+
+

राज्य व्यवस्था समितिमा गृहमन्त्रीमाथि प्रश्नैप्रश्न

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८१ असोज १५ गते २१:३४

१५ असोज, काठमाडौं । सरकारले समयमै ध्यान नदिँदा बाढी, पहिरो र डुवानका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै सांसदहरुले सरकारको आलोचना गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गत शनिबारको बाढी पहिरो र डुवानको समस्यामा सरकारको कामबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकलाई बोलाएको थियो । बैठकमा रक्षामन्त्री मानवीर राईलाई पनि बोलाइएको थियो । तर, अधिकांश सांसदले गृहमन्त्री रमेश लेखकमाथि प्रश्न गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले विपदका बेला पनि सरकारले नियमित समयमा भन्दा बढी काम नगरेको आरोप लगाए ।

गृहमन्त्री लेखकले स्रोत साधनले भ्याएसम्म काम गरेको बताएपछि उनले स्रोत साधन कम भए पनि इच्छाशक्ति भएको भए नागरिकको ज्यान जोगाउन सकिने बताए ।

‘भएको स्रोत साधनले यति नै गर्‍यौं भन्दा हाम्रो स्रोत साधन र क्षमता यति मात्र रहेछ भन्ने अर्थ गयो । हाम्रो सा्रोत साधन र क्षमतामा सीमितता छ, तर असीमित इच्छाशक्ति भएको भए मान्छेको ज्यान जोगाउन सकिन्थ्यो’, उनले भने, ‘मान्छेहरुको बिल्लीपाठ हुँदैनथ्यो, आँखै अगाडि मान्छेलाई खोलाले बगाउने अवस्था हुदैनथ्यो ।’

शनिबार बिहान ललितपुरको नख्खुखोला किनारमा बाढीले घेरेको ठाउँमा जस्ताकपाताको टहरामाथि बसेर पाँच जनाले चार घण्टासम्म उद्धारका लागि गुहार माग्दा पनि सरकारले ध्यान दिन नसकेको लामिछानेले बताए ।

उल्टै गृहमन्त्री रमेश लेखकले त्यस दिन भिजिबिलिटी कम भएकाले हेलिकप्टरबाट उद्धार गर्न नसकेको अभिव्यक्ति दिएको भन्दै उनले आक्रोश पोखे ।

१२ असोजको बिहान सिंहदरबारमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट बैठकपछि गृहमन्त्री लेखकले भिजिबिलिटीका कारण हेलिकप्टरमार्फत नख्खु खोलाले घेरेकालाई उद्धार गर्न नसकिएको बताएका थिए ।

उनले भनेका थिए, ‘नख्खु खोलामा केही मानिसहरु टहराको छतमा बसेको अवस्थामा कोशिस गर्दा–गर्दै पनि बचाउन सकेनौं ।हेलिकप्टरमार्फत् पनि उद्धार गर्न सकिएन । भिजिबिलिटीका कारण जोगाउन सकेनौं ।’

त्यस दिन सरकारी निकायले नै काठमाडौंमा उडान हुन सक्ने भिजिबिलिटी रहेको तथ्यांक दिएको भन्दै लामिछानेले विपदका समयमा त भिजिबिलिटी पनि नहेर्ने प्रचलन रहेको बताए । ‘त्यतिखेर भिजिबिलिटीको इस्यु होइन भन्ने आएको छ’, उनले भने, ‘बुझ्नै नबुझीकन भिजिबिलिटीको समस्या भन्ने ?’

गृहमन्त्री लेखकले नेपाली सेनाका अधिकारीले नै भिजिबिलिटी पर्याप्त नभएको बताएको जवाफ दिए ।

‘हेलिकप्टर सेनाको हो, उडाउने पाइलट सेनाका हुन् । त्यो बेलामा सेनाकै आधिकारिक मान्छे सँगै थिए । उहाँले नै मलाई भन्नुभएको हो– हेलिकप्टर कुनै हालतमा उडाउन सकिँदैन, भिजिबिलिटी छैन’ लेखकले प्रतिप्रश्न गरे, ‘अब नेपाली सेनाले भनेको मानौं कि तपाईंले मैले भनेर अनुमान गरेर हेलिकप्टर उडाऔं ?’

