+
+

सरकारको नालायकीले काठमाडौं–मुग्लिन सडकमा अकल्पनीय मानवीय क्षति

मौसम पूर्वानुमान महाशाखाले बेलैमा गराएको सचेतना र सञ्चारमाध्यमबाट यसको व्यापक प्रचार प्रसार हुँदाहुँदै सयौँ सवारीसाधन र यात्रुलाई राजमार्गमा निस्किन अनुमति दिने राज्यको निर्णय गलत सावित भएको छ ।

अच्युत पुरी अच्युत पुरी
२०८१ असोज १३ गते २०:००

१३ असोज, काठमाडौं । काठमाडौं उपत्यकालाई बाहिरी जिल्लासँग जोड्ने प्रमुख राजमार्ग काठमाडौं–मुग्लिङ आइतबार रातिमात्र बल्ल खुल्यो । अर्को मुख्य राजमार्ग बीपी भने अझै अवरुद्ध छ ।

काठमाडौं–मुग्लिन सडक खण्डको झ्याप्ले खोलामा सवारीसाधन पुरिएको र त्यसमा फसेका यात्रु उद्धार गर्नुपर्दा यो सडक खण्डमा आइतबार अबेर राति मात्रै यातायात सञ्चालन गर्न सकिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

‘यो पहिरो अन्य पहिरो जस्तो सामान्य तरिकाले हटाउन मिल्ने भएन, मानवीय उद्धार र खोजीलाई प्राथमिकता दिनुपरेका कारण सोही अनुसार काम गरियो,’ मन्त्रालयका प्रवक्ता सुशीलबाबु ढकालले भने ।

अर्कातर्फ, काठमाडौंको एक कान्लामुनि नै भएको ठूलो मानवीय क्षतिले सडक प्रयोगकर्ताको सचेतना र राज्य संयन्त्रको व्यवस्थापकीय पाटोमाथि थप प्रश्न खडा गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले बेलैमा गराएको सचेतना र सञ्चारमाध्यमबाट यसको व्यापक प्रचार प्रसार हुँदाहुँदै सयौँ सवारीसाधन र यात्रुलाई राजमार्गमा निस्किन अनुमति दिने राज्यको निर्णय गलत सावित भएको छ ।

नेपाल प्रहरीका अनुसार आइतबार साँझसम्म झ्याप्ले खोला पहिरोमा परी ३५ जनाको मृत्यु भइसकेको छ । भौतिक मन्त्रालयका प्रवक्ता ढकाल औपचारिक संयन्त्रका आह्वानलाई गम्भीर रूपमा नलिँदा यो राजमार्गमा ठूलो मानवीय क्षति भएको बताउँछन् ।

अर्कातर्फ, सरकारको चेतावनीबीच आफ्नो यात्राको योजनालाई दुई दिन पछाडि धकेल्ने चेष्टा नगरेका यात्रुको निर्णय समेत गलत सावित भएको छ ।

पूर्वाधारविद् किशोर थापा सडकमा ‘सेफ्टी फर्स्ट’ अवधारणा अभाव देखिएको बताउँछन् । जसभित्र दुर्घटनामात्र होइन, प्राकृतिक विपदबाट समेत बचेर यात्रा गर्नु हो । यस घटनाले यात्रुको अधैर्यता र राज्यको व्यवस्थापकीय कमजोरी दुवै उजागर भएको उनी बताउँछन् ।

‘सडकमा पहिलो सचेतना यात्रु र चालक आफैंले अपनाउनुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘दोस्रो जिम्मेवारी राज्यको हुन्छ, व्यवस्थापकीय चुस्तताको कमी यहाँ देखियो ।’

सडक विभागका अनुसार आइतबारसम्म देशभरि ४७ स्थानमा राजमार्ग अवरुद्ध छ । तर, सबैभन्दा धेरै मानवीय क्षति यही सडक खण्डमा भएको छ । एक त राजधानी भित्रिने सबैभन्दा व्यस्त सडक, त्यसमाथि अविरल वर्षाबीच रातको समयमा जोखिमपूर्ण स्थानमा लामबद्ध सवारीसाधन पहिरोको चपेटामा आएको देखिएको छ ।

