
१२ असोज, गोरखा । अविरल बर्षाका कारण त्रिशूली नदीमा आएको बाढीले गोरखा जोड्ने चार वटा झोलुंगे पुल जोखिममा परेको छ ।
शहीद लखन गाउँपालिका-४ ठेवाटार र चितवनको इच्छाकामना गाउँपालिकाको धारापानी जोड्ने , शहीद लखन–३ सिलिङटार र चितवनको कुरिनटार जोड्ने, गण्डकी गाउँपालिका–७ धवादीघाट र धादिङको रोराङ जोड्ने र गण्डकी–६ हिक्लुङ र धादिङ जोड्ने झोलुङ्गे पुल जोखिममा परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
प्रहरीका अनुसार त्रिशुली नदीमा पानीको वहाव बढेर पुललाई छोएको छ । केही ठाउँमा पुलको बेसहरू समेत बगाएको छ । ती पुलहरू नदीले बगाउने अवस्थामा पुगेको स्थानीयले बताएका छन् । सो क्षेत्रमा अहिले प्रहरी परिचालन भइसकेको प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले बताए ।
यता त्रिशुली नदीमा आएको बाढीले शुक्रबार राती गोरखामा निर्माणाधीन सुपर त्रिशुली जलविद्युत आयोजनाको तीन वटा टिपर, एउटा जेसीभी र दुई वटा स्काभेटर बगाएको छ । शुक्रवार राती करिब दश बजे नदीमा आएको बाढीले बाग्मती प्रदेश ०३–००१ क ६८५, मधेश प्रदेश ०३–००१ ख ७५४२ र मधेश प्रदेश ०३–००१ ख ७५४८ नम्बरको टिपर र बा २ ख १४२७ नम्वरको जेसिभि बगाएको प्रहरीले जनाएको छ ।
दुई वटा स्काभेटरको भने नम्बर खुल्न नसकेको बताइएको छ । अविरल वर्षा भइरहेकाले सतर्क रहन प्रहरीले जिल्लावासीलाई आग्रह समेत गरेको छ ।
प्रतिक्रिया 4