+
+

देश विपद्ले संकटमा पर्दा सम्मान थाप्न व्यस्त थिए मुख्यसचिव

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८१ असोज १५ गते १०:४०
Photo Credit : प्रकाश डुम्रे

१५ असोज, काठमाडौं । १२ असोजमा स्याङ्जाको फेदीखोला गाउँपालिका कार्यालय बाहिर झमझम पानी परिहरेको थियो । गाउँपालिकाको खुला सभाहलभित्र मुख्यसचिव एकनारायण अर्याल सेतो खादासहित सम्मान ग्रहण गरेर धन्यवाद मन्तव्य दिइरहेका थिए ।

१३ भदौमा मुख्यसचिव भएका अर्याल गृह जिल्ला पुगेर गाउँपालिकादेखि जनप्रतिनिधि र कर्मचारीको दायित्व सम्झाइरहेका थिए । तर, उनीमाथि नै अहिले देश गम्भीर संकटमा पर्दा पनि दायित्व ननिभाएको र भद्दा सम्मानमा रमाएको भन्दै आलोचना भइरहेको छ ।

उनी सम्मान थापिरहेको त्यही दिन, जुन दिन देशका अधिकांश भाग भीषण वर्षाका कारण बाढी र पहिरोले संकटग्रस्त थिए । समन्वय अभावले घण्टौं उद्धार कुरिरहेकाहरुलाई खोलाले बगाइरहेको थियो ।

त्यही बेला मुख्यसचिव अर्याल भने त्यही समयमा गृह जिल्लामा विभिन्न पालिकाहरुमा पुग्दै सम्मान थापिरहेका थिए । ती कार्यक्रममा पुगेर उनले आफू सचिवका रुपमा सम्बन्धित गाउँपालिकाका लागि के-के गरियो भन्ने स्मरण गराइरहेका थिए ।

उनी त्यही दिन फेदीखोलापछि आँधीखोला गाउँपालिका पनि पुगेर सम्मान थापे । आँधीखोला गाउँपालिकाले त उनलाई पञ्चेबाजा बजाएर स्वागत गरेको थियो ।

उनी फूलमाला र खादा, दोसल्लासहित अबिर लगाएर पञ्चेबाजाको टोलीको अग्रभागमा रहेर गाउँपालिका प्रवेश गरेका थिए । उनी त्यहाँ राष्ट्रिय माध्यामिक विद्यालयको कार्यक्रममा पनि सहभागी भएका थिए । यो उनले पढेको विद्यालय पनि हो ।

आँधीखोला गाउँपालिकाले आयोजना गरेको सम्मान कार्यक्रम । तस्वीर : सुधिर पौडेल

सोही दिन अर्यालसँगै रहेका एक अधिकारीका अनुसार उनलाई तारन्तार काठमाडौंबाट फोनहरू आएका थिए । उनले केही फोनहरुको रेस्पोन्स त गरे, तर कार्यक्रममा व्यस्त भएकाले कतिपय फोन समेत उठाउन पाएनन् ।

उनले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको मन्त्री र सचिवहरुको बैठकका लागि आफ्नो सचिवालयहरुमार्फत सचिवहरुलाई बैठकमा डाकेका थिए । तर, उनी आफैं भने स्याङ्जामै कार्यक्रममै व्यस्त रहे ।

१२ असोजमा विपद्ले देशभर क्षति पुर्‍याएपछि उनी तत्कालै काठमाडौं फर्किहाल्ने अपेक्षा थियो । तर, उनी १३ गते बिहान वालिङ नगरपालिकाले आयोजना गरेको सम्मान ग्रहण गर्ने कार्यक्रम थियो । उनी बिहान वालिङ नगरपालिकाबाट दोसल्लासहित सम्मानित भए । त्यसपछि उनले स्याङ्जाका उद्योगी, व्यवसायी, नेता तथा नागरिक समाजसँग जिल्लाको विकासबारे राउण्ड टेबल छलफलसमेत गरे ।

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका हिंडेपछि मुख्यसचिव अर्यालले १० असोजमै काठमाडौं छाडेका थिए । जबकि जल तथा मौसम विज्ञान विभागले ७ असोजमै विशेष बुलेटिन जारी गरेर १२ असोजसम्म सातै प्रदेशमा वर्षा सम्भावना रहेको भन्दै उच्च सतर्कताका लागि सूचित गरिसकेको थियो ।

