+

भलिबलकी सफल कप्तान अरुणा

२०८१ असोज  १५ गते १२:२६ २०८१ असोज १५ गते १२:२६

संयोग नै मान्नुपर्छ अरुणा कप्तान भएपछि नेपालले महिला भलिबलमा लगातार अन्तर्राष्ट्रिय सफलताहरु हात पारिरहेको छ । कोर्टमा टिमलाई नेतृत्व गर्नेदेखि मात्र नभएर सेटरको भूमिकामा टिमलाई चलायमान बनाउने काम समेत उनै अरुणाको काँधमा छ ।

भलिबलकी सफल कप्तान अरुणा

१५ असोज, काठमाडौं । नेपालले एभीसी सिनियर वुमन्स सेन्ट्रल जोनमा दुई उपाधि, दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक, काभा वुमन्स भलिबल नेसन्स लिगमा रजत पदक र काभा वुमन्स भलिबल च्यालेन्ज कपमा कांस्य पदक अरुणाकै नेतृत्वमा जित्यो ।

त्यतिमात्रै होइन, २९ वर्षीय अरुणाकै कप्तानीमा नेपालले गत वर्ष चीनमा भएको १९औं एसियाली खेलकुदमा सहभागिता जनाएको थियो । जुन नेपाली महिला भलिबल टोलीको एसियाडमा डेब्यु समेत थियो ।

यस्तै गत साउनमा घरेलु भूमिमा भएको काभा वुमन्स नेसन्स लिगमा नेपालले इतिहासमै पहिलो पटक भारतलाई हराउँदा अरुणा नै कप्तान थिइन् ।

संयोग नै मान्नुपर्छ अरुणा कप्तान भएपछि नेपालले महिला भलिबलमा लगातार अन्तर्राष्ट्रिय सफलताहरु हात पारिरहेको छ । कोर्टमा टिमलाई नेतृत्व गर्नेदेखि मात्र नभएर सेटरको भूमिकामा टिमलाई चलायमान बनाउने काम समेत उनै अरुणाको काँधमा छ ।

एक हिसावले भन्ने हो भने नेपाली महिला भलिबलको स्वर्णिम कालमा रहेको अहिलेको टोलीको नेतृत्व गर्ने उनै अरुणा हुन् । उनलाई अन्य टिम मेटको साथ पनि गज्जबको रह्यो र उनको कप्तानी समयमा नेपालले धेरै अन्तर्राष्ट्रिय प्रतियोगिताहरु समेत खेल्न पाएको छ ।

राष्ट्रिय टिमको कप्तान भएर पनि अरुणा कुनै विभागमा आबद्ध छैनन् । उनलाई विभfगबाट प्रस्ताव नआएको पनि होइन तर उनी गइनन् ।

कुनै समयमा मन्जु गुरुङ परिक्षा गुरुङ सिपोरा गुरुङ जस्ता चर्चित खेलाडीसहितको पोखराको ज्ञानुबाट अरुणाले सँगै खेलिन् ।  पछिल्लो समयमा भने गण्डकी क्षेत्रको टिम उस्तै रहेन । गण्डकी कुनै प्रतियोगितामा सहभागिता जनाउँदा अरुणा आफ्नै क्षेत्रबाट खेल्छिन् । नभएर उनी कुनै क्लबको टिमबाट खेल्छिन् ।

पछिल्लो पटक एनभीए लिगमा अरुणाले बुटवलको एभरेष्ट भलिबल क्लबबाट खेलेकी थिइन् । त्यसअघि उनले केही समय घरेलु भलिबलको चर्चित क्लब न्यु डायमण्डबाट समेत खेलिन् । तर विभागीय टोलीमा भने उनी गइनन् ।

विभाग बाहिर बसेर संघर्ष गर्दै उनले आफ्नो प्रदर्शन देखाइरहेकी छन् ।

पहिलो पटक च्याम्पियन

सन् २०१९ मा बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा अरुणा पहिलो पटक नेपालको कप्तान बनेकी थिइन् । त्यसमा नेपालले अपराजित हरादै उपाधि जित्यो ।

त्यतिबेला तात्कालिन कप्तानसहित राष्ट्रिय टिमका आधा दर्जन खेलाडीहरु टिमबाट बाहिरिँदा टिममा नयाँ खेलाडीहरुको बगमन भएको थियो र सिनियरका आधारमा अरुणाले कप्तानको जिम्मेवार पाइन् ।

आफू कप्तान बनेपछिको पहिलो सहभागितामै उनले नेपाललाई सेन्ट्रल जोनको उपाधि दिलाइन् । एभीसी सेन्ट्रल जोनमा दुई पटक र काभा उपाधि जित्दा अरुणाले नै कप्तानी गरिन् । यस हिसावमा उनी नेपाल भलिबलको सबैभन्दा सफल कप्तान बनेकी छन् ।

अरुणाकै कप्तानीमा नेपालको महिला राष्ट्रिय टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जित्दा दुईमा उपविजेता बन्यो भने अर्कोमा तेस्रो भयो । अरुणाको कप्तानीमा नेपालले यसअघि २०१९ र २०२२ मा गरी दुई पटक एभिसी सिनियर वुमन्स सेन्ट्रल जोन भलिबलको उपाधि जितेको थियो ।

