+
+

उपत्यकामा तरकारीको माग धान्नै मुस्किल, भाउ छोइनसक्नु

अमृत चिमरिया अमृत चिमरिया
२०८१ असोज १४ गते २०:१८
फाइल तस्वीर

१४ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा अहिले तरकारीको माग उच्च छ । बाढी-पहिरोले सडक अवरुद्ध हुँदा काठमाडौंको माग नै धान्न गाह्रो भएको तरकारी व्यवसायी बताउँछन् ।

‘हामीलाई यतिबेला तरकारी बेच्नै गाह्रो हुन्थ्यो, तर अहिले तरकारी नै छैन,’ जडिबुटीमा तरकारी व्यवसाय सञ्चालन गर्दै आएका विमल श्रीवास्तव भन्छन्, ‘हामीले ल्याउने भनेको कालीमाटी, भक्तपुर र काभ्रेबाट हो । तर, भक्तपुर बाहेक अन्तबाट तरकारी नआउँदा महँगो मूल्य भए पनि एकछिनमै खपत भएको छ ।’

यसो त अहिले काठमाडौं उपत्यकाका ठूला तरकारी बजार डुबानमा हुँदा साना खुद्रा पसलेलाई आपूर्ति गर्नै सकिएको छैन ।

‘हामीले ल्याउने ठाउँहरू पूरै डुबेको छ । अहिले बाहिरको तरकारी नआउँदा आलु, प्याज, लसुन, सुकेको खुर्सानी नै बेच्नुपरेको छ । हरियो तरकारी बेच्न पाएको छैन,’ तरकारी व्यवसायी कमला पाख्रिन भन्छिन्, ‘दुई दिन त पसल नै बन्द गरेर बस्नुपर्‍यो, आजदेखि खोलेको हो । हाम्रै १०–१५ हजारको क्षति भयो, सबैको त्यस्तै भएको होला ।’

बल्खु डुब्यो, कालीमाटीमा छैन आपूर्ति

ठेलामा, सटरमा तरकारी बेच्ने मात्रै होइन, उपत्यकाका ठूला तरकारी पसल समेत प्रभावित भए । बल्खु तरकारी बजार पूरै प्रभावित भएको छ ।

बल्खु तरकारी बजार व्यवस्थापन समितिका कार्यकारी निर्देशक रामकृष्ण कुँवरका अनुसार तरकारी बजार पूरै बन्द छ । ‘हाम्रो ५ सय ५० स्टल थियो । जुन सबै अहिले बन्द छ । बन्द भएपछि त सप्लाई हुने कुरा नै भएन,’ कुँवरले भने ।

उनका अनुसार यो वर्ष नै तीन पटक बल्खु बजार डुबिसकेको छ । सन् २०२१ भन्दा पहिले बल्खु तरकारी बजार डुबेको थाहा थिएन, पछिल्लो चार वर्षदेखि लगातार तरकारी बजार डुबिरहेको छ । २०२४ मा तीन पटक तरकारी बजार डुबिसकेको छ । जसबाट व्यवसायीले ठूलो क्षति बेहोर्नुपरेको छ । ‘तरकारी बजारमा बाढी पसेर क्षति हुने गरेपछि केही व्यवसायी पलायन हुने अवस्थामा छन्,’ उनले भने ।

१ असोज २०६९ मा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले बल्खु तरकारी बजार उद्घाटन गरेका थिए ।

‘तरकारी बजार मात्रै होइन, यहाँ खाद्यान्न, बिउबिजन, फलफूल स्टल पनि छ । अहिले औसतमा प्रतिस्टल १ लाख रुपैयाँको क्षति भएको हाम्रो अनुमान छ,’ उनले भने ।

कालीमाटी तरकारी बजारमा बाढीका कारण क्षति नभए पनि आपूर्ति नै नहुँदा अहिले माग धान्न गाह्रो छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति महानिर्देशक महादेव पौडेलका अनुसार शुक्रबारदेखि तरकारी आपर्ति घटेको छ ।

‘नियमित १ हजार टन तरकारी, फलफूल कालिमाटी आउनुपर्ने हो तर अहिले आधा पनि आएको छैन,’ पौडेलले अनलाइनखबरसँग भने ।

पौडेलका अनुसार बिहीबार ९ सय ६४ टन तरकारी आएको थियो भने शुक्रबार ५ सय ७१ टनमा झरेको थियो । यस्तै शनिबार १ सय ५६ टन आएकोमा आइतबार १ सय ७९ टन आएको उनले बताए । ‘झन्डै ८० प्रतिशत आपूर्ति घट्दा माग बढ्नु त स्वाभाविक नै हो,’ पौडेलले भने ।

