+
+

‘चीनको आर्थिक प्रगतिबाट पाठ नसिक्दा नेपाल धेरै पछाडि’

लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपति डा. सुवर्णलाल बज्राचार्यले चीनको राजनीतिक नेतृत्व र नागरिक राष्ट्रियतामा एकताबद्ध भएकाले आर्थिक विकासमा फड्को मारेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १५ गते १४:२९

१५ असोज, बुटवल । राष्ट्रियताको पक्षमा चिनियाँ नेतृत्व र नागरिक एकजुट हुने परम्पराबाट पाठ नसिक्दा नेपाल धेरै पछाडि परेको बुद्धिजीवी र नागरिक अगुवाले टिप्पणी गरेका छन् ।

चीनको ७५औं राष्ट्रिय दिवसका अवसरमा नेपाल–चीन मैत्री समाज लुम्बिनीले भैरहवामा गरेको कार्यक्रममा उनीहरूले चीनसँग नेपालको धेरै पुरानो मित्रता र सम्बन्ध भए पनि चीनका असल अभ्यास अनुशरण नगर्ने र चीनलाई विश्वास दिलाउन समेत नसक्दा अपेक्षाकृत सहयोग र लाभ लिन नसकेको औंल्याए ।

लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपति डा. सुवर्णलाल बज्राचार्यले चीनको राजनीतिक नेतृत्व र नागरिक राष्ट्रियतामा एकताबद्ध भएकाले आर्थिक विकासमा फड्को मारेको बताए ।

‘चिनियाँ नेतृत्व र नागरिक राष्ट्रियताको पक्षमा सधैं एकजुट छन्, त्यसैले विश्वका अन्य देशको तुलनामा छोटो अवधिमा असाधारण प्रगति गरेको हो,’ बज्राचार्यले भने, ‘तर, नेपालमा नेतृत्व र नागरिक समेत विभाजित छन्, शक्ति राष्ट्रको स्वार्थ अनुसार सरकार र नीति परिवर्तन भइरहने परिपाटीले नेपाल धेरै पछाडि परेको हो ।’

विगतमा चीनले थुप्रै विदेशी अनुदान र ऋण अस्वीकार गरी आफ्नै बलबुतामा विकास निर्माण गरेको उदाहरण दिँदै बज्राचार्यले नेपालमा भने ठिक उल्टो वास्तविकता भन्दा धेरै गुणा बढी लागत स्टिमेट गरेर विकासे परियोजना बनाई दातृ राष्ट्रबाट अनुदान र ऋण लिने गरेका कारण नेपाल ऋणमा डुबेको औंल्याए ।

नेपाल–चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायणप्रसाद सापकोटाले चीन नेपालको असल र अहस्तक्षेपकारी मित्र राष्ट्र भएको उल्लेख गर्दै चीनले आफूमात्र नभई विश्वलाई आफूसँगै विकसित बनाउन बीआरआई परियोजना अघि सारेकाले त्यसमा नेपाल सहभागी भएर लाभ लिनुपर्ने बताए ।

संविधानसभा सदस्य नेत्र पन्थीले चिनियाँ नेपाल र बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रवर्द्धनमा सकारात्मक रहेको तर नेपालले चिनियाँ पर्यटक भित्र्याउन विशेष योजना बनाउन नसकेको बताए ।

लुम्बिनीस्थित बौद्ध बिहारका गुरु याङओ सीले चिनियाँ बौद्धमार्गीका लागि बुद्ध जन्मस्थल लुम्बिनी पवित्र भूमि र शान्ति भूमि भएकाले संसारका सबै बौद्धमार्गीहरु लुम्बिनी भ्रमणमा आउन आग्रह गरे ।

कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, साहित्यकार एवं प्राज्ञ बुँद राना, सिद्धार्थ साहित्य परिषद् अध्यक्ष डिल्लीराज भट्टराई, साहित्यकार विजयगोविन्द श्रेष्ठ, समाजका वरिष्ठ उपाध्यक्ष गोविन्द रेग्मी, महासचिव मनिषकुमार जोशी लगायतले चिनियाँ राष्ट्रिय दिवसमा एक सातासम्म हुने बिदामा चिनियाँलाई नेपाल भ्रमणमा आकर्षित गर्न सरकारले विशेष योजना बनाउनुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?