सन् २०१९ मा काठमाडौंमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले अरुणाकै कप्तानीमा ऐतिहासिक रजत पदक जितेको थियो । त्यसबेला नेपाल भारतसँग फाइनलमा प्रतिस्पर्धात्मक खेलमा ३-२ को सेटमा पराजित हुँदा स्वर्ण जित्नबाट चुकेको थियो । तर नेपालले सागमा रजत जितेको पनि त्यो पहिलो पटक नै थियो ।

यस्तै गत वर्ष नेपालमै भएको काभा वुमन्स च्यालेन्ज कपमा नेपालले तेस्रो हुँदै कांस्य पदक जित्दा अरुणा नै कप्तान थिइन् । अरुणाको कप्तानीमा नेपालले खेलेको पाँचवटै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले शीर्ष तीनमा आएको छ ।

डेढ दशक देखि भलिबल खेल्दै आएकी अरुणाले नेपालका लागि खेल्न थालेको पनि एक दशकभन्दा बढी भइसकेको छ ।

स्पाइकरदेखि सेटरसम्म

सुरुमा अरुणा स्पाइकर थिइन् । उनी अलराउण्ड पोजिसनबाट खेल्थिन् । तर सेटर कप्तान विनिता बुढाथोकी टिममा नपरेपछि सेटरको अभाव भयो । अनी अरुणाले नेतृत्व सँगै कोर्टमा नेतृत्व गर्ने पोजिसन सेटरको पनि जिम्मेवारी सम्हालिन् । एकै पटक दुई नयाँ भूमिकामा उत्रँदा सुरुमा उनलाई केही कठिन नभएको होइन ।

तर अरुणाले नेपाली टिमको नेतृत्वमा र टिमसँगको तालमेलमा राम्रो भूमिका निभाइन् ।

अरुणाले सन् २०१३ मा काठमाडौंमै भएको माल्दिभ्स विरुद्धको मैत्रीपूर्ण खेलबाट नेपालको राष्ट्रिय टिममा डेब्यु गरेकी थिइन् ।

त्यसयता उनी लगातार नेपाली टिममा छिन् । उनले नेपालका लागि अहिलेसम्मकै ठूलो प्रतियोगिता १९औं एसियाड, काभाको चार प्रतियोगिता, १२औं र १४औं साग खेलेकी छन् । नेपालले एसियाड बाहेक अरु प्रतियोगितामा कम्तीमा शीर्ष तीन स्थान हासिल गरेको छ ।

म्याग्दीको रघुंगंगा गाउँपालिका-३ पिप्लेकी अरुणाले सुरुमा जिल्ला स्तरमा खेल्दै तत्कालिन पश्चिमाञ्चल टिमबाट खेलेकी थिइन् । पश्चिमाञ्चलको टिम हराउदै गएपछि उनले पछिल्लो समय गण्डकी प्रदेशको टिमको कप्तानी समेत गरेर केही प्रतियोगिता खेलिन् ।

यस्तै यसबीचमा अरुणाले काठमाडौँको चर्चित न्यु डायमण्ड एकेडेमीबाट पनि खेलिन् । पछिल्लो समय भने गण्डकीकोटिटिम नहुँदा उनले बुटवलको एभरेष्ट भलिबल क्लबबा६ एनभीए च्याम्पियनसिप र एनभीए लिग खेलेकी थिइन् ।

अरुणाले नेपालको लागि उपाधि मात्र जितेकी छैनन् । सफल नेतृत्व र उपाधि जितेवापत विभिन्न अवार्ड र सम्मानहरु पनि पाएकी छन् ।

उनले नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पनि जितेकी छन् । यस्तै अन्य विभिन्न अवार्ड र व्यक्तिगत उपलब्धीहरु पनि हासिल गरेकी छन् ।

उनै अरुणाको कप्तानीमा पहिलो एभरेष्टको एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लुभीएल) २०२४ मा चितवन शक्ति मैदानमा उत्रिएको छ । नेपाली महिला भलिबलकै इतिहासमा पहिलो पटक भइरहेको फ्रेन्चाइज लिगमा नेपाली सहित विभिन्न देशका विदेशी खेलाडी समेत छन् । जसबाट नेपाली खेलाडीले धेरै सिक्ने अवसर पाउने अरुणाको विश्वास छ ।

अरुणाले खेलेको प्रतियोगिता

२०१४ प्रथम दक्षिण एसियाली महिला आमन्त्रण भलिबल : रजत पदक

२०१६ १२औं साग : कांस्य पदक

२०१९ एभिसी वुमन्स सिनियर सेन्ट्रल जोन : च्याम्पियन

२०१९ १३औं साग : रजत पदक

२०२२ एभिसी वुमन्स सिनियर सेन्ट्रल जोन : च्याम्पियन

२०२३ काभा वुमन्स च्यालेन्जस लिग : कांस्य पदक

२०२४ काभा वुमन्स नेसन्स लिग :  रजत पदक

अरुणा शाही

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय