+
+
समाजका कुरा :

‘शाम्बाला’ले देखाएको हिमाली समाजको पितृसत्ता

फिल्म सकिंदै गर्दा हलमा एक दर्शक महिलाले आफ्नो साथीलाई भन्दै थिइन्, ‘लोग्नेमान्छे चाहिं जहाँको पनि त्यस्तै है !’ ती महिलाले गरेको सटिक व्याख्यामा थुप्रै कुरा पाउन सकिन्छ-पुरुषत्वको प्रदर्शन गर्ने, समाजको कुरा सुनेपछि आफ्नो निकटस्थलाई पनि विश्वास गर्न नसक्ने ।

नारायणी देवकोटा नारायणी देवकोटा
२०८१ असोज १२ गते १५:१९

विभिन्न कारणले फिल्म ‘शाम्बाला’ पछिल्ला दिनहरूमा चर्चामा रह्यो । विदेशका फिल्म फेस्टिभलमा सहभागिता, नेपालमा गरिएको प्रिमियरमा भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी र निर्देशक अनुराग कश्यपको आगमन । नेपाली र विदेशी मिडियामा विशेषगरी नवाजुद्दिन सिद्दिकीले दिएका अन्तर्वार्ता र फिल्म ‘शाम्बाला’ तथा निर्देशक मीन भामबारे उनले गरेका प्रशंसा अनि नेपालको बौद्धिक जगतका मानिसले ‘हेर्नै पर्ने’ भनेर सामाजिक सञ्जालमा गरेका पोष्टहरूले एक प्रकारको चर्चा चलिरह्यो भन्दा फरक पर्दैन ।

मलाई भने ‘शाम्बाला’ हेर्न डोल्पामा बनेको र बहुपति प्रथालाई केन्द्रमा राखिएको भन्ने कुराले हलसम्म डोर्‍याएको थियो । ‘शाम्बाला’ फिल्म ‘हेर्नै पर्ने’ किन हो वा यसका राम्रा-नराम्रा पक्ष के के हुन्, यो फिल्म अर्को कुन फिल्म भन्दा राम्रो वा नराम्रो के हो भनेर व्याख्या गर्ने क्षमता मैले राख्दिनँ । फिल्मका विविध विषयमा फरक–फरक क्षेत्रमा विज्ञता र रुचिका मानिसका फरक–फरक व्याख्या होलान् । बुद्ध धर्ममा विश्वास गर्ने र व्याख्या गर्न सक्ने मानिसले यसलाई झनै अर्को तरिकाले व्याख्या गर्लान् ।

फिल्म सकिंदै गर्दा हलमा एक दर्शक महिलाले आफ्नो साथीलाई भन्दै थिइन्, ‘लोग्नेमान्छे चाहिं जहाँको पनि त्यस्तै है !’ ती महिलाले गरेको सटिक व्याख्यामा थुप्रै कुरा पाउन सकिन्छ– पुरुषत्वको प्रदर्शन गर्ने, समाजको कुरा सुनेपछि आफ्नो निकटस्थलाई पनि विश्वास गर्न नसक्ने, स्पष्ट आफ्नो भन्ने नभएसम्म सन्तान पनि स्वीकार नगर्ने बरु महिलाको पवित्रताको परीक्षा लिने । अथवा जहाँका महिलालाई पनि पितृसत्तासँग लड्न परिरहँदो रहेछ पनि भन्न सकिन्छ ।

यो ‘जहाँ’ वा ‘जुनसुकै समाजमा’ भन्ने कुरा फिल्म ‘शाम्बाला’सँग जोड्न जरूरी किन छ भने यो फिल्म ठाउँविशेषले हिमाली क्षेत्र र समुदाय विशेषले डोल्पाली–तिब्बतियन समुदायमा केन्द्रित छ । यस सन्दर्भमा लामो समयदेखि महिला अधिकार र जनजातीय (जनजातीय समाज पनि आफैंमा विविधताले भरिएको समाज हो, एउटा सिंगो समाज होइन भन्नेमा म सचेत छु) अधिकारमा काम गर्ने, बहस गर्ने काठमाडौंको बौद्धिक जगतको ठूलो हिस्साले भन्दै, सुनाउँदै आएको कुरा हो, ‘बाहुन क्षेत्री समुदायका महिलाहरू भन्दा जनजाति समुदायका महिलाहरू सशक्त छन् ।’