उद्योग वाणिज्य संघको सम्मान कार्यक्रममा मुख्यसचिव अर्याल ।

नेपालभर यो मनसुन अवधिकै भीषण वर्षाको सम्भावना औंल्याउँदै विभागले १०देखि १३ असोजसम्म ५६ जिल्लालाई रेड जोन अर्थात् अति उच्च जोखिम क्षेत्रमा राखेर उच्च सतर्कता अपनाउनुपर्ने बताएको थियो ।

यो सूचना तीन तहकै सरकार, सुरक्षा संयन्त्रदेखि विपद् व्यवस्थापन हेर्ने निकायलाई पुर्‍याएर समन्वयको काम गर्नुपर्ने मुख्य जिम्मेवारी बोकेका मुख्य सचिव नै प्रधामनन्त्री नभएको मौका छोपेर स्याङ्जामा पुगेका थिए ।

उनी ११ असोजमा गण्डकी प्रदेशले आयोजना गरेको पालिकास्तरीय अनुभव आदानप्रदान कार्यक्रममा सहभागी भएका थिए । सोही दिन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर भीषण वर्षा हुने भन्दै रातमा राजमार्गमा बसहरु चलाउन रोक लगाउने निर्णय गरिसकेको थियो ।

फेदीखोला गाउँपालिकाको कार्यक्रममा मुख्यमन्त्री अर्याल ।

भोलिपल्ट बिहान (१२ असोज) अर्याल पोखराबाट स्याङ्जा पुगेर सम्मान ग्रहण गर्न विभिन्न कार्यक्रममा सहभागी भएका थिए । जतिबेला मौसम पूर्वानुमान विभागले प्रक्षेपण गरेजस्तै विपद्ले महाविपत्तिको रुप लिइसकेको थियो । तर, अर्यालले कार्यक्रम स्थगित गरेनन् ।

एक अधिकारीका अनुसार करिब एक महिनाअघि नै मुख्यसचिव अर्याल इलाका प्रशासन कार्यालयको भवन उद्घाटनमा सहभागी हुने कार्यक्रम थियो । त्यतिबेला कारणबस जान नपाएका अर्यालले आफू छिट्टै जिल्ला आउने प्रतिबद्धता जनाएका थिए । त्यसै अनुसार उनी स्याङजा पुगेकाले फर्किहाल्ने अवस्थामा पनि थिएनन् । त्यसमाथि प्रतिकूल मौसमका कारण उनी स्याङ्जामै बस्नुपर्‍यो ।

तर, १३ असोजको बिहान पनि उनले काठमाडौं फर्किन हतार नगरेकाले भने उनीमाथि प्रश्न उठेका थिए । उनी स्याङ्जामा सम्मान कार्यक्रममा व्यस्त भएको भन्दै स्थानीयहरुले उनलाई समन्वयका लागि छिटो काममा फर्किन भन्दै सामाजिक सञ्जालबाटै आग्रह गरेका थिए । त्यसैले उनी बिहान वालिङका कार्यक्रमहरुमा भएर हेलिकप्टरमार्फत काठमाडौं आएका थिए ।

उनले सोमबार सचिव बैठक डाकेर विपद्सम्बद्ध विभिन्न निर्णयहरू गराएका छन् । तर, उनी समयमै समन्वयमा नजुटेको भन्दै सचिव तथा सहसचिवहरू नै उनीसँग अनसन्तुष्ट छन् । ‘विपद्सम्बद्ध विभिन्न बैठकले गरेका निर्णयहरु नै सचिव बैठकबाट भएको छ,’ एक सहसचिव भन्छन्,‘उहाँमा विपद्पछि कुनै अर्जेन्सी नै देखिएन ।’

मुख्यसचिव अर्यालको सचिवालयका अनुसार उनी पूर्वनिर्धारित कार्यक्रमका लागि त्यहाँ पुगेका हुन् । ‘आफू पढेको स्कुल र आफू जन्मे-हुर्केको गाउँपालिकामा भएको कार्यक्रममा सहभागी हुनको लागि उहाँ जानुभएको हो,’ अर्याल निकट स्रोतले भन्यो, ‘बाढीपहिरोले देशभर नै समस्या पारेपछि उहाँ तत्काल फर्किन खोज्नु भएको थियो तर मौसमले सम्भव भएन ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?