बिस्तारै बाटो सहज भएपछि आपूर्ति बढ्दा काठमाडौंमा तरकारी सहज उपलब्ध हुने उनले बताए ।

बल्खु र कालीमाटी जस्तै जडीबुटी तरकारी बजारमा पनि आपूर्ति हुन सकेको छैन भने भक्तपुर जिल्लाका केही स्थानीय उत्पादन आए पनि काभ्रे, सिन्धुली, रामेछाप तर्फबाट आउने सबै रोकिएको छ ।

यस्तै माछापोखरी क्षेत्रमा काठमाडौंकै तारकेश्वर, नुवाकोट र रसुवा तर्फबाट आउने तरकारी हारालुछ भएको छ । ‘माछापोखरी, बालाजुमा तरकारीको गाडी आउने बित्तिकै रित्तिने अवस्था रहेको छ । अहिले तरकारी यहाँबाट अन्त जानै पाउँदैन,’ जीतपुर फेदीबाट तरकारी ल्याएका नमराज वाइबा भन्छन् ।

आकासियो तरकारी र फलफूल भाउ

देशका विभिन्न सहर र राजमार्गमा गएको बाढीपहिरोले फलफूल तथा तरकारी महँगिएको छ । राजमार्ग अवरुद्ध हुँदा आपूर्तिमा परेको असर तथा केही मौज्दात तरकारी बाढीका कारण क्षति भएपछि महँगिएको हो ।

सोमबार अधिकांश तरकारी प्रतिकिलो १ सयमाथि पुगेको छ । अघिल्लो दिनसम्म प्रतिकिलो १ सय २२ रुपैयाँ हाराहारी रहेको प्याज सोमबार १ सय ३५ पुगेको छ । अघिल्लो दिनको तुलनामा गाजर, बन्दा, रातो आलु, मुला, च्याउ महँगिएको छ । साग तथा इस्कुस केही सस्तिएको छ । रातो आलु प्रतिकिलो ८२, भारतीय रातो आलु ६२ रुपैयाँमा कारोबार भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

सोमबार स्थानीय बन्दा १ सय १०, स्थानीय काउली १ सय ४०, लाम्चो भन्टा १ सय, डल्लो भन्टा १ सय, तने बोडी १ सय २०, मकै बोडी १ सय, घिउ सिमी १ सय, तिते करेला १ सय २०, लौका १ सय, घिरौंला १ सय २०, रायो साग १ सय, पालुंगो साग १ सय, हरियो प्याज २ सय, कन्य च्याउ २ सय, डल्ले च्याउ ४ सय ५०, र ब्रोकाउली २ सय रुपैयाँ किलोमा कारोबार भएको छ ।

अघिल्लो दिन आइतबार पनि ह्वात्तै भाउ बढेको थियो । समितिका अनुसार आइतबार सानो गोलभेँडा, लौका, हरियो फर्सी, इस्कुस, पालुंगो साग, तोरीको सागको भाउ बिहीबार र शुक्रबारको तुलनामा दोब्बर भएको थियो ।

प्याज, बन्दा, काउली, मुला, बोडी, तिते करेला, लौका, घिरौंला, हरियो फर्सी, इस्कुस, साग लगायत सबैजसो तरकारीको भाउ उच्च दरले महँगिएको छ ।

दूध किसान मर्कामा, बजारमा छैन समस्या

उपत्यकामा खपत हुने दूध आपूर्ति रोकिएको छ । डेरी एसोसिएसन नेपालका अनुसार उपत्यकामा अहिले ८० प्रतिशत दूध आपूर्ति घटेको छ ।

एसोसिएसन अध्यक्ष प्रह्लाद दाहालका अनुसार दूध आपूर्ति रोकिए पनि बजार माग अनुसार उपलब्ध भइरहेको छ ।

‘काठमाडौंमा दूधको माग अनुसार उपलब्ध नै छ । धेरै डेरी उद्योगसँग दूध र पाउडर दूध स्टक थियो । अहिले खपत भइरहेको छ । फेरि, अहिले दूधको धेरै सिजन भएकाले समस्या त्यस्तो हुँदैन,’ उनले भने ।

उपभोक्तालाई समस्या नभए पनि दूध किसानलाई भने चाडपर्वको मुखमा अर्को संकट आइपरेको छ । ‘एक त दूध बेचेको पैसा पाएको छैन, अर्को भएको दूध पनि बजार गएको छैन । यस्तो बेला किसानलाई समस्या नै परेको छ । देशभरि कति किसानलाई समस्या परेको छ हामी बुझ्दै छौं,’ राष्ट्रिय किसान आयोगकी प्रवक्ता जिवन्ती पौडेलले भनिन् ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?