+
+

अड्किएका अन्तरिक्षयात्रीलाई ल्याउन उड्यो नासाको यान

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते ११:१८

स्पेस स्टेशनमा अड्किएका अन्तरिक्षयात्रीहरू सुनिता विलियम्स र बुच विलमोरलाई पृथ्वीमा फिर्ता ल्याउने नयाँ अन्तरिक्षयान प्रक्षेपाण गरिएको छ ।

अमेरिकी अन्तरिक्ष संस्था नासाको स्पेस एक्स क्रू ९ मिसन फ्लोरिडाको केप केनरेभलबाट सफल प्रक्षेपण गरिएको हो उक्त ड्रागन क्याप्सुललाई फाल्कन ९ रकेटबाट लञ्च गरिएको हो । यसअघि सेप्टेम्बर २४ मा प्रक्षेपण गर्ने तय भएकोमा मौसमको खराबीका कारण सेप्टेम्बर २८ मा मात्रै प्रक्षेपण गरिएको हो ।

ड्रागन यानमा सुरुमा चारजना अन्तरिक्षयात्रीहरू स्पेस स्टेशनमा पठाउने योजना थियो । तर, केवल दुईजना मात्रै पठाइएको छ ताकि फर्किने समयमा सुनिता र बुचलाई ल्याउन सकियोस् । हाल पृथ्वीमा रोकिइएका दुईजना अन्तरिक्षयात्रीलाई आगामी मिसनमा पठाइनेछ ।

सुरुमा यो मिसनमा कमान्डर जेना कार्डम्यान, पाइलट निक हेग, मिसन स्पेसलिस्ट स्टेफनी विल्सन र रुसी अन्तरिक्षयात्री मिसन स्पेसलिस्ट एलेक्जेन्डर गोरबुनोभ रहने तय थियो । तर, अन्तिममा रुसी अन्तरिक्षयात्री एलेक्जेन्डर गोरबुनोभ र पाइलट निक हेगलाई मात्र पठाइएको छ । दुवै महिला अन्तरिक्षयात्री जेना कार्डम्यान र स्टेफनी विल्सन चाहिं अर्को मिसनमा अन्तरिक्षमा जानेछन् ।

निक हेग बने मिसन कमान्डर, ड्रयागनका लागि हटाइयो स्टारलाइनर

मिसनका पाइलट निक हेग नै अहिले मिसन कमान्डर हुनेछन् जबकि एलेक्जेन्डर प्रोफालमा भने कुनै परिवर्तन भएको छैन । क्रू ९ मिसनको ड्रयागन क्याप्सुललाई स्पेस स्टेशनमा डक गर्नका लागि यसअघि नै त्यहाँ स्थान बनाइँदैछ । त्यसका लागि स्टारलाइनर यानलाई पहिले नै पृथ्वीमा पठाइसकिएको छ । त्यसको ठाउँमा ड्रयागन क्याप्सुल स्पेस स्टेशनसँग जोडिनेछ । यो यान करीब ७ घण्टामा स्पेस स्टेशनमा पुग्नेछ ।

के हो क्रू ९ मिसन ?

NASA, SpaceX, Crew-9 Mission, Sunita Williams Rescue Mission
सुनिता विलियम्स

यो अमेरिकी अन्तरीक्ष संस्था नासाको कमर्सियल क्रू प्रोग्रामको हिस्सा हो । स्पेस एक्ससँगको सहकार्यमा अन्तरिक्ष स्टेशनमा दुईतर्फी ९ वटा यात्रा यसमा हुनेछन् ताकि स्पेस स्टेशनमा लगातार अनुसन्धान होस् । यसबाट विश्वको मौसमका विषयमा सही जानकारी प्राप्त हुनेछ । २ दशकभन्दा लामो समयदेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा निरन्तर रुपमा अन्तरिक्षयात्री बस्दै आएका छन् । स्टेशनमा निश्चित समय बसेका अन्तरिक्षयात्रीलाई फिर्ता ल्याउन र नयाँलाई त्यहाँ पठाउनका लागि यस्ता मिसन आवश्यक पर्दछन् ।

के हो ड्रयागन क्याप्सुल ?

