+
+

‘बेहुली फ्रम मेघौली’को बुकिङ खुल्यो, शोलाई अकुपेन्सीमा बदल्नुपर्ने चुनौती

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १४ गते १८:२६

काठमाडौं । हलले स्वस्तिमा खड्का स्टारर फिल्म ‘बेहुली फ्रम मेघौली’को अग्रिम टिकट बिक्री खुला गरेका छन् । यो फिल्म बिहीबारदेखि देशव्यापी प्रदर्शन हुँदैछ ।

क्यूएफएक्सले काठमाडौं उपत्यकास्थित आफ्ना फ्रेन्चाइजमा २७ शो उपलब्ध गराएको छ । उपत्यकाबाहिर १७ शो प्रदान गरिएको छ । क्यूएफएक्सको यो शो संख्यामा बढोत्तरी हुनसक्ने देखिन्छ किनभने उक्त मितिमा अन्य नयाँ फिल्म छैनन् ।

आईएनआईले १६ शो दिएको छ । दर्शकको मागअनुसार फिल्मको अकुपेन्सीमा वृद्धि हुने आईएनआईका निर्देशक सुरेन्द्र थापाले बताए । उनका अनुसार हिन्दी फिल्म ‘देवरा’ले सोचेअनुसार अकुपेन्सी होल्ड नगर्दाको फाइदा ‘मेघौली’ले उठाउन सक्छ ।

वान सिनेमाज सहितका हलले पनि यो सोसल तथा कमेडी ड्रामा फिल्मको बुकिङ खुलाउने तयारी गरेका छन् । सो मितिमा अन्य फिल्म नभएको र प्रचारअघि नै फिल्मले चर्चा बटुलेकाले फिल्मको ओपनिङ सन्तोषजनक हुनसक्ने अनुमान छ ।

अब यो फिल्मले आफूले प्राप्त गरेका शोलाई अकुपेन्सीमा बदल्नुपर्ने चुनौती छ । यसका लागि फिल्मले बलियो वर्ड अफ माउथ प्राप्त गर्नुपर्ने हुन्छ । ३० वर्ष उमेर पुगेकी युवतीले योग्य वर पाउन गर्नुपर्ने संघर्ष र हैरानीको कथावस्तुमा फिल्म बनेको छ । नेपाली समाजको जल्दोबल्दो वैवाहिक प्रवृत्तिलाई लिएर बनाइएको फिल्ममा स्वस्तिमासहित निश्चल बस्नेत, विजय बराल लगायतको अभिनय छ ।

शुक्रबारदेखि हलिउडको ‘जोकर २’

वितरण कम्पनी एप्पल इन्टरटेनमेन्टले ज्याक्विन फिनिक्स र लेडी गागा स्टारर यो फिल्मलाई बिहीबार बेलुका पेड–प्रिभ्यू स्क्रिनिङको आयोजना गरेको छ । क्यूएफएक्सको छाया हलमा बेलुका ६ बजे प्रिमियर हुने जनाइएको छ ।

जोकरको दोस्रो श्रृंखला शुक्रबार रिलिज हुने भएपछि क्यूएफएक्स सहितका हलले ‘बेहुली फ्रम मेघौली’को बिहीबारको मात्र शो सार्वजनिक गरेका छन् ।

जोकर २ बुधबार नै भारतमा रिलिज हुने भएकाले यसको रिभ्यू आइसक्नेछ । यसै महिना भेनिसमा प्रिमियर भइसकेको यो फिल्मको समीक्षा मिश्रित आइसकेको छ । तर नेपालका अंग्रेजी दर्शकमाझ यसको प्रतीक्षा भएकाले यसको ओपनिङ सुखद हुनसक्ने प्रक्षेपण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?