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नख्खुको उक्त घटनामा कसको कमजोरी भएको हो खोजी गर्नुपर्ने ताए । सुरक्षा अधिकारीहरू गएको र बचाउने प्रयास गरेकोबारे सरकारले स्पष्ट पार्नुपर्ने सुझाव दिए ।

जनता समाजवादी पार्टी नेपालका सांसद प्रकाश अधिकारीले नख्खु खोलामा फसेका पाँच जनाको उद्धारका लागि पर्याप्त पहल नगरेको बताए । जवाफमा गृहमन्त्री लेखकले उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरू पुगेको बताए ।

‘त्यो ठाउँमा नेपाल प्रहरी गएको छ । सशस्त्र प्रहरीको मान्छे आफैँ बगेको छ । डुंगा पल्टिएको छ । प्रहरीका मान्छेले बचाउने कोशिस गरेका थिए’, गृहमन्त्री लेखकले भने ।

मुख्य सचिव र प्रहरी प्रमुख कहाँ थिए ?

सांसदहरूले विपद्का बेला मुख्यसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख (सीईओ) अनिल पोखरेल कहाँ थिए भनेर प्रश्न गरे ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुख्यसचिव, प्रहरी प्रमुख र प्राधिकरण प्रमुखको व्यवहारले प्रश्न उठाएको बताए । ‘नेपाल सरकारको मुख्यसचिवदेखि प्राधिकरणको प्रमुखसम्म, प्रहरी प्रमुखदेखि अरु जिम्मेवारीमा रहेकाहरू सम्मका मानिसहरू जुन ठाउँमा बसेर आपतकालीन अवस्थामा जुन तरिकाले काम गरेको देखिनुपर्ने हो त्यो नदेखिँदा स्वभाविक रुपमा प्रश्न उठ्छन्’, महामन्त्री थापाले भने ।

विपदका बेला काम गर्नुपर्नेमा सरकारी संयन्त्र बैठकमा केन्द्रित भएको प्रश्न पनि उठेको उनले बताए ।

१२ असोजमा बाढी, पहिरो र विपदका बेला मुख्यसचिव अर्याल सम्मान थाप्नस्याङ्जाको फेदीखोला पुगेका थिए । नागरिकहरू बाढी, पहिरो र डुबानमा रहेका बेला अर्याल सम्मान थाप्न व्यस्त रहेको भनेर उनको आलोचना भइराखेको छ ।

विपद्का बेला प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका थिए । उनी भ्रमण छोट्याएर नफर्किएको भनेर पनि आलोचना भएको थियो । प्रहरी महानिरीक्षक कुँवर यही असोज ७ गते ग्रीस गएका थिए । ३८ औं अन्तर्राष्ट्रिय लागुऔषध कार्यान्वयन सम्मेलनमा भाग लिन ग्रीसको राजधानी एथेन्स पुगेका उनी स्वदेश फर्किएका छैनन् । जबकी उक्त कार्यक्रम ८ असोजमा सुरु भएर १० असोजमा सकिएको थियो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल बाढी पहिरो आएकै दिन शनिबार बेलायत गए ।

गृहमन्त्रालय मातहत रहेको प्राधिकरणको मुख्य काम नै विपद्का बेला खोज, उद्धार तथा राहत प्रदान गर्ने, गराउने हो ।

संघ, प्रदेश र स्थानीय तहदेखि गैरसरकारी संस्था, निजी क्षेत्र सबैसँग समन्वय गर्ने, विपद्का सम्भावित घटनाबारेमा सम्बन्धित सबैलाई पूर्व जानकारी गराउने लगायतका जिम्मेवारी प्राधिकरणको हो ।

कांग्रेस महामन्त्री थापाले विपद्का बेला सरकारलाई प्रश्न र सुझाव दुवै आउन सक्ने भएकाले त्यसका लागि तयार रहनुपर्ने बताए । उनले गृहमन्त्री लेखकलाई जवाफ दिने नभई आलोचना सुन्न सुझाव दिए ।

‘जिम्मेवारीमा बसेका मानिसहरूलाई प्रश्न पनि आउँछन्, सुझाव पनि आउँछन्, आलोचना पनि आउँछन् भन्ने कुराका निम्ति तयार रहनुपर्छ । यो बेलामा आलोचना सुन्ने हो, त्यसबाट सिक्ने हो, उत्तर दिने होइन’, उनले भने ।

गृहमन्त्री लेखकले आफू आलोचना सुनेर अगाडि बढ्न तयार रहेको बताए । ‘मेरो आदरणीय नेता, पार्टीको महामन्त्रीले पनि अलोचना हुन्छन्, कथा छन्, ब्यथा छन् सुन्नुपर्छ, आलोचना सरकारले नसुनेर कसले सुन्छ ? भनेपछि मेरा लागि त्यो मूलमन्त्र हो’, उनले भने ।

विपद्कै बेला कमाउने हो ?

