+
+

बाढीले जलविद्युत आयोजनामा क्षति, कहाँ के भयो ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १२ गते १९:५०
माथिल्लो तामाकोशी आयोजनाको हेडवर्क्स ।

१२ असोज, काठमाडौं । अविरल वर्षा र बाढी–पहिरोका कारण देशका विभिन्न स्थानमा रहेका जलविद्युत आयोजनाहरुमा क्षति पुगेको छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार २१६ मेगावाटको माथिल्लो त्रिशुली २ आयोजनाको केही उपकरण र भौतिक संरचनामा क्षति पुगेको छ । स्याफ्रुबेसीस्थित लाङटाङ जलविद्युत आयोजनाको कामदार आवास संरचनामा क्षति भएको छ ।

निर्माणाधीन २४० केभीको प्रसारण लाइनको पैरेबेशी नुवाकोट खण्डको टावरमा समेत क्षति पुगेको रसुवा जिप्रकाले जनाएको छ । माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनाका कर्मचारी तथा कामदार (२१५ जना) लाई तत्कालका लागि सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

उता पहिरोले दोलखाको बिगु गाउँपालिका १ लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँधक्षेत्रका संरचना (हेडवर्क्स) मा समेत क्षति गरेको छ ।

तामाकोशीमा शुक्रबार साँझ ७ बजेबाट विद्युत उत्पादन समेत बन्द गर्नु परेको छ । बाँधका सबै ढोका खोलिएको अपर तामाकोशी हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले जानकारी दिए । उता पूर्व हेवाखोलामा गत वर्ष बाढीले गरेको क्षतिको पुनर्निर्माण नहुँदै यस वर्ष समेत थप क्षति भएको छ ।

बाढीले हेवाखोलाको बेली ब्रिज बगाएको छ । तल्लो हेवाखोला जलविद्युत आयोजना २२.१ मेगावाटको पावरहाउस डुबेको इप्पानले जनाएको छ । वर्षाका कारण शुक्रबार साँझबाट कुलेखानी जलविद्युत केन्द्रको जलाशय खोलिएको थियो ।

सो क्रममा २२ मेगावाटको माण्डु खोलाको पावरहाउस डुबानमा परेको छ । देशका अन्य स्थानमा भएको जलविद्युत आयोजनाको क्षतिको विवरण संकलनको काम भइरहेको समेत इप्पानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?