
१३ असोज, काठमाडौं । नेपालको विद्युत् क्षेत्रले बाढी-पहिरोका कारण लगातार दोस्रो वर्ष अर्बौं रुपैयाँको क्षति बेहोरेको छ । यसपटक १० असोजदेखि परेको पानीले ऊर्जा सिँचाइ क्षेत्रमा करिब ५ अर्बको क्षति भएको र यो अझै बढ्न सक्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । त्यस्तै माथिल्लो तामाकोशी कार्यरत ४ जना कर्मचारी तथा सुरक्षाकर्मी हराइरहेका छन् ।
गत वर्ष नेपालको पूर्वी क्षेत्रमा परेको पानीका कारण बाढी पहिरोले विद्युत् आयोजना र प्रसारण लाइनलगायतमा १० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको थियो । जल तथा मौसम विज्ञान विभागले गरेको पूर्वानुमानमा आधारमा आवश्यक सतर्कता अपनाउँदा अपनाउँदै पनि यति क्षति हुन पुगेको ऊर्जामन्त्री दिपक खड्काले बताए ।
‘सबैतिरबाट विवरण आउन बाँकी छ । जल तथा मौसम पूर्वानुमान विभागले यस्तो बाढी आउने पूर्वानुमान गरेको र त्यसका आधारमा विद्युत् आयोजनाहरूलाई पहिल्यै जानकारी गराउँदा गराउँदै पनि यति क्षति भएको हो । पूर्वानुमान नआएको भए अझै ठूलो क्षति हुने थियो,’ ऊर्जामन्त्री खड्काले बताए ।
गत वर्ष पूर्वी क्षेत्रमा मात्रै आएको बाढीले करिब १० अर्ब रुपैयाँ बराबरको क्षति भएकोमा अहिलेको क्षति कम रहेको पनि ऊर्जामन्त्री खड्काले बताए ।
‘हामीले विद्युत् आयोजनाहरूमा रातमा नबसीदिने, यातायातका साधन नचलाउनेलगायत निर्देशन दिएका थियौँ, त्यसले क्षति कम भएको हो,’ उनले भने ।
बाढी पहिरोले विद्युत् आयोजना, प्रसारण लाइन तथा वितरण प्रणालीमा भएको क्षतिका कारण ११ सय मेगावाट विद्युत् उत्पादनमा अवरोध भएको मन्त्रालयले जनाएको छ ।
उत्पादन रोकिएका आयोजनामध्ये ६ सय २६ मेवावाट उत्पादन क्षमताका ११ वटा जलविद्युत् आयोजनाहरूमा क्षति भएको र आपतकालीन अवस्थामा अधिकांश विद्युतगृहहरूको उत्पादन बन्द समेत रहे अनुसार करिब ११०० मेगावाट बराबरको उत्पादन रोकिएको जानकारी ऊर्जा मन्त्रालयले दिएको छ ।
त्यस्तै कुल १ हजार १० मेवाजडित विद्युत् क्षमताको १५ वटा निर्माणाधीन जलविद्युत् आयोजनाहरूमा क्षति भएको उर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले बताए ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो तामाकोशीलगायत आयोजनामा ठूलो मात्रामा क्षति पुगेको र यसको यथार्थ विवरण आउन बाँकी रहेको बताए ।

माथिल्लो तामाकोशी आयोजनाबाट नदीले बगाएका चार कर्मचारीहरू अहिलेसम्म पनि भेटिएका छैनन् । आयोजनाको बाँध स्थलमा अवस्थित कन्ट्रोल रुममा पूर्णरूपमा क्षति भएको, सेटलिङ बेसिन र बक्स बेसिन र बक्स कल्भर्टमा थुप्रिएको घिसिङले जानकारी दिए ।
‘यसको पुनर्निर्माण कहिले सम्पन्न होला भन्न सकिने अवस्था छैन । हिउँदसम्म पनि मर्मतसम्भार सकिएन भने ऊर्जाको व्यवस्थापनमा समस्या आउन सक्छ,’ उनले भने ।
काबेली करिडोरका तीनवटा टावरमा क्षति भएको र त्यसका कारण पूर्वाञ्चलमा आउने २ सय मेगावाट विद्युत् बन्द हुन पुगेको घिसिङले बताए ।