रातको समयमा सवारीसाधनलाई सुरक्षित स्थानमै रोक्ने व्यवस्था गरेको भए यो तहको मानवीय क्षति नहुने थापा बताउँछन् । ‘यस्तो बेला सरकारले जति सक्दो कम क्षति न्यूनीकरण पहल गरी त्यसलाई व्यवहारमा देखाउनुपर्छ, यसमा कमजोरी भएको छ,’ उनले भने ।

झ्याप्ले खोलामा जुन स्थानमा पहिरो गएको छ, त्यस स्थान वरपर नागढुंगा सुरुङ आयोजना र सडक विस्तारको काम समेत जारी थियो । आयोजनाको कामले थिलथिलिएको जमिनमा लगातार वर्षाले पहिरो निम्त्याएको छ । सोहीकारण रातको समयमा वर्षा हुँदा सवारीसाधन रोक्न जोखिमपूर्ण हुने स्थानको पहिचान गरी सुरक्षित स्थानमा सवारी रोक्नुपर्ने उनी बताउँछन् ।

पहिरोका कारण यो सडक बन्द भएपछि सरकार, व्यवसायी र यात्रुले अर्को जोखिम उठाएका छन्, त्यो हो निर्माण पूरा नभएको सुरुङमार्गको प्रयोग । विज्ञहरू यो कामलाई अझ बढी जोखिम मान्छन् ।

‘निर्माण नै सम्पन्न नभएको संरचनालाई निरन्तर प्रयोग गर्दा अर्को जोखिम निम्तिन सक्छ,’ एक पूर्वाधार विज्ञले भने, ‘सानो जोखिमबाट बच्न झन् ठूलो दुर्घटना निम्त्याउने काम गर्नु हुँदैन ।’

दशैं अगाडि राजमार्ग खुल्छन्, पुलको विकल्प आवश्यक

सरकारले नजिकिएको दशैंमा सडक यात्रा सहज गराउन युद्धस्तरमा काम गरिने मन्त्रालयका प्रवक्ता ढकालले बताए ।

‘हामीले सडक विभाग र मातहत निकायलाई दशैं अगाडि सबै राजमार्ग सञ्चालन गर्न स्पष्ट मार्गनिर्देश गरेका छौं,’ उनी भन्छन्, खरिद कार्यालयले समेत विपदका समयमा सोही अनुसार सहजीकरण गर्ने छ ।’

तर, यसबीच पुलहरू भने निर्माण भइनसक्ने उनले बताए । ‘बेलिब्रिजहरू बनाउनुपर्ने छ, तर यो दशैं अगाडि नै सम्भव छैन,’ उनी भन्छन्, ‘हामी स्थानीय तहसँगको समन्वयमा वैकल्पिक सडक खोल्न पहल गर्छौं ।’

सडक विभागका अनुसार काठमाडौं–मुग्लिन सडक खण्ड सूचारु गर्न धेरै समय लाग्ने छैन । तर, बीपी राजमार्गलाई सूचारु गर्न भने केही समय लाग्ने देखिएको छ । अन्य राजमार्गमा भने ठूलो समस्या देखिएको छैन ।

उता, देशभरि बाढी र पहिरोका कारण अवरुद्ध सडक खुलाउन निर्माण व्यवसायीले यन्त्र उपकरण उपलब्ध गराउने जनाएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले आइतबार देशभरिका निर्माण व्यवसायीलाई यन्त्र उपकरण सरकारलाई उपलब्ध गराउन आह्वान गरेको छ ।

महासंघले भनेको छ, ‘विपदको यस घडीमा देशभरिका अवरुद्ध राजमार्ग तथा बाटाघाटा सुचारु गर्न सम्बन्धित सबै निकायलाई आ–आफ्ना यन्त्र उपकरण उपलब्ध गराइ सहयोग गर्न देशभरिका निर्माण व्यवसायीलाई अपिल गर्छौं ।’

पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन समेत सरकारले अपिल गरेको छ । महासंघले देशभरिका निर्माण व्यवसायीलाई क्षतिको विवरण समेत उपलब्ध गराउन भनेको छ । सरकारले समेत देशभरिका सडक डिभिजनलाई सडक क्षतिको विवरण माग गरेको जनाएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?