+
+

हिमालय रोडिज : सर्कसमा बेचिएकादेखि चुलोचौकोबाट उठ्दै गरेका महिला

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १५ गते १४:१४

काठमाडौं । हिमालय रोडिज सिजन ६ को प्रसारण सोमबारदेखि रातिदेखि सुरु भएको छ । पहिलो एपिसोड दर्शकका लागि निकै मर्मस्पर्शी र प्रेरणादायी देखियो ।

पहिलो एपिसोडमा जीवनका धेरै उतारचढाव र पृष्ठभूमिबाट आएका संघर्षशील महिलाको उत्साहजनक सहभागिता देखियो । २०७२ सालको भूकम्पमा ७ घण्टा पुरिएर जीवन बाँचेकी पेशाले एयरहोस्टेस एलिना बस्नेत हुन् या भारतको सर्कसमा बेचिएका सुनिता सुनार र सरस्वती अधिकारी ।

अल्पसंख्यक लैङ्गिक समुदायको प्रतिनिधित्व गर्ने समाइरा श्रेष्ठ, विवाहपछि जीवनको सपना पूरा गर्न रोडिजमा आएकी इमाडोलकी गृहिणी मन्दिरा अधिकारी खापुङ हुन् या त्रिभुवन आर्मीकी कन्ट्रयाक्ट प्लेयर अनुपा नेपाली ।

सबैको कथा-व्यथा सुन्दा दर्शकलाई कुनै कथानक फिल्म हेरेजस्तो महसुस भयो । काठमाडौंको अडिसन देखाइएको पहिलो एपिसोडमा सुरुमै एलिना पुगेकी थिइन् । भूकम्पमा साँखुमा पुरिएकी एलिनाले आफूले नजिकबाटै मृत्युलाई देखेको बताउँछिन् । अहिलेको जीवनलाई उनी दोस्रो जीवन बताउँछिन् ।

‘लाइफमा धेरै च्यालेन्ज फेस गरें । मृत्युलाई नजिकबाट देखें । भूकम्पमा सात घण्टा सर्भाइभ गरेपछि उद्दार गरिएको थिएँ । ६ महिनाजति प्यारालाइसिस भएपछि अस्पतालमा बसें’ उनले भनिन्, ‘मेरो दोस्रो जीवन बैशाख १२ को भूकम्पपछि सुरु भयो ।’

एयरहोस्टेसको रुपमा नेपालको आकाशमा डर लाग्दैन भनेर ग्याङ लिडर प्रियंका कार्कीको प्रश्नमा उनको जवाफमा थियो- ‘मलाई उड्नलाई हैन, बाबाममीको खामोसीलाई देखेर डर लाग्छ ।’

त्यसपछि स्टेजमा पुगिन् समाइरा । ‘इनफ इज इनफ’ अभियानमा अनसन समेत बसेकी उनले लैङ्गिक समानताको पक्षमा आवाज उठाउँदै आएकी छिन् । उनी ट्रान्सजेन्डर वुमन पनि हुन् । उनले रोडिजमा प्रतिस्पर्धा गर्न सक्ने आँट बोकेर आएको बताइन् ।

त्यसपछि पुगे सुनिता र सरस्वती जो बाल्यकालमै भारतको सर्कसमा बेचिएका थिए । बाल बेचबिखनमा परेका उनीहरुले ग्याङ लिडरहरुसामु दलालले ललाइफकाई गरेर बेचेको दर्दनाक कथा बताए । ‘सर्कसमा जान मन थिएन तर परिवारको कमजोर स्थितिको फाइदा उठाइयो’ उनीहरुले भने ।

सुनिताले एक्रोब्याटमा आफ्नो कला पस्किइन् । सरस्वती र सुनिता दुवैले आकर्षक प्रस्तुति दिए । त्यसपछि मन्दिरा अधिकारी खापुङ पुगिन् जसले सानैमा विवाह गरेर जीवनको सपनासँग सम्झौता गरिन् । तर यसपटक भने उनका सपनाको पालुवा पलाएको छ । दशकदेखि श्रीमान् वैदेशिक रोजगारीमा, एक बच्चा र वृद्ध सासु-ससुराको हेरचाहमा जुटेकी मन्दिराले घर स्याहार्दै यतिबेला रोडिजमा होमिएकी छिन् ।

‘विवाह गर्नुअघि केही पनि गर्न पाएको थिएन । केही गरेर आफूले आफूलाई चिनाउन मन लाग्यो । बाध्यताले सानैमा विवाह भयो’ उनले भनिन् ।

त्यसपछि क्युकोसिन कराँतेकी राष्ट्रिय खेलाडी अनुपा नेपाली पुगिन् । २४ वर्षीया यी प्लेयरले यतिबेला त्रिभुवन आर्मी क्लबबाट ‘कन्ट्रयाक्ट प्लेयर’को रुपमा खेलिरहेकी छिन् । उनले क्लबभित्रको विभेदबारे पनि रोडिजमा कुरा गरेकी हुन् । आठौं नेसनल च्याम्पियनसिपमा ५५ केजको समूहबाट उनले स्वर्णपदक समेत जितेकी थिइन् ।

हिमालय रोडिजको नयाँ सिजन सुरु भएको छ र पक्कै पनि नयाँ सिजन दर्शकलाई रोचक हुनसक्छ । हिमालय रोडिज हिमालय टिभीमा प्रत्येक साताको सोमबार राति ९ बजे प्रसारण हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?