नेपाली समाजमा हामी महिला माथि हुने धेरै प्रकारका विभेदका बारेमा जानकार छौं। तर, फिल्म ‘शाम्बाला’भन्दा अगाडि कुनै समुदायका महिलाले तारो हानेर आफ्नो यौन सम्बन्धको पवित्रता पुष्टि गर्नु परेको विभेदको बारेमा जानकारी थिएन ।

अझ यस्तो सशक्तीकरणको व्याख्या गर्ने मानिस आधा–आधा बुझाइ भएका परे भने ‘कुनै समयमा नेपालमा मातृसत्ता पनि थियो त्यसको अवशेष हिमाली क्षेत्रमा रहेको बहुपति प्रथा हो’ पनि भनिदिने सम्भावना प्रबल हुन्छ । यस्ता व्याख्यामा अक्सर गरेर फ्रेडरिक एेंगेल्सको ‘परिवार निजी सम्पत्ति र राज्यसत्ताको उत्पत्ति’ किताबको ‘एकल विवाह परम्पराको विकासपछि महिलाको सत्ता खोसियो’ अर्थात् समाज मातृसत्ताबाट पितृसत्तामा गयो भन्ने उद्धरणसम्म जोडेर प्राज्ञिक बनाउने गरेको पाइन्छ ।

यस्ता बहसहरूका श्रोता बन्दाका सुरु–सुरुका दिनमा मलाई लागिरहन्थ्यो, ‘त्यसो भए जनजाति समुदायका महिलाहरू समाजको नेतृत्वमा किन छैनन् ?’ अलि पछि उक्त विषयमा जनजातीय समुदायमा महिलाका अधिकारमा काम गरिरहेका सिनियरहरूलाई प्रश्न गर्दा उहाँहरूको सोलोडोलो उत्तर चाहिं, ‘मन लागेको श्रीमान् छान्न पाउने, मन नलाग्दा छोड्न पाउने र अर्को विवाह गर्न पाउने’ भन्ने गर्नुहुन्छ । अर्थात् जनजाति समुदायका महिलाको यौन जीवन ब्राह्मण, क्षेत्री समाजमा भन्दा उदार छ भन्ने कुरामा अहिलेसम्म पनि धेरैमा एकमत पाइन्छ । जनजाति महिलालाई श्रीमान् मन नपरे वा ऊसँग सम्बन्ध राम्रो नभएमा अर्को विवाह गर्न नै पनि सहज रहेनछ भन्ने कुरामा गत वर्ष आएको ‘जारी’ फिल्मले पनि एक हदसम्म उजागर गरेको थियो । फिल्म ‘शाम्बाला’ ले भने ‘जारी’ भन्दा एक तह अगाडि बढेर ‘तिब्बतियन’ समुदायका महिलाहरूको यौन जीवनमा समाज र श्रीमान्को नियन्त्रणको दारुण कहानी बताउँछ ।

फिल्ममा तीन जना दाजुभाइसित एकैपटक विवाह गरेकी महिलाको मन बसेको श्रीमान् विवाहको केही समयपछि ओछ्यानमा पिसाब गर्नसम्म नछोडेको कान्छो श्रीमान्सँग घरमा छोडेर जान्छ । जब महिला गर्भवती भएको थाहा हुन्छ, समाजमा कुरा काटिन्छ– ‘उसको पेटको बच्चा कान्छो श्रीमान्लाई ट्युसन पढाउन आउने शिक्षकको हो ।’

समाजले प्रश्न उठाउँदै गर्दा व्यापार गर्न गएको उसको श्रीमान् भने समाजमा हुनसक्ने बेइज्जतीलाई सम्झेर पेमा (श्रीमती) ले दिएको उपहार फिर्ता पठाएर बीच बाटैबाट हराउँछ । घरमा आउनुपर्ने श्रीमान् बीच बाटैबाट हराएको तनाव चलिरहँदा सानो लोग्नेचाहिं अब यो घरको मुख्य मानिस आफू भएको घोषणा गर्दै श्रीमतीलाई श्रीमतीको थान्कामा रहन आदेश दिन्छ । विद्यालय तहमा पढ्दै गरेको, आफ्नै स्याहार राम्ररी गर्न नसक्ने बच्चाले ‘घरमूली म हो’ भन्दै ढोकामा आफ्नो दोचा झुन्ड्याएको दृश्यले चसक्क पार्छ । र बताउँछ, श्रीमती उमेरमा जत्ति नै ठूली र समझदार भए पनि घरमूली भनेको लोग्ने मानिस हो । अर्थात् सम्पत्तिको मालिक ऊ हो, श्रीमती उसको अधीनस्थ ।

