+
+

थाइल्यान्डको दुसित इन्टरनेसनल र नेपालको पाल्जोर ग्लोबल कर्पबीच रणनीतिक साझेदारी सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १४ गते १५:२०

१४ असोज, काठमाडौं । थाइल्यान्डको होटल तथा प्रपर्टी व्यवस्थापन कम्पनी दुसित इन्टरनेसनलले दक्षिण एसियामा बजार विस्तार गर्न नेपालको पाल्जोर ग्लोबल कर्पसँग रणनीतिक साझेदारी सम्झौता गरेको छ ।

नेपालको लक्जरी कार्पेट उत्पादक तथा लगानी कम्पनी पाल्जोर ग्लोबल कर्प प्रालिसँगको साझेदारीमा दुसित इन्टरनेसनलले आफ्ना विविध अवसर नेपाल र समग्र दक्षिण एसियामा उपयोग गर्ने जनाएको छ ।

पाल्जोर ग्लोबल कर्पले काठमाडौंमा सञ्चालन गर्दै आएको होटल दुसित प्रिन्सेसको व्यवस्थापन दुसित इन्टरनेसनलले सम्हाल्दै आएको छ ।

यो साझेदारीले दक्षिण एसियाली बजारमा नयाँ होटल परियोजना पहिचान र व्यवस्थापनमा दुसित होटल्स तथा रिसोर्टका लागि पाल्जोरको बलियो उपस्थितिले थप मद्दत पुग्ने छ ।

त्यसैगरी दुसित इन्टरनेसनलले दसित प्रिन्सेस काठमाडौंको साझेदारीमा काभ्रे धुलिखेलमा दुसित थानी हिमालयन रिसोर्ट पनि सञ्चालन गरिरहेको छ । दुवै होटल तथा रिसोर्ट जुलाई २०२३ मा स्थापना भएका थिए ।

यीबाहेक पाल्जोर ग्लोबल कर्पले होटल तिब्बत प्रालि, होटल तिब्बत इन्टरनेसनल प्रालि र यकाती याक होस्टल सञ्चालन गरिरहेको छ ।

नयाँ सम्झौताले दुसितका स्थापित ब्रान्ड दुसित थानी, दुसित रिट्रिट्स, दुसित डीटु, दुसित प्रिन्सेस, दुसित सुइट्स, आसाई होटल्स र दुसित कलेक्सन मार्फत पाल्जोरलाई आफ्नो सञ्जाल विस्तार गर्न महत्त्वपूर्ण सहयोग पुग्ने जनाइएको छ ।

पाल्जोर ग्लोबल कर्पले नेपाल बाहेक बंगलादेश, म्यानमार, श्रीलंका, तिब्बत, भुटान र उत्तरपूर्वी भारतमा दुसित ब्रान्डमा नयाँ होटल परियोजना पहिचान गरिरहेको छ भने विद्यमान् होटलमा भने विस्तारको काम गरिरहेको छ ।

त्यसैगरी पाल्जोर ग्लोबल कर्पले दुसितको आतिथ्य सत्कार शैक्षिक संस्था दुसित थानी कलेजसँग पनि सहकार्य गर्ने लक्ष्य लिएको छ ।

‘पाल्जोर ग्लोबल कर्पसँगको यो रणनीतिक साझेदारीले दक्षिण एसियाको आतिथ्य सत्कार उद्योगमा दुसित थानीको प्रतिबद्धतालाई पुनः उजागर गरेको छ,’ दुसित इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत गिलेस क्रेटाल्लाजले भने, ‘पाल्जोर जस्तो विश्वासिलो साझेदारीको साथले आतिथ्य सत्कार उद्योगमा हामी धेरै अगाडि बढ्न सक्छौं ।’

पाल्जोर ग्लोबल कर्पका अध्यक्ष दोर्जेग्याल्जेन लामाले दुसित इन्टरनेसनलसँगको साझेदारीबाट दुवै कम्पनीबीचको सहकार्य थप गहिराइमा पुग्ने र यसबाट समग्र दक्षिण एसियामा आतिथ्य सत्कार उद्योगमा नयाँ उत्साह जाग्ने बताए ।

‘दुसितका भिन्नै आतिथ्य सत्कार, शिक्षा र खानाबाट पाहुना, विद्यार्थी र समदाय मात्र नभई नेपाल र समग्र दक्षिण एसियाली क्षेत्रमा सेवा तथा दिगोपनामा नयाँ आयाम थप्ने विश्वास छ,’ लामाले भने, ‘यो सम्झौताबाट जीवनस्तर सुधार गर्न र भावी पुस्तालाई थप प्रोत्साहन गर्ने हाम्रो प्रतिबद्धतामा थप वल मिलेको छ ।’

दुसित इन्टरनेसनलले हाल ८ ब्रान्ड मार्फत ३ सयभन्दा बढी होटल तथा रिसोर्ट व्यवस्थापन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?