+
+

सर्वदलीय बैठकमा सरकारलाई सुझाव : ढिलाइबाट सिकेर उद्धार, राहत र पुनर्निमाणमा लागौं

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते २०:०३

१३ असोज, काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्वदलीय बैठकमा नेताहरुले पुनर्निर्माणका हुने विगतको ढिलाइबाट सिकेर उद्दार, राहत र पुर्ननिर्माणमा लाग्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

निरन्तरको वर्षाले पुर्‍याएको क्षतिका बारेमा छलफल गर्न कार्यवाहक प्रधानमन्त्री सिंहले आइतबार सर्वदलीय बैठक बोलाएका थिए । राहत र उद्दारका लागि पार्टी कार्यकर्ता परिचालन गर्दा ‘वान डोर’ विधि अपनाउन सरकारलाई सुझाव दिएका छन्। राजनीतिक दलले आफ्ना कार्यकर्ता परिचालन गर्नुभन्दा ‘वान डोर’ माध्यमले सरकारले खटाउन उपयुक्त हुने धारणा कांग्रेस महामन्त्री गगन थापाले राखेका थिए ।

बैठकमा पुनर्निर्माणका कार्यहरु अत्यन्तै सुस्त गतिमा हुने गरेको प्रति नेताहरुले चिन्ता व्यक्त गरेका थिए । जाजरकोट भूकम्प गएको एक वर्ष पुग्न लागेपनि घर बनाउन दिने भनिएको रकम अझै पूरा नगरेको प्रति सरकारको ध्यानाकर्षण गराइएका थियो।

‘राज्य सञ्चालन गर्दा हामी नियन्त्रणमुखी छौं । जटिल कार्यविधि बनाउँदा नागरिकहरुले दोस्रो किस्ता पाउनै सकेनन्,’ महामन्त्री थापाले बैठकमा भने,‘गल्ति सच्याउने बेला छ । तुरुन्त कार्यविधि मन्त्रिपरिषद्बाट सच्याइदिनुस् ।’

बैठकमा विपत आउने पूर्व जानकारी हुँदा समेत तयारी नगरेकोप्रति नेताहरुले विपक्षी नेताहरुले आपत्ति जनाएका थिए । सरकारले रात्रीबस रोक्ने निर्णय उपयुक्त समयमा गरेपनि गाडीहरु ओहोरदोहोर गरिरहेको अवस्था नेताहरुले सुनाएका थिए ।

यातायातका साधन चल्न नदिने सरकारले ठिक निर्णय गरेपनि गाडीहरु रोक्न नसक्नुमा सरकारी कमजोरी भएको नेताहरुले बताएका थिए । ‘कमजोरीलाई गम्भिरतापूर्वक सरकारले लिनुपर्दछ । यसको छानविन गरोस्,’ बैठकमा सहभागी प्रतिपक्ष दलका एक नेताले भने,‘कार्यान्वयन किन भएन भन्ने हाम्रो चासो थियो ।’

गृहमन्त्री रमेश लेखकले नक्खु घटना बारे नेताहरुलाई जानकारी गराएका थिए । सूचना पाउन साथ उद्दारमा सुरक्षाकर्मीहरु सक्रिय रहेको स्पष्टीकरण दिएका थिए । बचाउनका लागि सुरक्षाकर्मीहरु लाग्दा लाग्दैपनि उद्दार गर्न नसकिएको जानकारी गराएका थिए ।

‘उद्दार गर्न जाँदा सुरक्षाकर्मीको डुंगा त्यही पल्टेको हो । जनपद प्रहरीले डोरी फाल्ने काम गरिरहेको थियो,’ लेखकले बैठकमा भने,‘आर्मीको हेलिकोप्टर भिजिबिलिटी नभएर उड्न सकेन।’ सरकारले ३÷४ घण्टासम्म वास्तै गरेन भनी आएका धारणामा सत्यता नभएको लेखकले बताएका थिए ।

बैठकमा सहभागी माओवादीका नेता शक्ति बस्नेतले सरकारको प्रभावकारीता सुस्त देखिएको बताएका थिए । ‘सरकारको गति कम भयो । जाजरकोटको भूकम्प बेलामा धेरै छिटो काम गरिसकेका थियौं,’ बस्नेतले बैठकमा भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट बैठकमा सहभागी दलका उपनेता विराजभक्त श्रेष्ठले यो बेला धेरै प्रतिक्रिया व्यक्त नगर्ने बताएका थिए । ‘विपतको बेलामा अरु पार्टीहरु गालि गर्दैनौं । सरकारलाई पनि गालि गर्दैनौं । हामी सँगसँगै छौं,’ श्रेष्ठले बैठकमा भने,‘सरकारको उपस्थिति भने देखिएन ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बैठकमा सहभागीले पीडितको राहत, उद्दारका काम हेर्ने धारणा राखेका थिए । अहिले आलोचना नगर्ने राप्रपाका नेताको भनाई थियो । राप्रपाले हवाइभाडा महँगो भएको विषय उठान गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?