एलन मस्कको कम्पनी स्पेस एक्सले निर्माण गरेको ड्रयागन क्रू क्याप्सुल निर्माण पश्चात् हालसम्म ४६ पटकसम्म लञ्च भैसकेको छ । यसले ४२ पटकसम्म स्पेस स्टेशनको यात्रा गरिसकेको छ र २५ पटक पुनःउडान भएको छ । यो क्याप्सुलमा एक पटकमा ७ जना अन्तरिक्षयात्री बस्ने सुविधा छ ।

यो विश्वको पहिलो निजी अन्तरिक्षयान हो, जसले स्पेस स्टेशनमा लगातार अन्तरिक्षयात्री र कार्गोलाई लैजाने, ल्याउने काम गरिरहेको छ । यो क्याप्सुलको वजन ७ हजार ७ सय केजी रहेको छ ।

कार्गो तथा अन्तरिक्षयात्रीसँग लञ्च गर्दा यसको अधिकतम १२ हजार ५ सय केजी सम्म हुन्छ । कुनै कक्षमा यसले ६ हजार केजी वजन पुर्‍याउन सक्दछ ।

स्पेस स्टेशनसम्म चाहिं यसले ३३०७ केजी वजन पुर्‍याउन सक्छ । आम रुपमा यसले २ देखि ४ जनासम्म अन्तरिक्षयात्री बस्दछन् भने आपतकालीन अवस्थामा ७ जनासम्म ।

आफ्नै सामर्थ्यमा १० दिनसम्म रहनसक्छ कक्षमा

NASA, SpaceX, Crew-9 Mission, Sunita Williams Rescue Missionयदि यो यानले आफ्नै सामर्थ्यमा पृथ्वीको तल्लो कक्षमा उडान भर्‍यो भने यो १० दिनसम्म अन्तरिक्षमा रहन सक्दछ । तर, स्पेस स्टेशनसँग जोडिएमा यो २१० दिनसम्म अन्तरिक्षमा रहन सक्छ।

ड्रयागन क्रू क्याप्सुलको उचाइ १५ फिट छ । तर, तल्लो प्रोपल्सन सिस्टमसमेत जोड्दा यसको कुल उचाइ २६.७ फिट हुन्छ । क्याप्सुलभित्र १३ फिटको व्यास तथा १२ फिटको उचाइ रहेको छ ।

स्पेस एक्सले यसका विभिन्न प्रकार बनाएको छ । अहिलेसम्म १२ वटा ड्रयागन क्याप्सुल बनाइएको छ, जसमा ६वटा मानवयान, ३ वटा कार्गो तथा ३ वटा प्रोटोटाइप हुन् ।

हाल त्यसमध्ये ८ वटा ड्रयागन क्याप्सुल मात्र चालु अवस्थामा छन् । जसमा चारवटा क्रू क्याप्सुल हुन्, जसले अन्तरिक्षयात्रीलाई अन्तरिक्ष स्टेशनमा र्‍याउन तथा फर्काउने काम गर्दछन् । त्यस्तै तीनवटा कार्गो क्याप्सुलले सामान ओसारपसार गर्दछन् । तीनवटा क्याप्सुल चाहिं रिटायर्ड भैसकेका छन् ।

ड्रयागन क्याप्सुलको पहिलो मानवरहित उडान सन् २०१९ को मार्च २ मा भएको थियो । मानवयुक्त पहिलो उडान चाहिं २०२० को मे २० मा भएको थियो । त्यस्तै पहिलो कार्गो उडान सोही वर्ष डिसेम्बर ६ मा भएको थियो । यसलाई आमरुपमा स्पेस एक्सको फाल्कन रकेटबाट प्रक्षेपण गरिन्छ । स्पेस स्टेशनसम्म जान र पृथ्वीमा फिर्ता आउनका लागि यसमा २५६३ केजी इन्धन हालिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?