‘त्यसबाट इलाम फिदिम ताप्लेजुङको आपूर्ति बन्द भएको छ । हामी दमकबाट ब्याकफिड गरी त्यस क्षेत्रमा आपूर्ति दिने प्रक्रियामा छौं,’ घिसिङले भने । त्यसलाई पुनर्स्थापनाका लागि टोली पठाउन खोजेकोमा हवाई टिकट नपाएकाले समस्या भएको उनले बताए ।
त्यस्तै खिम्ती लामोसाँघु खण्डमा एउटा टावर तामाकोशीले बगाएकोले २ सय मेगावाट विद्युत् लिन नसकिएको उनले बताए । यो काठमाडौंलाई पनि विद्युत् आपूर्ति गर्ने प्रसारण लाइन हो । साथै, त्यही क्षेत्रमा रहेको खिम्ती ढल्केबर २२० केभी प्रसारण लाइनको एउटा टावर निकै जोखिममा रहेको र त्यसमा क्षति पुगे ८ सय मेगावाट विद्युत् प्रसारण बन्द हुने घिसिङले बताए । त्यसलाई जोगाउने प्रयास भइरहेको उनले बताए ।
टावरमा क्षति पुग्दा त्यसको असर एउटा आयोजनामा पुगेको भन्दा बढी हुने उनको भनाइ थियो ।
‘एउटा आयोजनामा क्षति पुग्यो भने त्यसको मात्रै उत्पादन बन्द हुन्छ तर एउटा टावर ढल्दा धेरैवटा विद्युत् आयोजनाको विद्युत् प्रसारण हुन सक्दैन,’ उनले भने ।
वितरण लाइनहरुमा पनि धेरै ठूलो समस्या भएको उनले बताए । ‘पानी परिरहेका बेला वितरण प्रणालीमा पोल ढलेको, ट्रान्सफर्मरमा समस्या आएकोलगायत कारण मानवीय क्षति नहोस् भनेर विद्युत् आपूर्ति बन्द गरिएकोमा तीमध्ये अधिकांश खुलाइएको उनले बताए ।
विद्युत् निर्यातको मात्रा घट्यो
बाढी पहिरोको कारण विद्युत् उत्पादन र प्रसारणमा अवरोध आएपछि नेपालबाट भारत निर्यातको मात्रा पनि घटेको घिसिङले जनाए । यसअघि नेपालबाट करिब साढे ८ सय मेगावाट विद्युत् निर्यात गरिरहेकोमा अहिले २ सय ५० देखि ३ सय मेगावाट मात्रै विद्युत् निर्यात भइरहेको उनको भनाइ थियो ।
तर नेपालमा विद्युत् आपूर्ति गर्न नपुग्ने अवस्था आयो भने निर्यात बन्द गरेर भए पनि देशभित्रै वितरण गरिने उनले बताए ।
‘हिजो निर्यात गर्न भनेर हामीले करिब ८ सय मेगावाटको बिड गरेका थियौं । तर बाढी पहिरोका कारण आपूर्ति गर्न सकेनौं । त्यसबापत पेनाल्टी पनि तिर्नुपर्ने हुनसक्छ,’ उनले भने ।
पुनर्निर्माणमा सघाउन निजी क्षेत्रको माग
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानले गत वर्ष क्षति भएको आयोजनाहरूको पुनर्निर्माण र मर्मत गर्ने काम बाँकी रहेको अवस्थामा पुनः ठूलो नोक्सानी बेहोर्नुपरेको जनाएको छ ।
‘भ्याट छुट दिने विषयमा अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालयबीच जुहारी चलिरहेको छ । यो विषय चाँडै नटुंगिए निजी क्षेत्रले चाँडै आयोजना पुनर्निर्माण गर्न सक्दैनन् । त्यसो हुँदा यो विषय टुंगियोस्,’ इपानका अध्यक्ष गणेश कार्कीले बताए ।
बनाउँदै गरेका सामान बगाएर लगेको छ जुन तत्काल आयात गर्नुपर्ने छ, त्यसो हुँदा भ्याटको विषय चाँडै टुंगिनुपर्ने उनले बताए । सडक र पुलमा पनि ठूलो मात्रामा क्षति पुगेकाले परियोजना समयमा सम्पन्न नहुने जोखिम रहेको उनले बताए । उसमा मन्त्रालय र प्राधिकरणले सहजीकरण तथा पुनर्कर्जा प्रदान गर्न सहजीकरण गरिदनुपर्ने उनले बताए ।
मन्त्री खड्काले आयोजनाको पुनर्निर्माण गर्न सरकारले सहजीकरण गर्ने बताए । आयोजनाहरूले पाउनुपर्ने बीमाको भुक्तानी दिलाउन पनि पहल गर्ने उनले बताए ।
कुन विद्युत् आयोजनामा कस्तो क्षति ?
