+
+

विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १४ गते ७:२९

१४ असोज, काठमाडौं । अविरल वर्षाले भएको जनधनको क्षतिबारे छलफल गर्न विपद व्यवस्थापन कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज बिहान ८ बजे राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो ।

असोज ११ र १२ गते बाढी, पहिरो र डुबानका कारण भएको क्षतिबारे छलफल गरी खोज, उद्धार, राहत र पुनर्निर्माणबारे निर्णय गर्न बैठक बोलाइएको हो ।

बैठकमा मृतकका परिवारलाई राहत, घाइतेको उपचार, घर क्षति भएकालाई घर बनाउनका लागि रकम वितरण बाटोघाटो, पुल, पुलेसा पुनर्निर्माण लगायतका निर्णय गर्ने तयारी छ । पहिरोका कारण राजधानी काठमाडौंको लाइफलाइन नै बन्द भएको छ ।

साथै प्रभावित क्षेत्रमा आउनसक्ने स्वास्थ्य महामारी रोक्नका लागि आवश्यक काम गर्न स्वास्थ्य मन्त्रालयमार्फत् स्वास्थ्यकर्मी परिचालन गर्ने, स्वच्छ पिउने पानीको व्यवस्थापन पर्ने लगायतका निर्णय गर्ने तयारी पनि भएको कार्यकारिणी समितिका एक सदस्यले बताए ।

यसअघि गृहमन्त्रालयको आन्तरिक बैठकले शुक्रबार र शनिबार गृह प्रशासन अन्तर्गतका अन्तरनिकायबीच समन्वयमै चुक हुँदा ठूलो मानवीय क्षति भएको निष्कर्ष निकालेको थियो ।

असोज ११ र १२ गते दुई दिनको अवधिमा बाढी पहिरोका कारण बागमती, कोशी, काठमाडौं उपत्यका र मधेश प्रदेशमा गरी जम्मा १८८ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीको विवरण अनुसार बागमती प्रदेशमा ८५ जना, काठमाडौं उपत्यकामा ७९ जना, कोशी प्रदेशमा २१ जना र मधेश प्रदेशमा ३ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?