+
+

हेलिकप्टरले देख्दैन पैदल हिंड्नेको चोट (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८१ असोज १४ गते १६:३३

१४ असोज, भकुण्डेबेसी । काभ्रेको भकुण्डेबेसी र मंगलटार आसपासको आकाशबाट पटक–पटक सेनाको हेलिकप्टर आउ–जाउ गरिरहन्छ । तर, बीपी राजमार्गमा भोकै खाली खुट्टा हिंडिरहेका अलपत्र यात्रुहरूका लागि ती हेलिकप्टर आकाशतिर हेर्नका लाग मात्रै भएको छ ।

काठमाडौंबाट पूर्वका विभिन्न जिल्लातर्फ गएकाहरुले शुक्रबार बाढी पहिरोले राजमार्ग अवरुद्ध गरेपछि २ दिन उद्धार हुने आशामा बिताएका थिए । तर, आइतबार वर्षा रोकिएर मौसम सफा भइसक्दा पनि सरकार उद्धारका लागि पुगेन ।

त्यसपछि उनीहरु ब्याग र झिटीगुण्टा बोकेर काठमाडौंतर्फ हिंडे । उनीहरुको टाउको माथिबाट पटक–पटक फन्को मार्ने नेपाली सेनाका हेलिकप्टरमा केही यात्रुको उद्धार त भएको छ, तर धेरै यात्रुका लागि ती हेलिकप्टरहरु आकाशको फलजस्तै बनेका छन् ।

सरकारले बढी समस्यामा परेका यात्रीलाई हेलिकप्टरमार्फत उद्धार गरेको भनेको छ । तर, यो यात्रामा हिंडिरहेकालाई थाहा छ, यहाँ समस्या नपरेका र जोखिममुक्त को छन् र ?

पहिरो, हिलाम्ये सडक, घामले तातेको पिच छिचोल्दै २ दिनसम्म हिंड्दा पनि उनीहरुले गन्तव्यमा पुग्न कति समय लाग्छ भन्ने भेउ समेत पाउन सकेका छैनन् ।

कष्टकर यात्राले कतिपय यात्रुको खुट्टा चोटग्रस्त भइसकेका छन् । कोही बिरामी परिसकेका छन्, कोही थाकेर पाइला सार्न समेत पीडा भोगिरहेका छन् ।

कतिपय यात्रु खुट्टामा ब्यान्डेज बाँधेर रगत बगिरहेको खुट्टाकै सहारामा हिलो र तातो पिच सहँदै लम्किरहेका छन् ।

घाउको दुखाइ सहन नसके र लम्किन नसके समूहबाट पछि पर्ने अवस्था छ । बलिया युवालाई पनि सकसमा पारिसकेको यो पैदल यात्रामा वृद्ध उमेरदेखि बच्चाहरुसम्म छन् । एकले अर्कोलाई साहारा ठान्नुबाहेक यहाँ अरु विकल्प र साथी छैनन् ।

जोखिमले भरिएको यो यात्रामा कमजोरहरुलाई थाक्ने छुट छैन । त्यसैले त ठूलो भारी बोकर पनि आशा बोकेर हिंडिरहेकाहरुलाई बेला–बेलामा आकाशबाट ठूलो आवाजसहित उड्ने हेलिकप्टर देख्दा यो देशमा सरकार पनि छ ? भन्ने सम्झना आउँछ ।

तर, आकाशबाट हेलिकप्टरले न उनीहरुको खुट्टाको घाउ देख्छ, न उनीहरुको दुःख बुझेर गन्तव्यमा पुर्‍याउने गरी जमिनमा ओर्लिन्छ ।

४ दिनसम्म अलपत्र छाडेर सरकारले गरेको बेवास्ताबारे गुनासो गर्न समेत यात्रुसँग अरु कोही छैनन् । उनीहरु बेसहारा भएर यात्रामा छन् ।

हेर्नुहोस् थप तस्वीरहरु  

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?