आयोजनाको नाम | जिल्ला | जडित विद्युत् क्षमता (मेगावाट) | बाढी पूर्वको अवस्था | भौतिक क्षतिको विवरण | क्षतिको अनुमानित वित्तीय लागत |
अपर तामाकोशी जलविद्युत् आयोजना | दोलखा | ४५६ | सञ्चालनमा रहेको | बाँध स्थलमा अवस्थित कन्ट्रोल रुममा पूर्णरुपमा क्षति भएको, सेटलिङ बेसिन र बक्स बेसिन र बक्स कल्भर्टमा थुप्रिएको, ४ जना कर्मचारी सम्पर्कविहीन | यकिन हुन बाँकी |
अपर त्रिशूली-१ जलविद्युत् आयोजना | रसुवा | २१६ | निर्माणाधीन | क्याम्प हाउस, पहुँचमार्गमा क्षति र ३ वटा कन्टेनर बगाएको | १० करोड रुपैयाँ |
बागमती साना जलविद्युत् आयोजना | मकवानपुर | २२ | संचालनमा रहेको | (पाँच सय वर्षमा एकपटक आउने किसिमको बाढी) विद्युत् गृह पूर्णरूपमा डुबेको | १ अर्ब रुपैयाँ |
तल्लो हेवा खोला जलविद्युत् आयोजना | पाँचथर | २२.१ | गत वर्षको बाढीबाट पनि प्रभावित | विद्युत गृह डुबानमा परेको | २५ करोड रुपैयाँ |
हेवा खोला ए | पाँचथर | १४.९ | गत वर्षको बाढीबाट पनि प्रभावित | पुनः निर्माण सकेर संचालनमा आउनै लाग्दा पुनः क्षतिग्रस्त भएको | यकिन हुन बाँकी |
सोलु दुधकोशी जलविद्युत् आयोजना | सोलुखुम्बु | ८६ | संचालनमा रहेको | (एक हजार वर्षमा एकपटक आउने किसिमको बाढी) हेडवर्क्समा क्षति भई उत्पादन बन्द रहेको, करिब दुई दिनमा सुचारु हुने अनुमान रहेको | यकिन हुन बाँकी |
माइखोला क्यासकेड जलविद्युत् आयोजना | इलाम | ३ | संचालनमा रहेको | बाँध र टेलरेसमा क्षति भई उत्पादन बन्द रहेको | ५ करोड |
माइखोला जलविद्युत् आयोजना | इलाम | ९.६ | संचालनमा रहेको | बाँध र प्रसारण लाइनमा क्षति भई उत्पादन बन्द रहेको | ७ करोड |
फेमे खोला जलविद्युत् आयोजना | पाँचथर | १ | संचालनमा रहेको | बाँध र विद्युतगृहमा पूर्णरूपमा क्षति भएको | १० करोड |
सिउरी खोला जलविद्युत् आयोजना | लमजुङ | ५ | संचालनमा रहेको | टेलरेस, इन्टेक र टनेलमा क्षति भएको | २ करोड |
सुपरन्यादी जलविद्युत् आयोजना | लमजुङ | ४० | निर्माणाधीन | पहुँचमार्ग र प्रोटेक्सन वालमा क्षति भएको | यकिन हुन बाँकी |
इलेप खोला तातोपानी जलविद्युत् आयोजना | धादिङ | २५ | निर्माणाधीन | पहुँचमार्गमा क्षति भएको | यकिन हुन बाँकी |
हेवा खोला जलविद्युत् आयोजना | संखुवासभा | ५ | निर्माणाधीन | क्रसर पुरिएको, पहुँचमार्गमा क्षति, प्रसारणलाइनको टावर ढलेको, पावर हाउसमा जडान गर्न ल्याइएका सामाग्री बगाएको | १० करोड |
सभाखोला बी जलविद्युत् आयोजना | पाँचथर | १५.१
|
निर्माणाधीन | पहुँचमार्ग, पावरहाउस पुरिएको, बाँधमा क्षति र अस्थायी पुल बगाएको | ७ करोड |
सभाखोला सी जलविद्युत आयोजना | पाँचथर | ६.३ | निर्माणाधीन | पहुँचमार्गमा क्षति | ३ करोड |
