वार्ता सार्वजनिक भएको भिडियो सामग्रीकै आधारमा उनलाई जाहेरी दिइएको हो ।

‘शिलालेखमा आफ्नो नाम सजाउन जति अब्बल छौ तिमीहरु, त्यति नै नागरिकहरु सचेत भइसकेका छन् । अब नागरिकले खबरदारी गर्ने बेला आइसकेको छ,’ नगरपालिकाले आफूमाथि अपराध भएको ठानेर जाहेरी दिनुपर्ने कारण देखाएको भिडियोमा संगमले भनेका छन्, ‘नागरिकलाई भेडा नसम्झ, नागरिक सचेत भइसकेका छन् । यो बसपार्कको सम्बन्धमा चाहिँ यथासक्य छिटो सम्वोधन गरेनौ भने, एक महिनाभित्र यो बसपार्कबाट टिकट काटेको र बसहरु छुटेको अवस्था नभए त्यो शिलापत्र म आफैं आएर फुटालिदिन्छु ।’

बसपार्कबारे प्रतिक्रिया दिएर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेकै कारण उनलाई साइबर अपराधसम्बन्धी मुद्धा अगाडि बढाइएको हो । तामझामले उद्घाटन गरेकै भोलिपल्ट बसपार्क सुनसान बनेको थियो । बसपार्कभरि उद्घाटन गरेर छोडिएको फोहोरले कुरुप देखिएको थियो भने बसपार्कसम्म पुग्ने बाटो, टिकट काट्ने काउन्टरसमेत अहिलेसम्म बनेको छैन ।

बसपार्क उद्घाटन भए पनि त्यहाँबाट नियमित बस छुट्न सकिरहेका छैनन् । असुविधाको कारण देखाउँदै बस व्यवसायीले बसपार्कबाट गाडी छुटाउनसमेत मानिरहेका छैनन् ।

भ्रष्टाचारविरुद्ध नागरिक निगरानी संस्थाको बागलुङ उपाध्यक्षसमेत रहेका संगमले २३ वर्षपछि उद्घाटन भएको भोलिपल्टै बन्द भएपछि मुख्यमन्त्रीले नै उद्घाटन गर्दै रिबन काटेर लगाइएको शिलालेख फुटाइदिने एउटा युट्युबलाई अभिव्यक्ति दिएका थिए । बसपार्क बनेर पनि सञ्चालनमा नआउँदा उद्घाटन गरेर शिलापत्रमा नाम लेखाएका मुख्यमन्त्री पाण्डेमाथि पनि चुनौति थपिएको उनले बताएका थिए ।

हालैमात्र सरुवा सूचीमा परेका सहायक सिडिओ बरालले राज्यको स्रोत साधनको रक्षा होस् भनेर चित्त नबुझेका कुरा राख्न,प्रश्न गर्न र अवाज उठाउन पाइने बताउँछन् । पूर्वमेयर जनक पौडेलले बिनातयारी बसपार्क उद्घाटन गरिएको र पुरानो बसपार्क सार्ने, काउण्टर राख्ने, लामो र छोटो दूरीका गाडी कहाँ कहाँबाट गर्ने भन्ने सहमति र तयारी नभएको बताए ।

पटकपटक म्याद थपेर तेस्रो भेरिएसनपछि ९ करोड २१ लाख ३५ हजारमा बसपार्क निर्माण सकिएको हो । तर, अझै पनि बसपार्कमा विभिन्न पूर्वाधार निर्माण गर्नुपर्ने काम नगरपालिकाले नगरेको स्थानीयको पनि आरोप छ ।

उपल्लाचौरको दापगरामा बसपार्क निर्माण गर्ने निर्णय भएपछि २०५७/५८ सालदेखि त्यहाँका स्थानीय जग्गा लिन सुरु भएको थियो । आधुनिक बागलुङ बसपार्क निर्माण गर्ने २० औं वर्ष पुरानो योजना २०७५ साल कात्तिकबाट सुरु भएको हो । २०६१ सालमा बागलुङका तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रेमनारायण शर्माले शिलान्यास गरेको बसपार्क २०७५ फागुन १४ गते शहरी विकास मन्त्री मोहम्मत इस्तियाकले फेरि शिलान्यास गरेपछि यो बसपार्क चर्चामा आएको थियो ।

बसपार्क निर्माण सम्झौतादेखि सम्पन्न गर्ने बेलासम्म सधैं विवाद र चर्चाको केन्द्रमा रह्यो बागलुङ बसपार्क । बागलुङमा बसपार्क बनाउँन २०५९ सालमा ५२ जना स्थानीयले निशुल्क उपलब्ध गराएको ५९ रोपनी जग्गाबाट साढे १८ रोपनी जग्गामा बसपार्क निर्माण हुँदै थियो ।

बागलुङ नगरपालिका वडा नम्बर ४ मा उपल्लाचौर दाबगह्रा भन्ने ठाउँमा बसपार्कका लागि जग्ग दिने स्थानीयको जग्गा व्यवस्थापन पनि गरिदिनुपर्ने सम्झौता थियो । जग्गाको प्लानिङ गरेर स्थानीयलाई फिर्ता गर्ने सर्तमा सुरु भएको बागलुङ बसपार्कको निर्माण सम्झौता नै बिवादित बन्यो । करिब ७ करोड रुपैयाँ निर्माण ठेक्का दिइएकोमा डिपिआर नै गलत भएको भन्दै रिडिजाइन गरिएको थियो भने सेटिङमा ठेक्का सम्झौता गरिएको आरोप लागेको लाग्यो ।

बसपार्कको रिडिजाइन गर्दा निर्माण खर्च ७ करोडबाट करिब ११ करोड रुपैयाँ पुग्यो । बसपार्क निर्माणको जिम्मा फेवा जेभी पोखराले पाएको थियो । बोलपत्र मूल्यांकन र सिफारिस नै गलत भएको भन्दै आवाज उठ्यो ।

बसपार्क निर्माणमा जग्गा व्यवस्थापन गर्न जमिन सम्याउने, माटो पुर्ने, स्टिमेट गर्ने, मूल्यांकन र भुक्तानी गर्ने काममा मिलेमतो भएको विषय अख्तियारसम्म पुग्यो । अख्तियारले ५ लाख ९० हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अघिल्लो कार्यकालका उपमेयरसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको थियो । अहिले उनीहरुले सफाइ पाइसकेका छन् ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?