+
+

बाढी-पहिरो असर : रामेछापसँग टुट्यो यातायात सम्पर्क

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते १३:४१

१३ असोज, काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी–पहिरोका कारण रामेछापको यातायात सम्पर्क पूर्णरूपमा टुटेको छ ।

रामेछाप जोड्ने मुख्य दुइटा पक्की पुल सुनकोसी नदीले बगाएको, एउटा पुलमा क्षति पुगेको तथा राजमार्ग पहिरोले बगाएका कारण रामेछापको यातायात सम्पर्क पूर्णरूपमा टुटेको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए ।

रामेछाप दुइटा राजमार्गबाट राजधानी काठमाडौं तथा मुलुकका अन्य क्षेत्रसँग जोडिन्छ । पहिलो, सिन्धुली खुर्कोट तथा रामेछाप सेलेघाट जोड्ने पक्की पुलमार्फत रामेछाप काठमाडौं तथा तराईसँग जोडिन्थ्यो ।

सुनकोसी नदीमै नेपालथोक तथा सित्खामा समेत पक्की पुल छन् । त्यसमध्ये खुर्कोट र नेपालथोकको पुल सुनकोसीले बगाएको छ भने सित्खाको पुलमा पनि क्षति पुगेको छ । त्यसो हुँदा बीपी राजमार्ग हुँदै रामेछापसँगको सम्पर्क पूर्णरूपमा टुटेको प्रजिअ पौडेलले जानकारी दिए ।

२०७१ सालमा खुर्कोटमा पक्की पुल बनेपछि रामेछाप जिल्लाको तराई तथा काठमाडौंसँगको सम्पर्क सजिलो भएको थियो । रामेछाप जाने अधिकांश यात्रुले बीपी राजमार्ग हुँदै यही पुल प्रयोग गरेर यात्रा गर्ने गरेका थिए । तर, यो पुल नै सुनकोसीले बगाइदिएपछि अझै लामो समयसम्म रामेछापसँगको यात्रा कठिन हुनेछ ।

साथै, दोलखा हुँदै सदरमुकाम मन्थली तथा रामेछापका अन्य क्षेत्रमा सडक सञ्जाल जोडिएको छ । यो सडकखण्डमा किर्नेटार तथा मिल्तीखोलामा पहिरोले सडक अवरुद्ध गरेको पौडेलले बताए । तर, राजधानी काठमाडौं जोड्ने अरनिको राजमार्गमा ठाउँ–ठाउँमा सडक अवरुद्ध भएको छ ।

सित्खाको पुल तथा त्यहाँबाट मन्थली जोड्ने बाटोको अध्ययन गर्दै अवरोध पन्छाउने प्रयास भइरहेको उनले बताए ।

‘सित्खाबाट मन्थली जोड्ने बाटोमा पनि सयौँ ठाउँमा अवरोध छ । पन्छाउने प्रयास भइरहेको छ,’ उनले भने ।

तर, त्यो बाटो खुले पनि काठमाडौं र अन्य क्षेत्रसँग रामेछापको सम्पर्क जोडिने छैन । किनभने, बीपी राजमार्गको मुलकोट–खुर्कोट खण्ड तथा नेपालथोक–भकुण्डेबेँसी खण्डमा ठाउँ–ठाउँमा सडक सुनकोसी तथा रोशीले बगाएको छ ।

खुर्कोट नजिकै सुनकोसी–मरिण डाइभर्सनको बाँथस्थल नजिक सडक सुनकोसीले बगाएकोमा हाल एकतर्फी सञ्चालनमा आएको सिन्धुलीका प्रहरी वरिष्ठ उपरीक्षक गोविन्दराज काफ्लेले बताए ।

त्यस्तै सुनकोसी गाउँपालिकाको कमेरेमा पहिरोले पुरेको सडक खुलाउने प्रयास भइरहेको उनले बताए । नेपालथोकमा रोशी खोलाले बीपी राजमार्गको २ सय मिटर खण्ड बगाएको छ, जुन तत्काल बन्ने अवस्था छैन ।

मन्थलीस्थित विमानस्थलमा तामाकोसीको बाढी पसेकाले त्यहाँ उडान गर्न सक्ने अवस्था समेत नभएको रामेछाप नगरपालिकाका मेयर लवश्री न्यौपानेले बताए । तर, प्रारम्भिक हेर्दा विमानस्थलमा भौतिक क्षति नभएको उनले बताए ।

उनका अनुसार बाढीले रामेछाप जोड्ने सुनकोसी नदीमा बनाइएका अधिकांश झोलुंगे पुल पनि बगाएको छ ।

खुर्कोट, सित्खा, नवलपुर, हर्देनी, रामपुरका दुई र बिर्तामा झोलुंगे पुल बगाएको मेयर न्यौपानेले जानकारी दिए । ‘यातायातका माध्यमबाट मात्रै होइन, पैदल हिँडेर पनि रामेछाप आउन जान नसकिने अवस्था आएको छ,’ न्यौपानेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?