त्योभन्दा बढी दिक्दारलाग्दो (फिल्म होइन) त गर्भवती भएकी एक्ली महिला एउटा घोडाको सहारामा मानवविहीन अनकन्टार हिमालमा कुम्लो कुटुरो लिएर श्रीमान् खोज्न निस्किएको दृश्य । भलै बीच बाटोबाट उसको अर्को श्रीमान् यात्रामा जोडिन्छ । श्रीमान् खोज्न हिंडेकी उसको बिजोग हालत देख्दै गर्दा लाग्छ– ह्या घर फर्केर आनन्दले बसे पनि हुने !

यस्तै सोच आउँदै गर्दा आफ्नो पवित्रता पुष्टि गर्न कुनै महिला तारो हान्ने परीक्षा दिइरहेको दृश्य गुज्रन्छ । पछि थाहा हुन्छ– आफ्नो पवित्रता तारो हानेर पुष्टि गर्न नसकेकी ती महिलाले आत्महत्या गर्छिन् । र, त्यो अनकन्टार यात्रामा श्रीमान्लाई खोज्न हिंड्नुको अर्थ पत्ता लाग्छ । पेमा आफ्नो पवित्रताको परीक्षामा पास नभएर आत्महत्या गरेकी महिलाको लासलाई गिद्धका लागि पस्किइने हिमाली सांस्कृतिक क्रियाकलापको साक्षी बसेको देख्दा उसको मनमा के बितिरहेको होला भन्ने लागिरहन्छ ।

जनजाति महिलालाई श्रीमान् मन नपरे वा ऊसँग सम्बन्ध राम्रो नभएमा अर्को विवाह गर्न नै पनि सहज रहेनछ भन्ने कुरामा गत वर्ष आएको ‘जारी’ फिल्मले पनि एक हदसम्म उजागर गरेको थियो । फिल्म ‘शाम्बाला’ ले भने ‘जारी’ भन्दा एक तह अगाडि बढेर महिलाहरूको यौन जीवनमा समाज र श्रीमान्को नियन्त्रणको दारुण कहानी बताउँछ ।

नेपाली समाजमा हामी महिला माथि हुने धेरै प्रकारका विभेदका बारेमा जानकार छौं । तर, यो फिल्मभन्दा अगाडि कुनै समुदायका महिलाले तारो हानेर आफ्नो यौन सम्बन्धको पवित्रता पुष्टि गर्नुपरेको विभेदको बारेमा जानकारी थिएन । पछि पेमा आफैं पनि उक्त परीक्षामा सामेल भएको दृश्यले त्यो समाजका महिलाको यौन जीवनको बारेमा समाज बाहिर आएर भन्ने गरिएको र बाहिरी समाजले भन्ने गरे जस्तो उदार नभई झन् कठोर रहेको देखाउँछ । हुनत फिल्मको कुरा हो, परिकल्पनाको कुरा पनि हुनसक्छ, प्रतीकात्मक पनि हुनसक्छ । यदि महिलाले आफ्नो पेटमा हुर्किरहेको बच्चाको विषयमा परीक्षा दिनुपर्ने अवस्था परिकल्पना वा प्रतीक नभई सत्य हो भने समाज अध्ययन गर्नेका लागि नयाँ विषय र नीति निर्माताका लागि अर्को कार्यसूची पनि हो ।

अन्त्यमा, आम रूपमा महिलाहरू सशक्त छन् भनिइँदै आएको हिमाली समाजको कथामा सुन्दर हिमाली प्राकृतिक, सांस्कृतिक दृश्य सहित महिलामाथि समाजको कठोर नियन्त्रण, दण्ड प्रणाली र आफ्नो पवित्रता पुष्टि गर्न गरिएको चुपचाप लडाइँको कथाले एकपटक नेपाली महिला आन्दोलन र जनजाति आन्दोलनले सामाजिक रूपमा स्थापित गरिरहेका जनजातीय समाजका महिलाको अवस्थाका मानकहरूलाई एकैपटक ‘शाम्बाला’ले भत्काएको छ । साथै जनजाति भित्र पनि भिन्नभिन्न समाजका महिलाहरूको अवस्था भिन्नभिन्न रहेको विषय उजागर पनि गरेको छ ।

लेखकको बारेमा
नारायणी देवकोटा

देवकोटा समाजशास्त्री हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?