+

सलिना श्रेष्ठ : होचो कद, अग्लो खेल

२०८१ असोज  १५ गते १९:३० २०८१ असोज १५ गते १९:३०
सलिना श्रेष्ठ : होचो कद, अग्लो खेल

१५ असोज, काठमाडौं । झट्ट हेर्दा उनलाई भलिबल खेलाडी भन्दा धेरैले नपत्याउन सक्छन् । तर ज-जसले उनको खेल हेरेका छन्, उनीहरुले भन्छन्- वाह ! कस्तो राम्रो खेल । २६ वर्षकी सलिना श्रेष्ठ ४ फिट ९ इन्च अग्ली छन् । तर अग्ला खेलाडीहरु भन्दा उनको प्रदर्शन माथिल्लो स्तरको छ ।

नेपाली राष्ट्रिय टिममा उनो भूमिका हो लिबेरो । भलिबलमा लिबेरो त्यस्तो पोजिसन हो, जसले सबैभन्दा धेरै बल डिफेन्स गर्नुपर्ने हुन्छ । सलिना हाल काठमाडौंमा जारी पहिलो संस्करणको एभरेष्ट वुमन्स भलिबल (इडब्लुभीएल) २०२४ मा ललितपुर क्वीन्सको मार्की प्लेअर र कप्तानको भूमिकामा छिन् ।

सलिनाको नेतृत्वमा थाइल्याण्डका तीन खेलाडीको साथ पाएको ललितपुरले सोमबार पहिलो खेलमा काठमाडौं स्पाइकर्सलाई ३-१ को सेटमा हराएर विजयी सुरुवात गरेको छ ।

सलिनाको टिममा नेपालको सिनियर राष्ट्रिय टोलीबाट सँगै खेलेका आउटसाइड हिटर पुनम चन्द, अपोजिट हिटर कामना विष्ट र मिडल ब्लकर साफिया पुन छन् ।

यी चार राष्ट्रिय खेलाडीसँगै थाइल्याण्डको दुई आउटसाइड हिटर र एक सेटरलाई अनुबन्ध गरेको ललितपुरले पहिलो खेलमा राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षक जगदिश भट्ट प्रशिक्षक र उषा भण्डारी मार्की तथा कप्तान रहेको काठमाडौंलाई सहजै हरायो ।

पहिलो खेलपछि सलिनाले अझै राम्रो गर्न सकिने बताइन् । सलिनाले अब आउने खेलमा कम्बिनेसन सुधार गर्दै जाने र अन्तिम लक्ष्य उपाधि नै भएको बताइन् ।

‘लक्ष्य भनेको हाम्रो पनि उपाधि नै हो । सबैको खेल हेर्दै जाउँ, हाम्रो कम्बिनेसन अझै राम्रो हुँदै जाला भन्ने आशा छ’, उनले भनिन् ।

बेस्ट लिबेरो

न्यूडायमण्ड युथ एकेडेमीको प्रडक्ट सलिना अहिले राष्ट्रिय टिमकी पहिलो रोजाइकी लिबेरो हुन् । सुरु सुरुमा विदेशी प्रशिक्षक समेत दंग पर्थे उनलाई देखेर । उनीहरुले ठान्थे यति होचो मान्छेले कसरी खेल्छ भलिबल ?

हाल राष्ट्रिय टिममा सलिनासँगै नेपाल पुलिस क्लबकै शान्तिकला तामाङ लिबेरो छन् । तर सलिना नै पहिलो रोजाइमा खेल्दै आएकी छिन् ।

सलिनाले ५ वर्षअघि सन् २०१९ मा बंगलादेशमा भएको एभिसी वुमन्स सिनियर सेन्ट्रल जोनमार्फत राष्ट्रिय टिमा डेब्यु गरेकी थिइन् ।

त्यस बेला राष्ट्रिय टिममा सलिनासहित ९ नयाँ खेलाडी समावेश थिए । तर नेपालले पाँच खेल खेल्दा अपराजित रहँदै प्रतियोगिता जित्यो । सलिनाले पहिलो अन्तर्राष्ट्रिय सहभागितामै उपाधिको स्वाद पाइन् ।

