+
+

घुर्मी पुल जोगिएको खुशी

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते १९:३५

१३ असोज, काठमाडौं । अत्यधिक वर्षाका कारण सुनेकाशी नदीले दुई वटा पक्की पुल बगाएको छ ।

बिहीबारदेखि परेको वर्षाका कारण सुनकोशी नदीको सतह बढ्दा शनिबार बिहान रामेछाम र सिन्धुली छोड्ने खुर्कोटको पक्की पुल बगायो ।

लगत्तै खोटाङ र उदयपुर जोड्ने फोक्सिङ्टारको पुल पनि सुनकोशीले बगायो । तर धेरैले चिन्ता गरेको घुर्मीको पक्की पुल जोगिएको छ ।

‘छिनछिनमा त्यही पुलको खबर अपडेट गरियो, रातभर निद्रा लागेन । सौभाग्यवश घुर्मीको पुल जोगियो’, ओखलढुंगाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले भने ।

पानीको मात्रा घटेर पुल जोगिएको खबरले धेरैले राहतको श्वास फेर्न सकेको उनी बताउँछन् । ‘मान्छेको ज्यान भन्दा ठूलो सडक र पुलहरु होइनन् । देशभर थुपै्र मानिसको ज्यान गइरहँदा हामीलाई पुलको पीर भन्ने लाग्ला । तर घुर्मीको पुलको पीर हामीलाई असाध्यै भयो’, सांसद खतिवडा भन्छन् ।

बाढीले बगाएको फोक्सिङटारको पुल ।

सांसद खतिवडाकै जस्तो अनुभव र खुशी अहिले सामाजिक सञ्जालभर देखिन्छ । बाढी र पहिरोका कारण देशभर ठूलो संख्यामा जनधनको क्षति भइरहहे पनि घुर्मीको पुल जोगिएकोमा उक्त क्षेत्रका मानिसहरुले खुशी बाँडिरहेका छन् ।

‘यो पुल हाम्रो क्षेत्रका मानिसहरुलाई एउटा सपना नै हो । त्यसैले पानी बढिरहँदा हरेकलाई पीर परेको थियो’, खोटाङका बासिन्दा एमाले पोलिटब्यूरो सदस्य विशाल भट्टराई भन्छन् ।

यो पुलले राजधानी उपत्यका सहित देशका अरु भूभागसँग ओखलढुंगा, सोलुखम्बु, खोटाङ, भोजपुर, संखुवासभा र धनकुटासम्मलाई जोडेको छ । ‘पूर्वी पहाडी जिल्लाहरुलाई यो पुल लाइफलाइन नै हो । यदि यो पुल बगेको भए हामीले धेरै ठूलो क्षति बेहोर्नुपर्थ्यो’, भट्टराई भन्छन् ।

बाढीबाट जोगिएको घुर्मीको पुल ।

यो पुलप्रति ठूलो चिन्ता देखिनुमा निर्माणका निम्ति खर्चिएको समय महत्वपूर्ण भएको नेताहरु बताउँछन् । ‘यहाँ पहिले झोलुङ्गे पुल थियो, त्यो बगायो । पछि अस्थायी व्यवस्थाका लागि फेरि लगाइयो’, भट्टराई भन्छन्, ‘तीन पटक फेरी पनि बग्यो । स्थायी पुल बन्न १२ वर्ष लाग्यो ।’

यो १२ वर्षसम्म यो क्षेत्रका नेता, व्यवसायी र अगुवाहरुले निकै ठूलो पहलकदमी लिनुपरेकाले पनि घुर्मी पुलको चिन्ता देखिएको खतिवडा बताउँछन् ।

‘१२ वर्ष दौडधुप र धर्ना गरेर बनाएको पुल एकैदिनमा लैजाला भन्ने पिर थियो, तर जोगियो’, कांग्रेस केन्द्रीय सदस्य रहेका खतिवडा भन्छन् ।

बाढीले बगाएको खुर्कोट पुल ।

घुर्मीको पुल बगाउला भन्ने चिन्ता हुनुमा खुर्कोट र फोक्सिङ्टारको पुल बग्नु थियो । ‘घुर्मीको पुल निकै होचो स्थानमा थियो । जबकी त्यो भन्दा अग्लो ठाउँमा रहेको खुर्कोटको पुल बग्यो’, सिन्धुलीका पूर्वसांसद गणेश पहाडी भन्छन्, ‘अरु दुई वटा झोलुंगे पुल बग्यो । खुर्कोट, मुलकोट लगायत बजारहरु डुब्यो ।’

खुर्कोटको पुल बग्दा रामछोम जिल्ला सडक सञ्जालबाट बिच्छेद हुन पुग्यो । यो देखेकाले पनि घुर्मीको पुलप्रति त्यस क्षेत्रका नागरिकमा धेरै चिन्ता देखिएको थियो ।

शनिबार बिहान त घुर्मीको यो पुल पानीको सतहले पुरिएको थियो ।

‘पुल भन्दा माथि पानी बगिरहेको छ भन्ने सूचना सुन्दा तनाब बढ्यो । छिनछिनमा सूचना लिइरहे । पानीको सतह घट्यो भनेपछि बल्ल ढुक्क भएँ’, कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले भने ।

यो पुल बन्नु भन्दा अगाडिको दुःख सम्झेर पनि धेरै चिन्ताको विषय बनेको उनी बताउँछन् । ‘यो पुल रणनीतिक महत्वको पनि हो । त्यसैले धेरै चिन्ताको विषय बनेको थियो’, मन्त्री राई भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?