+
+
बाढी-पहिरो कहर :

पुल र सडकमा साढे २ अर्ब क्षति

बीपी र अरनिको राजमार्ग पूर्णरूपमा सञ्चालनमा आउने दिन अनिश्चित

सडक विभागका महानिर्देशक रामहरि पोखरेलका अनुसार देशभरि २१ हजार ५ सय मिटर सडक क्षतिग्रस्त भएको छ । जसको मर्मत गरी यातायात सञ्चालन गर्न अनुमानित १ अर्ब ५० करोड रुपैयाँ लाग्ने अनुमान छ ।

अच्युत पुरी अच्युत पुरी
२०८१ असोज १४ गते १९:५६

१४ असोज, काठमाडौं । ठूलो वर्षापछि आएको बाढी र पहिरोका कारण देशभरि पूर्वाधारमा साढे २ अर्ब रुपैयाँ हाराहारी क्षति भएको प्रारम्भिक अध्ययनले देखाएको छ ।

सडक विभागका महानिर्देशक रामहरि पोखरेलका अनुसार देशभरि २१ हजार ५ सय मिटर सडक क्षतिग्रस्त भएको छ । जसको मर्मत गरी यातायात सञ्चालन गर्न अनुमानित १ अर्ब ५० करोड रुपैयाँ लाग्ने अनुमान छ ।

देशभरि २ सय मिटर लम्बाइ बराबर बेलिब्रिज बगेका छन् । जसको मर्मतमा २० करोड रुपैयाँ लाग्ने अनुमान सडक विभागको छ ।

त्यसैगरी ५ पक्की पुल पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । जसको लम्बाइ ४ सय १० मिटर छ । यसको मर्मत गरी यातायात सञ्चालनमा ल्याउन ८२ करोड रुपैयाँ हाराहारी लाग्ने अनुमान छ ।

सडक विभागका अनुसार सोमबार साँझसम्म १४ राजमार्गका ४२ स्थानमा सडक अवरुद्ध छ । सबैभन्दा बढी प्रभावित राजमार्गमा अरनिको, बीपी, कान्ति, पुष्पलाल मध्यपहाडी, मेची, मदन भण्डारी, कालीगण्डकी छन् ।

त्यस्तै सुनकोसी पुल (खुर्कोट), सिन्धुरेटार, फोक्सिङ्टारका पक्की पुल छन् । साथै, अरनिको राजमार्गस्थित लिपिङ पुल र इलाम माइपोखरी सडकको राते खोला पुल समेत बाढीले बगाएको छ । दुई बेलिब्रिजमा क्षति पुगेको छ । जसमा लार्चा र हेवा खोला पुल क्षतिग्रस्त छन् ।

पुथ्वी राजमार्ग एकतर्फी खुल्यो, बीपी अनिश्चित

सडक विभागका अनुसार पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन खण्डका विभिन्न स्थानमा अहिले पनि अवरोध छ । पहिरो हटाएर यस राजमार्गमा एकतर्फी यातायात भने सुचारु भएको छ ।

त्रिभुवन राजपथका विभिन्न स्थानमा पहिरो गएको थियो । यस राजमार्गमा समेत अवरोध हटाइ अहिले यातायात सुचारु भएको छ । गल्छी–त्रिशुली–बेत्रावती–धुन्चे–स्याफ्रुबेँसी–रसुवागढीका विभिन्न खण्डमा पहिरोले क्षति पुर्‍याएको छ । यस राजमार्गको समेत विभिन्न स्थानको अवरोध हटाइ यातायात खुलाइएको छ ।

बीपी राजमार्ग भने पूर्णरूपमा सञ्चालन हुने दिन निश्चित छैन । यस राजमार्गको भुकन्डेबेँसी–नेपालथोक खण्डमा दुई किलोमिटर लम्बाइको सडक पूर्णरूपमा बगेको छ । यस सडक खण्डमा नयाँ ट्रयाक खोल्नुपर्ने भएको छ । सोहीकारण यो सडक खोल्न केही समय लाग्ने सडक विभागको अनुमान छ ।

बीपी राजमार्गको धुलिखेलबाट भकुन्डेबेँसीतर्फ २१ किलोमिटरमा भने सडक खुला भइसकेको छ । बर्दिवास–नेपालथोक सडक खण्डमा भने यातायात खुलाइएको छ । बीपी राजमार्ग सुचारु गर्न जनकपुरबाट थप उपकरण मगाइएको छ ।

त्यस्तै कान्ति लोकपथ अन्तर्गत मकवानपुर खण्डको हेटौंडा–ठिंगन खण्डको ४० किलोमिटर सडकमा यातायात सञ्चालन भएको छ । बगुवा पुल (बागमती) को दायाँ एप्रोच सडक क्षतिग्रस्त छ ।

मौसम राम्रो भए यो खण्ड मंगलबारसम्म खुल्ने विभागले जनाएको छ । ठिंगन–बागमती खण्डको एक किलोमिटर खण्डमा उपकरण परिचालन गरी काम जारी छ ।

छपेली–बालुवावाससम्म ६ किलोमिटरमा काम जारी छ । बगेको सडक खण्डमा ट्र्याक खोल्ने काम सुरु गरिएको छ । छपेली–टिकाभैरव खण्डको २२ किलोमिटर सडकमा मल्ल होटल नजिकै सडक बगेको छ । यहाँ ट्र्याक खोल्ने काम भइरहेको र यो राजमार्ग समेत आगामी बुधबारसम्म सञ्चालनमा आइसक्ने अनुमान सडक विभागले गरेको छ ।

अरनिको राजमार्ग समेत पूर्णरूपमा चल्ने दिन अनिश्चित छ । अरनिकोको लार्चा पुलसम्म यातायात सञ्चालनमा छ । लार्चामा हाइड्रोपावरको पाइप राखेर यातायात खोल्ने प्रयास जारी छ । खाग्डोल पुलमा बेलिब्रिज राख्नुपर्ने र त्यसका लागि काम भइरहेको विभागले जनाएको छ ।

लार्चादेखि लिपिनसम्म दुई पुल (लिपिन पुल र लार्चा बेलिब्रिज) बाढीले बगाएको छ । यी पुल बनाउन केही समय लाग्ने भएकाले यो राजमार्ग पूर्णसुचारु हुने दिन अनिश्चित छ ।

त्यस्तै गल्छी–त्रिशूली–बेत्रावती–धुन्चे–स्याफ्रुबेँसी–रसुवागढी सडक खण्डका विभिन्न स्थानको अवरोध हटाइ यातायात सुचारु भएको सडक विभागले जनाएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?