+
+

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा चलखेल भएको कुरा विश्वास लाग्दैन : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १५ गते १३:०६

१५ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियामा चलखेल भएको आरोपप्रति विश्वास नरहेको बताएका छन् ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा ओलीले ‘बोर्ड अध्यक्ष नियुक्त हुँदैमा कसैले ५ अर्ब दिन्छु भन्छ भन्ने कुरा आफूलाई पत्यार नलागेको’ उल्लेख गरे ।

माओवादीप्रति लक्षित गर्दै ओलीले ‘कसैले ५ अर्ब रुपैयाँ खाने भो’ भनेर आरोप लगाइएको बताए ।

‘मलाई किन कसैले ५ अर्ब दिन्छ ? मैले भनेकै छु म कमिसनका लागि काम गर्ने होइन, देशका लागि गर्ने हो, म भ्रष्टाचार गर्ने होइन, रोक्ने मान्छे हुँ,’ ओलीले थपे ।

तत्कालीन माओवादी नेतृत्वको सरकारका बेला आफ्नो पार्टी निर्णय गर्ने अवस्थामा नरहेको उनले बताए ।

‘देशको अवस्था नाजुक छ, पैसा लिएर नियुक्ति, पैसा लिएर सरुवा, पैसा लिएर बढुवा, कमिसन लिएर ठेक्का दिनेजस्ता कार्य नगरौं भनेर मैले भनेको थिएँ,’ प्रधानमन्त्री ओलीले भने ।

अध्यक्ष नियुक्तिका विषयमा सर्वोच्च अदालतले नै पहिलेकै प्रक्रिया अनुसार अघि बढ्न आदेश दिएकाले सोही अनुसार प्रक्रिया फेरि सुरु गरिएको उनले बताए ।

विषम परिस्थितिमा सेयर बजार घट्नु स्वाभाविक रहेको ओलीको भनाइ छ । परिस्थिति सामान्य भएपछि फेरि बजार बढ्ने आशा रहेको उनले बताए ।

‘सेयर मार्केट फ्लक्चुएट भइरहन्छ, बाढी-पहिरो गयो, अर्थतन्त्रमा धक्का लाग्यो, यस्ता परिस्थितिमा सेयर बजार डाउन हुनु स्वभाविक जस्तो लाग्छ, फेरि माथि उठ्ला भन्ने मैले आशा गरेको छु,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?