त्यसपछि उनले पछि फर्केर हेर्नुपरेको छैन । नेपाली महिला भलिबलले हात पारेको हरेक सफलतामा उनी टिमको हिस्सा बनेकी छिन् ।

सन् २०१९ मा घरेलु भूमिमा भएको १३ औं सागमा नेपालले ऐतिहासक रजत जित्दा सलिना टिमको मुख्य सदस्य थिइन् ।

May be an image of 5 people, people playing voleyball and text

यस्तै २०२२ मा बंगलादेशमै भएको दोस्रो एभिसी वुमन्स सिनियर सेन्ट्रल जोनमा पनि नेपालले उपाधि जित्दा सलिना नै लिबेरो थिइन् । यस पटक नेपालले उपाधि मात्र जितेन सलिना बेस्ट लिबेरो समेत घोषित भइन् ।

यस्तै गत वर्ष नेपालमै भएको काभा वुमन्स भलिबल च्यालेन्ज लिगमा नेपाल तेस्रो हुँदा सलिना भने आफ्नो पोजिसनमा उत्कृष्ट चुनिइन् । उनले बेस्ट लिबेरो अवार्ड पाइन् ।

त्यसबेला सलिनाले अन्य ७ टिमका लिबेरोलाई पछि पारेकी थिइन् । यस्तै केही समयअघि काठमाडौंमै भएको अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता काभा वुमन्स नेसन्स लिगमा पनि सलिना नै बेस्ट लिबेरो भइन् ।

घरेलु कोर्टमा नेपालले च्याम्पियन बन्ने लक्ष्य राखे पनि अझै सफल हुन भने सकेन । तर नेपालले महिला भलिबलमा इतिहासमै पहिलो पटक भारतविरुद्ध भने जित निकाल्यो ।

सलिनाले अहिलेसम्म पाँच अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा दुई उपाधि जितेकी छन् । दुई वटामा रजत र एउटामा कांस्य पदक जितिन् । व्यक्तिगततर्फ उनले तीन पटक बेस्ट लिबेरोको अवार्ड जितिन् ।

कुमार राईले बनाएको लिबेरो

नेपालमा धेरै महिला खेलाडी उत्पादन गर्ने श्रेय प्रशिक्षक कुमार राईलाई जान्छ । उनले नैकापमा न्यू डायमण्ड एकेडेमी खोलेर महिला भलिबलमा विकास गर्न थालेका थिए ।

रमिला तन्डुकार, रेश्मा भण्डारी, प्रतिभा माली, कृपा अधिकारी, सलिना श्रेष्ठ, सुमित्रा रेग्मीलगायत खेलाडी न्यू डायमण्डकै उत्पादन हुन् ।

सलिनाले कक्षा ७ देखि भलिबल सिक्न थालेकी हुन् । कुमार राईले उनको उचाई देखर नै लिबेरोमा खेल्न सुझाव दिए र उनको प्रतिभालाई निखारेर उत्कृष्ट लिबेरो बनाए ।

०६९ सालमा भएको एनभिए क्लब च्याम्पियनसिपमा न्यू डायमण्डमा विभागीय टोलीहरुलाई पछि पार्दै उपाधि जित्दा उनी टिमको सदस्य थिइन् । त्यसपछि लगातार न्यू डायमण्डका लागि खेलेर उनी स्थापित लिबेरो बनिन् । तर राष्ट्रिय टिममा पुग्न भने उनले केही प्रतीक्षा गर्नुपर्‍यो ।

May be an image of 4 people, people playing voleyball and text

सन् २०१६ मा भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद र २०१७ मा माल्दिभ्समा भएको एफआईभीबी वर्ल्ड च्याम्पियनसिप क्वालिफिकेसनका लागि उनी बन्द प्रशिक्षणमा परेर पनि टिममा पर्न सकिनन् ।

त्यसको पीडा उनलाई थियो नै तर उनले २०७६ सालमा आएर राष्ट्रिय टिममा परिन् । त्यसपछि लगातार राष्ट्रिय टिममा खेलिरहेकी उनी निर्विकल्प लिबेरो हुन् ।

भलिबल खेलाडी सलिना श्रेष्ठ

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय