+
+

एन्फा महिला लिग : विदेशी खेलाडीको साथमा सुपर लिग पुगेको वालिङ

वालिङले विदेशी खेलाडी बिना खेल्दा पहिलो खेलमै कोशी विरुद्ध फराकिलो हार व्यहोरेको थियो । तर विदेशी खेलाडी अनुबन्ध गरेपछि भने वालिङले लिगमा नतिजा पनि राम्रो ल्यायो ।

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८१ असोज १३ गते ११:०२

१३ असोज, काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका र कोशी प्रदेशले तीन विभागीय टोली एपीएफ, त्रिभुवन आर्मी एफसी र नेपाल पुलिस क्लबसँगै एन्फा महिला लिगको दोस्रो चरणमा स्थान बनाएको छ ।

विभागीय टोलीबाहेक शीर्ष पाँचमा स्थान पक्का गर्दै सुपर लिगमा प्रवेश गरेको दुई टोलीमध्ये वालिङ नगरपालिका काठमाडौं बाहिरको टोली हो ।

पहिलो चरणमा १० टोली सहभागी भएकोमा वालिङले ९ खेल खेल्दा ५ खेल जित्दै १५ अंक जोडेर चौथो स्थानमा लिग सकायो । ४ खेलमा भने वालिङ पराजित भयो ।

पहिलो चरणमा वालिङ तीन विभागीय टोलीबाहेक कोशी प्रदेशसँग पराजित भएको थियो ।

बिहीबार भएको पहिलो चरणको अन्तिम खेलमा चन्द्रपुर नगरपालिकालाई २-१ ले पराजित गरेपछि वालिङले सुपर लिगमा स्थान पक्का गरेको थियो । प्रतिस्पर्धात्मक खेलमा चन्द्रपुरले खेलभर दबाब बनाएपनि पहिलो हाफमा गरेको दुई गोलमा जित निकालेको थियो ।

‘हाम्रो लक्ष्य शीर्ष पाँचमा पर्नु थियो त्यसमा सफल भयौँ खुशी छौँ,’ शीर्ष पाँचमा स्थान पक्का गरेपछि वालिङका प्रशिक्षक दिलिप थापाले भने । उनले अन्तिम खेलमा कप्तान माया मास्के घाइते हुँदा खेलमा केही कठिन भएको बताए ।

वालिङले पछिल्लो तीन महिला लिगमा लगातार सहभागिता जनाउँदै आएको छ । लिगमा विभागीय टोली बाहेक लगातार सहभागी जनाउने सिभिल टोलीको रुपमा रहेको वालिङले विदेशी खेलाडी ल्याउदा राम्रो नतिजा ल्याएको छ ।

यस पटक पनि विदेशी खेलाडीको सहयोगमा वालिङले राम्रो नतिजा निकालेको छ ।

वालिङ नगरपालिकाले सन् २०२१ मा पहिलो पटक महिला लिग खेलेको थियो । त्यस बेला लिगको छनोट चरणमा उपविजेता बन्दै राष्ट्रिय महिला लिगामा छनोट भएको थियो । डबल राउण्ड रोविनका आधारमा भएको लिगमा ७ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए । जसमा वालिङले चार विदेशी खेलाडी सहभागी गराउँदा तीन विभागीय टोली भन्दा पछि रहँदै चौथो भएको थियो ।

सन् २०२२ को महिला लिग पनि डबल राउण्ड रोविनमा गर्ने तय थियो । जसमा ८ टोली सहभागी थिए । तर एन्फामा नयाँ नेतत्व आएपछि दोस्रो चरणको लिग नै भएन । पहिलो चरणमा लिगमा अन्तिम स्थानमा रहेको वालिङ जितविहीन नै बन्यो ।

डबल राउण्ड रोविनमा हुने भनिएपनि सिंगल राउण्ड मात्र भएको लिगमा वालिङ खेलेको ७ खेलमै पराजित भएको थियो ।

यस पटक वालिङ तेस्रो पटक महिला लिग खेलिरहेको छ । जसमा वालिङले १० टोलीमध्ये तीन विभागीय टोलीपछि चौथो स्थानमा रहेर लिगको पहिलो चरण सकाएको छ । अब सुपर लिगमा वालिङले अझ राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।

वालिङ नगरपालिकाका मेयर कृष्ण खाँडले नगरपालिकाले आफ्नो टोलीलाई लिगमा सहयोग गरेको र सुपर लिगमा पुग्दा खुशी लागेको बताए । खाँडले एन्फाले दिएको तयारी खर्च बाहेक सबै नगरपालिकाले नै सहयोग गर्ने बताए ।

‘हामीले वालिङको टिमलाई सहयोग गरेका छौँ । विदेशी खेलाडीको टिकेटिङ देखि खेलाडीको दैनिक भत्ता, खाना बस्न व्यवस्थापन गरेका छौँ,’ खाँडले अनलाइनखबरसँग भने, ‘एन्फाले तयारी खर्च दिएको छ । त्यो भन्दा बढी लाग्ने खर्च सबै वालिङ नगरपालिकाले व्यहोर्ने निर्णय भएको छ ।’

खाँडले कति बजेट लाग्छ भनेर अहिले एकिन नभएको र प्रायोजकका लागि पनि छलफल भइरहेको बताए । उनले अब सुपर चाडपर्वको समयमा खेलाडी घर फर्कने र सुपर लिग हुने बला काठमाडौं आउने जानकारी दिए ।

एन्फा महिला लिगको पहिलो चरणको खेलपछि दशै र तिहार जस्ता ठूला चाडपर्व छ । यस्तै यी दुई पर्वको बीचमा साफ महिला च्याम्पियनसिप नेपालमै हुँदैछ । त्यसैले अब तिहारपछि मात्र सुपर लिग खेल सुरु हुनेछ ।

वालिङका सुक्रिया मिया, सुस्मा तामाङ, सजिना कोइराला र अन्जली मचामसी साफ महिला च्याम्पियनसिपको लागि ४० सदस्यीय प्रारम्भिक टोलीमा समावेश भएका छन् ।

चार विदेशी खेलाडीको साथ

वालिङले विदेशी खेलाडी बिना खेल्दा पहिलो खेलमै कोशी विरुद्ध फराकिलो हार व्यहोरेको थियो । तर विदेशी खेलाडी अनुबन्ध गरेपछि भने वालिङले लिगमा नतिजा पनि राम्रो ल्यायो ।

दोस्रो खेलबाट विदेशी खेलाडी समावेश गर्दै वालिङले लिगमा जित हात पार्न सुरु गर्‍यो । चार विदेशी खेलाडी र उमेर समूहको राष्ट्रिय टिमबाट खेलिसकेका नेपाली युवा खेलाडीहरु समावेश गरेको वालिङले विभागीय टोली बाहेक सबैभन्दा राम्रो प्रदर्शन गर्दै ५ खेल जित्यो ।

वालिङका प्रशिक्षक दिलिप थापाले पनि विदेशी खेलाडीको साथमा राम्रो प्रदर्शन गरेको बताए । ‘विदेशी खेलाडी साथ राम्रो भयो । उनीहरुलाई जे कामका लागि ल्याएको त्यसमा सफल भयौँ । विदेशीले गर्दा शीर्ष पाFचमा रहन सहयोग गर्‍यो,’ प्रशिक्षक थापाले भने, ‘अब सुपर लिगमा अझ राम्रो गर्ने लक्ष्य छ ।’

एन्फाले पहिलो चरण सकिएपछि ५ टिम सहभागि सुपर लिग गर्नेछ । जसमा ५ टिमबीच डबलराउण्ड रोविनका आधारमा खेल हुनेछ ।

सुपर लिगमा पहिलो चरणको खेलको अंक जोडिने छैन । जसले गर्दा विभागीय क्लब र बाँकी क्लबले पनि शुन्य बाटै लिग गर्नुपर्नेछ । जसका फाइदा विभागीय टोली भन्दा बाहिरको टोलीलाई पनि हुनेछ ।

यस्तै पहिलो चरणको लिग सकिएपछि शीर्ष पाँच भन्दा बाहिर रहेका क्लब खेलाडी पनि सुपर लिग खेल्ने क्लबले अनुबन्ध गर्न पाउने छन् । एन्फा प्रवक्ता सुरेश शाहले शीर्ष पाँच बाहिरका टोलीले खेलाडी रिलिज गरेपनि उनीहरुले अनुबन्ध गर्न पाउने जानकारी दिए ।

त्यसो भएमा आफ्नो टिममा अरु खेलाडी थप गरेर अझ राम्रो टिम बनाउने वालिङका प्रशिक्षक दिलिप थापाले जानकारी दिए । ‘सुपर लिगमा अन्य टोलीबाट पनि खेलाडी ल्याउन पाउने नियम भयो भने टिम अझ बलियो बनाउँछौँ,’ थापाले भने, ‘हाम्रो टिममा उमेर समूहको राष्ट्रिय टोलीबाट खेलेका ५-६ खेलाडी छन् । अहिले हामीले २७ खेलाडी मात्र दर्ता गरेका छौँ । ४० जनासम्म दर्ता गर्न पाउँछ ।  अरु खेलाडी थप्न पायौँ भने राम्रो हुन्छ । सुसपर लिगमा अझ धेरै प्रतिस्पर्धा हुन्छ ।’

कप्तान माया मास्केसहित सुक्रिया मिया, साराह बज्राचार्य, अन्जली मचामसी, भावना परियार, राधिका वली, याम कुमारी विक, अंशु विक लगायत खेलाडीले उमेर समूहको साफ च्याम्पियनसिपमा नेपालको युवा टिमबाट खेलिसकेका छन् ।

वालिङको प्रदर्शन र नतिजा

वालिङले लिगमा ९ खेल खेल्दा ५ खेल जित्यो भने ४ खेलमा पराजित भयो । कुनै पनि खेल बराबरी खेलेन । वालिङले लिगमा कूल १७ गोल गर्दा १८ गोल व्हयोरेको थियो ।

वालिङले जितेको पाँच मध्ये एक खेलमा आत्मघाती गोलको सहारामा जित निकालेको थियो । यस्तै हारेको चारमध्ये तीन खेलमा गोल गर्न नसकेको वालिङले एपीएफविरुद्ध गोल गरेको थियो ।

वालिङका लागि ज्याकलिन नासालीले दुई ह्याट्रिकसहित सर्वाधिक ७ गोल गरिन् । यस्तै अर्की विदेशी खेलाडी भिओलोले पनि ह्याट्रिक गरिन् ।

उद्घाटन खेलमै महिला लिग छनोटको विजेता कोशी प्रदेशसँग खेलेको वालिङ ४-० ले पराजित भएको थियो । उक्त खेलमा वालिङको विदेशी खेलाडी खेलाएको थिएन ।

दोस्रो खेलदेखि भने वालिङले विदेशी खेलाडी समावेश गर्‍यो र नतिजा पनि निकाल्न थाल्यो । वालिङले दोस्रो खेलमा दुई विदेशी खेलाडी खेलाएको थियो र कर्णालीलाई ४-० ले नै हराएर पहिलो जित निकाल्यो ।

जसमा दुई विदेशी खेलाडीले पनि खेलेका थिए । त्यसमा ज्याकलिन नासलीले ह्याट्रिक गर्दा सुक्रिया मियाले १ गोल गरिन् ।

तेस्रो खेलमा वालिङले संकटालाई १-० ले हराउँदा आत्मघाती गोल उपहार पाएको थियो ।

तेस्रो खेलमा ज्याकलिनसँगै भिओलो नामुद्दु र सिस्सी नानत्ङग्ले विदेशी खेलाडीको रुपमा मैदान उत्रेको थिए ।

चौथो खेलमा विभागीय टोली एपीएफसँग खेलेको वालिङ प्रतिस्पर्धात्मक खेलमा २-१ ले पराजित भयो । उक्त खेलमा सिस्सीले वालिङका लागि एक गोल फर्काएकी थिइन् ।

पाँचौ खेलमा वालिङले सुदूरपश्चिम प्रदेशलाई ५-१ले पराजित गरेको थियो । यस खेलमा वालिङ चार विदेशी खेलाडी एकै पटक मैदान उतारेको थियो । चौथो विदेशी खेलाडीको रुपमा फातुमाह नाकासुम्बा थिए ।

उक्त खेलमा भिओलो ३ गोल गर्दा ज्याकलिन नासाली र सुस्मा तामाङ एक-एक गोल गरे ।

ज्याकलिन नासालीले लिगमा दोस्रो पटक ह्याट्रिक गर्दा वालिङले छैटौं खेलमा बागमती युथ क्लबलाई ४-० ले पारजित गर्‍यो । त्यसमा सिस्सीले थप एक गोल गरिन् ।

वालिङ सातौं खेलमा नेपाल पुलिसँग २-० ले र आठौं खेलमा विभागीय टोली त्रिभुवन आर्मी एफसँग ८-० ले पराजित भयो । लिगमा वालिङको यो नै सबैऐन्दा फराकिलो हार थियो । अन्तिम खेलमा वालिङका दुई विदेशी खेलाडी भिओलो र सिस्सी खेलेका थिएनन् ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?