लान्द्रुक मोदी जलविद्युत् आयोजना | कास्की | ८६.५९ | निर्माणाधीन | पहुँचमार्गमा क्षति | ८ करोड |
सुपर त्रिशूली जलविद्युत् आयोजना | नुवाकोट | १०० | निर्माणाधीन | २ वटा स्काभेटर बगाएको, २ वटा लोडर र ३ वटा ट्रिपर बगाएको, बेलीब्रिज बगाएको, पावर हाउस स्काभेसन पुरिएको | २५ करोड |
लाङटाङ खोला जलविद्युत् आयोजना | रसुवा | २० | निर्माणाधीन | बाँध, क्याम्प हाउस र पहुंचमार्गमा क्षति भएको | यकिन हुन बाँकी |
खानी खोला जलविद्युत् आयोजना | ललितपुर | २ | संचालनमा रहेको | पावर हाउस डुबेको, प्रसारणलाइनको टावर ढलेको, स्वचयार्डमा क्षति, ड्याम र हेडरेस टनेल र पहुँचमार्गमा क्षति | १० करोड |
टुङ्गुन ठोस्ने जलविद्युत् आयोजना | ललितपुर | ४.३६ | संचालनमा रहेको | पावर हाउस डुबेको, प्रसारणलाइनको टावर ढलेको, स्वचयार्डमा क्षति, ड्याम र हेडरेस टनेल र पहुँचमार्गमा क्षति | १५ करोड |
माया खोला जलविद्युत् आयोजना | संखुवासभा | १४.९ | निर्माणाधीन | बाँध र पहुँचमार्गमा क्षति | २ करोड |
लाप्चे खोला जलविद्युत् आयोजना | दोलखा | ९९.४ | निर्माणाधीन | पहुँच मार्ग, अडित रोड र क्याम्प क्षेत्रमा क्षति भएको | यकिन हुन बाँकी |
भोटेकोशी-१ जलविद्युत् आयोजना | सिन्धुपाल्चोक | ४० | निर्माणाधीन | सुरुङ मार्गमा क्षति भएको | यकिन हुन बाँकी |
तल्लो सोलु जलविद्युत् आयोजना | सोलुखुम्बु | ८२ | निर्माणाधीन | विद्युत गृह र बाँधस्थलमा पहिरो गएको | यकिन हुन बाँकी |
तनहु जलविद्युत् आयोजना | तनहुँ | १४० | निर्माणाधीन | भारी वर्षाका कारण निर्माण स्थलमा पानी जमेको र क्रेनमा क्षति भएको | यकिन हुन बाँकी |
रसुवा भोटेकोशी जलविद्युत् आयोजना | रसुवा | १२० | निर्माणाधीन | निर्माण सामग्रीहरूमा क्षति पुगेको | यकिन हुन बाँकी |
प्रसारण तर्फ
सि.नं. | प्रसारण लाइन | सर्किट संख्या | टावर नं. | क्षतिको विवरण | क्षतिको अनुमानित लागत | कैफियत |
१ | काबेली कोरिडोर अन्तर्गतको दमक-गोदक १३२ केभी प्रसारण लाइन | २ | ५०, ५१, ५२ | टावरमा क्षति | ५ अर्ब २५ करोड | यस कोरिडोर अन्तर्गत गोदक सबस्टेसनमा जोडिएको ९.६ मेगावाटको सुपरमाई ए जलविद्युत् आयोजनाको ३३ केभी लाइनको करिब १० वटा पोल बगाएको र सुपरमाई ए क्यास्केड जलविद्युत् आयोजनाको ३३ केभी लाइनको ३ वटा पोल बगाएको, काबेली बी-१ क्यास्केडको ३३ केभी लिनको एउटा पोल ढलेको |
२ | खिम्ती-लामोसांगु १३२ केभी प्रसारण लाइन | १ | २ | टावरमा क्षति | १ अर्ब ५० करोड | |
३ | सोलु कोरिडोर | २ | प्रमुख लाइनमा क्षतिको विवरण प्राप्त नभएको तथापि सो सँग आबद्ध केही सबस्टेसनमा क्षति भएको | यस कोरिडोरअन्तर्गत तिङला सबस्टेसनमा जोडिएको १२ मेगावाटको सोलु दुधकुण्डको ३३ केभी लाइनको ३ वटा पोल ढलेको र तारमा क्षति भएको |