विपद्का बेला हवाइ भाडा बढेको, खाद्यान्न, फलफूल र तरकारीको मूल्य अकासिएकोबारे पनि सांसदहरूले प्रश्न गरेका छन् । विपद्का बेला मौका ठानेर व्यावसायीले कमाउन खोज्दा सरकार नदेखिएको उनीहरुको भनाइ छ ।

वायुसेवा कम्पनीले महंगो भाडा लिएकामा अधिकांश सांसदले आपत्ति जनाए । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले पोखराबाट काठमाडौं आउँदा यात्रुले ७५ सयसम्म भाडा तिर्नुपरेको बताए ।

आफूले केही दिन पहिले टिकट लिएकाले ३९ सय रुपैयाँ तिरेको उल्लेख गर्दै उनले भने, ‘मसँगै आउनेले हिजो (मंगलबार) ७५ सयसम्म तिरेर आए । सरकार भएको ठाउँमा यस्तो हुन्छ ? व्यापारीहरूको हो त तजबिजी यो देशमा ?’

नेकपा एमालेका सांसद लीलानाथ श्रेष्ठले पनि आफूले जनकपुरबाट आउँदा धेरै यात्रुले बढी भाडा तिर्नुपरेको गुनासो सुनेको बताए । ‘मैले पहिले नै टिकट लिएकाले सामान्य भाडामै आएँ । तर, म सँगै आउनेले ५४ सयसम्म तिरेका थिए । जबकी केही सिटहरू खालीसमेत थिए’ सांसद श्रेष्ठले भने ।

एमालेकै सांसद रघुजी पन्तले दशैंअघिसम्म भाडा बढ्न नदिन सरकारलाई आग्रह गरे । उनले भने, ‘कमाउने बेला त यो होइन नि । सरकारले तोकेको रेटको सिजन सुरु भयो । तर, यो आपतकालीन अवस्थामा, कमसेकम दशैंअघिसम्म भाडा बढाउनु भएन ।’

जनता समाजवादी पार्टी नेपालका सांसद प्रकाश अधिकारीले तरकारी, फलफूल र उपभोग्य सामानको मूल्य बढेको भन्दै बजार अनुगमन गर्नुपर्ने बताए । ‘छोइ नसक्नु भाउ छ । बजार कन्ट्रोल कसले गर्ने ?’ उनले प्रश्न गरे, ‘हवाइ भाडा महंगिने, गाडी भाडा महंगिने सबै प्रकारका वस्तुको भाउ बढ्ने । कतै नियन्त्रण हुन नसक्ने । सरकार कहाँ छ ? सरकार कतै छ जस्तो लाग्दैन ।’

कांग्रेसका महामन्त्री गगन थापाले बजारमा एक रुपैयाँ पनि कालोबजारी छ भन्ने जनताले महसुस गर्न नपर्ने गरी काम गर्न आग्रह गरे ।छलफलपछि राज्य व्यवस्था समितिले सरकारलाई महंगी नियन्त्रण गर्ने सहितका चारबुँदे निर्देशन दिएको छ ।

सम्भव भएका सबै उपाय प्रयोग गरेर राहत र पुनस्र्थापनाको काम अगाडि बढाउन निर्देशन दिएको छ । हवाइ भाडा नबढाउन निर्देश गरिएको छ ।

‘…सडक यातायात सञ्चालन गर्नका लागि भएका बाटाहरू तत्काल यातायातका साधन चल्ने गरी मर्मतसम्भार गर्न, सडकमा पहुँच हुन नसकेका जिल्लाहरूमा हवाइ यातायातको व्यवस्था गर्न, खाद्यान्न, तरकारी, फलफूल आदिको मूल्य बढ्न नदिन बजार अनुगमन गर्न र पीडितहरूले राहत छिटोभन्दा छिटो पाउने व्यवस्था गर्न सरकारलाई निर्देशन गर्दछ’, समितिको निर्णय छ ।

विभिन्न स्थानमा अलपत्र परेका यात्रीलाई तुरुन्तै उद्धार गरी गन्तव्यमा पुर्‍याउन पनि समितिले निर्देशन दिएको छ । जनधनको थप क्षति हुन नदिन तत्काल आवश्यक सबै तयारी गर्न भनिएको छ ।

‘वर्षाका कारण नष्ट भएका सिँचाइ कुलोहरू, पिउनेपानी, विद्युत, टेलिफोन सडक आदिको तत्काल मर्मत गरी जनताको दैनिकी र यस अवस्थामा घाइतेहरूको औषधि उपचारलाई सहज बनाउन नेपाल सरकारलाई निर्देशन दिने’, समितिको निर्णय छ ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?