+
+

प्रथम भ्याली स्लाम टेनिस प्रतियोगिता : प्रदीप र अभिलाषा च्याम्पियन

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १४ गते २०:३०

१४ असोज, ललितपुर । प्रदीप खड्का र अभिलाषा विष्टले बीवाइडी प्रथम भ्याली स्लाम टेनिस प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । मुख्य स्पर्धा पुरुष सिंगल्समा प्रदीप र महिला सिंगल्समा अभिलाषा पहिलो भएका हुन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको पुरुष सिंगल्स फाइनलमा प्रदीपले प्रणव मानन्धरलाई ६–० र ६–३ ले सहजै पराजित गरे । महिलाको उपाधि भिडन्तमा अभिलाषाले सुनिरा विष्टलाई ६–१ र ६–१ को सोझो सजिलै हराइन् ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियार पहिलो भए । उनले फाइनलमा सन्तोष खत्रीलाई सीधा सेटमा ६–२ र ६–१ ले पाखा लगाए ।

हिमाल मिडियाद्वारा आयोजित प्रतियोगितामा जम्मा ११ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । पुरुष सिंगल्स स्पर्धामा दोहोरो स्वर्ण जितेका कमल थापा ५५ वर्षमाथि र ६५ वर्षमाथि च्याम्पियन बने । चन्द्र शाहीले पनि पुरुष डबल्समा २ स्वर्ण जिते ।

उनले ४५ वर्षमाथि पुरुष डबल्समा डेगेन्द्र श्रेष्ठ तथा ५५ वर्षमाथि उत्तम शेर्पासंग मिलेर स्वर्ण हात पारे । ४५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी पहिलो भए ।

त्यस्तै ३५ वर्षमाथि पुरुष डबल्समा जितेन्द्र परियार र इलम दीक्षित, ६५ वर्षमाथि पुरुष डबल्समा मनोज राणा र ध्रुव गुरुङ तथा पुरुष डबल्समा प्रणव मानन्धर र राजवीर प्रधानको जोडी पहिलो भए ।

विजेतालाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, हिमाल मिडियाका संस्थापक कुन्दमणि दीक्षितलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । समावेश सबै स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले नगद पुरस्कार पाए ।

कुल पुरस्कार राशि ५ लाख ७६ हजार रहेको थियो । शनिबार सम्पन्न हुनु पर्ने प्रतियोगिता अविरल वर्षाका कारण दुईदिन लम्बिएको हो । प्रतियोगितामा १ सय ३९ खेलाडी सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?