वितरण तर्फ
प्रादेशिक वितरण केन्द्र | क्षति सम्बन्धी विवरण | कैफियत | |||||
हाई टेन्सन पोल | लो टेन्सन पोल | ट्रान्सफरमर | लाइनको लम्बाइ | ||||
गण्डकी | १५ वटा | यकिन हुन बाँकी | |||||
लुम्बिनी | ४१ | १०२ | ४ | करिब ७०० मिटर | यकिन हुन बाँकी | ||
कर्णाली | २१२ | २६० | करिब १.३८ करोड | ||||
सुदूरपश्चिम | ४२ | ३७ | ८ | यकिन हुन बाँकी | |||
कोशी | १८२ | १६१ | ३ | यकिन हुन बाँकी | |||
मधेश | १४८ | १८० | २ | करिब ३५०० मिटर | यकिन हुन बाँकी | ||
बागमती | ३९४ | ३७२ | १५ | यकिन हुन बाँकी |
सिँचाइ र नदी नियन्त्रणमा डेढ अर्बको क्षति
मन्त्रालयका अनुसार सिँचाइ र नदी नियन्त्रणतर्फ बाढी पहिरोका कारण करिब डेढ अर्बको क्षति भएको छ । सुनसरी मोरङ सिँचाइ आयोजना अन्तर्गतका १० वटा शाखा नहरहरूको टेल करिब ५ करोड रुपैयाँको क्षति भएको अनुमान रहेको सिँचाइ मन्त्रालयका महानिर्देशक सञ्जीव बरालले बताए ।
त्यस्तै बाग्मति सिँचाइ आयोजनामा पूर्वी मूल नहर र पश्चिम मूल नहर एवं शाखा नहरहरूमा क्षति पुगेको र त्यसको लागत ५ करोड ४० लाख रुपैयाँ रहेको उनले बताए ।
झाँझ सिँचाइ आयोजना अन्तर्गतको नहरमा ३ करोड रुपैयाँको अनुमानित क्षति भएको जनाइएको छ । कोशी पम्प चन्द्र नहर आयोजनामा माहुली खोलाले क्षति गरेको, कमला सिँचाइ व्यवस्थापन आयोजना अन्तर्गत बाँधको तल्लो क्षेत्रमा क्षति पुर्याएको पनि जनाइएको छ ।
घुर्मी नदीमा रहेको १४० मी लम्बाइको साइफनमा क्षति पुर्याएको र बताहा नदीमा रहेको साइफनमा क्षति पुर्याई उच्च जोखिममा रहेको र त्यसको अनुमानित क्षतिको लागत ५ करोड रुपैयाँ रहेको जनाइएको छ ।
सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना, सिन्धुली अन्तर्गत निर्माणाधीन कफर ड्याम डुबानमा परेको छ । त्यहाँ ठूलो क्षतिको अनुमान भए पनि लागत अनुमान गर्न कठिन भएको महानिर्देशक बरालले जनाए ।
महाकाली सिँचाइ आयोजना, कञ्चनपुर लगायत अन्य क्षेत्रमा भदौ महिनामा आएको बाढीले ठूलो क्षति पुर्याई करिब १ अर्ब १४ करोडको क्षति पुर्याएको विभागले जनाएको छ ।
यसका साथै ११ र १२ असोजमा आएको अबिरल वर्षाले गर्दा विभिन्न क्षेत्रमा नदी कटान, डुबान तथा बाढीले नदी नियन्त्रण तर्फ करिब १ अर्ब १६ करोड २० लाख क्षति पुर्याएको मन्त्रालयले जनाएको छ ।
‘हालसम्म प्राप्त तथ्यांक अनुसार नदी नियन्त्रण तथा सिंचाई समेत गरी कुल करिब १ अर्ब ३५ करोड र विद्युत आयोजना तर्फ करिब ३ अर्ब गरि कुल करिब ४ अर्ब ३५ करोडको क्षति रहेको देखिन्छ,’ मन्त्रालयले उल्लेख गरेको छ ।
प्रतिक्रिया 4